कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिर्मिनोको यात्रा

पछिल्लो १२ महिनामा रोबर्टो फिर्मिनोको ग्राफ उकालोलाग्दो छ । उनले यसैक्रममा लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग र ब्राजिललाई कोपा अमेरिका कप दिलाउन ठूलो भूमिका खेले ।
बीबीसी

काठमाडौँ — ठूल्ठूला ताडीका रूख झुकेर पानीलाई चुम्न खोजिरहेको जस्तो देखिन्छ । विशाल होटलहरू आकाशतिर फर्केर सूर्यलाई नमस्कार गरिरहेका छन् । समुद्र छेउका एकसे एक रेस्टुरेन्टहरू, तिनमा पाइने खाना र पेयपदार्थ उत्तिकै महँगा । यो दृश्य हो, अलागासको राजधानी मासेइको । यसलाई ब्राजिलको क्यारेबियन पनि भनिन्छ । 

फिर्मिनोको यात्रा

ब्राजिलका अधिकांस उत्तर–पूर्वी सहर जस्तै यो पनि कम विकसित छ । अनि यहाँका मनमोहक दृश्यले सजिएका पोस्टकार्डले सहरको पूरा कथा भन्दैन । पर्यटकीय यो सहरको आफ्नै अलग बेथा छ । यहाँका टापुमा घुम्नुपर्छ, खास दृश्य विस्तार खुल्न थाल्छ । धेरैभन्दा धेरै हिंसा हुने सहरमा पर्छ, मासेइ ।


यही सहरको झुपडी बस्तीतिर एउटा केटो हुर्केबढेको थियो । जसको अनुहारमा जहिल्यै मन्द मुस्कान हुने गर्थ्यो । यो कथा हो, त्यही केटोको जसले सडकमा फुटबल खेल्न सिके । अहिले एनफिल्डसम्म अद्वितीय यात्रा तय गरिसकेका छन् । रोबर्टो फिर्मिनो बार्बोसा डी ओलिभेराको जन्म सन् १९९१ को अक्टोबर २ मा भएको थियो । उनी जन्मेको ट्रापिचे डा बारा प्रदूषणयुक्त ताल नजिकै छ । यो खासमा गरिबहरूको बस्ती नै हो । त्यसको नजिकै २० हजार क्षमताको स्टाडियो रेइ पेले मैदान छ । त्यसैले सुरुआती दिनदेखि फिर्मिनोको मनमा फुटबलबाहेक अन्य केही रहेन । उनी हुर्केबढेको घर अब रहेन । त्यहाँ त हट डगको पसल खुलेको छ । तर फिर्मिनो परिवारले लगाएको पर्खाल पनि अझै ज्युँको त्युँ छ ।


त्यो पर्खालमा राखिएका काँडतारे पनि अझै कायम छ । यसको उद्देश्य थियो, चोर पस्न नसकोस् । यसको अर्को उद्देश्य पनि थियो, फिर्मिनोलाई घरभित्रै राख्ने । ‘यहाँ प्रायः मारपिट भइरहन्थ्यो, त्यसैले उनकी आमा आफ्ना छोरा घरमै रहोस् भन्ने चाहन्थिन्,’ फिर्मिनोका सानो छँदाका साथी ब्रुनो बार्बोसा डोस सान्तोस भन्छन्, ‘तर फिर्मिनो फुटबल भनेपछि हुरुक्कै हुन्थे । त्यसैले त्यही पर्खाल चढेर उनी बाहिर आउँथे र सडकमा फुटबल खेलेर रमाउँथे । एकपल्ट उनी त्यही पर्खाल चढ्ने क्रममा खसे । त्यति बेलाको घाउको खोट अझै हुनुपर्छ ।’


उनका एकजना साथी त के सम्म सम्झन्छन् भने फिर्मिनोलाई मैदान बाहिर पठाएर आफू खेल्न उनको घरको छतमा ढुंगा हान्थे । उनी ६ वर्षको छँदा ठूलासँग खेल्थे, तर उनको खेल उस्तै हुन्थ्यो । उनका अर्का साथी डेडउ भन्छन्, ‘फिर्मिनोकी आमालाई चिन्ता थियो, कतै आफ्ना छोरा पनि सडकमा हिंसा गर्दै हिँड्ने नहोस् । खासमा उनी कहिल्यै पनि त्यस्ता थिएनन् । सुरुदेखि शान्त स्वभावका थिए ।

उनी खाली हाँसिरहन्थे । सुन्तलालाई पनि बल बनाएर खेल्थे । उनको एउटै सपना थियो, व्यावसायिक फुटबल खेलाडी बन्ने ।’


फिर्मिनो मात्र होइनन् । उनका आमाबुवा मारिना सिसेरा र जोसे कारडेरो दुवै शान्त स्वभावका थिए । भलाद्मी भन्दा हुन्छ उनीहरूलाई । यही परिवार अन्ततः फुटबलका कारण गरिबीबाट माथि उठ्न सक्यो । जोसे सडक व्यापारी थिए । उनी फुटबल खेलका क्रममा पानी बेच्थे । यो नै परिवारको एकमात्र आम्दानीस्रोत थियो । फुच्चे फिर्मिनो आफ्ना बुवालाई व्यापारमा सहयोग गर्थे । जोसेले आफ्नो जीवनमा यति मात्र गर्न सके, तर फिर्मिनोको सपना भने धेरै ठूलो थियो ।


ब्रुनो भन्छन्, ‘सानोदेखि उनी ज्ञानी स्वभावका थिए, सबैं अरूलाई सहयोग गर्न अगाडि सर्थे । भर्खरै उनले मेरी हजुरआमालाई ह्विलचेयर किनिदिएका छन् । हृदयघातपछि हजुरआमालाई यसको आवश्यकता परेको हो । फिर्मिनोको सपना हो, आफ्ना आमाबुवा र बहिनीलाई यो संसारबाट बाहिर ल्याउने ।’ ब्रुनो अझै पनि ह्वाट्सएपको मदतले लिभरपुल फरवार्डसँग कुराकानी गरिरहन्छन् । फिर्मिनोको घरबाट केहीपर ५–५ जनाको टिम खेल्न मिल्ने सानो मैदान छ । यो फोहार पनि छ । यहींबाट फिर्मिनोले फुटबलका सबै कला सिके । डेडेउ भन्छन्, ‘उनलाई रोनाल्डिन्हो र रोनाल्डोको खेल मनपर्थ्यो । तिनका खेल टीभीमा हेर्थे । फिर्मिनो उनीहरू जत्तिकै खेल्न सक्थे । उनी हाम्रा तुलनामा निकै राम्रो फुटबल खेल्थे । हामी उनको छेउछाउ पनि थिएनौं ।’ यही मैदानको छेउ फिर्मिनो पढेको स्कुल पनि छ । ७ वर्षको उमेरमा उनी स्कुल जान थालेका थिए ।


त्यसै स्कुलको प्रधानाध्यापक बस्ने कोठाको ढोकामा लेखिएको छ, ‘त्यही काम पहिला गर, जुन आवश्यक छ । त्यसपछि सम्भव भए जति गर । त्यसपछि त असम्भव पनि गर्न सक्छौं ।’ त्यसै स्कुलका शिक्षक एरी सान्टियागोले एउटा फुटबल टिम बनाएका थिए । आफ्ना विद्यार्थीलाई भन्थे, ‘ठूल्ठूला सपना देख्नुपर्छ ।’ उनलाई पनि लागेको थिएन, त्यसमध्ये एक जनाले पछि गएर ब्राजिलबाट पनि खेल्नेछन् भनेर । उनी भन्छन्, ‘एकपल्ट बिदा मनाएर स्कुल फर्कंदा मैले के सुनें भने हिंसाका कारण तीन विद्यार्थीको मृत्यु भएको रहेछ । त्यति बेला खुबै झैझगडा हुन्थ्यो । यसले मलाई धेरै दुःख दियो । म सबै विद्यार्थीलाई सन्देश दिन चाहन्थें, त्यो हिंसाबाहेक अरूथोक पनि छ ।’


फुटबल टिम बनेपछि त्यसले राम्रो मात्र खेलेन, त्यसले सबैलाई राम्रो सन्देश पनि दियो । फिर्मिनो १४ वर्ष हुँदा स्थानीय क्लब डी रगाटे ब्राजिलसँग अनुबन्धित भइसकेका थिए । शिक्षक सान्टियागो भन्छन्, ‘फिर्मिनो निकै भलाद्मी छन्, हाँसेरै आफ्नो अभिव्यक्ति दिन चाहन्छन् ।’


त्यो क्लबमा पहिलोपल्ट जाँदा उनीसँग आमा पनि थिइन् । क्लबका युवा प्रशिक्षक गुलहेर्मे फारिसले केही मिनेटमात्र लगाए, उनको योग्यता बुझ्न । ती प्रशिक्षक भन्छन्, ‘उनको गतिलो खेल देखेर म तुरुन्तै प्रभावित भएँ, भनिहालें, अनुबन्धका लागि तयार होऊ ।’ फिर्मिनो फुटबल भनेपछि कति धेरै समर्पित थिए भने साओ पाउलोमा भएको एक प्रतियोगिता खेल्न उनले लगातार १ सय २० घण्टाको बसयात्रा गरे । जति बेला उनी मैदानमा उत्रे, उनको खुट्टा लामो यात्राका कारण सुन्निएको थियो ।


क्लबका दन्त चिकित्सक मार्सेलो पोर्टेलाले फिर्मिनोलाई धेरै मदत गरे । उनी भन्छन्, ‘फिर्मिनो सधैं सकारात्मक रहन्छन् र आफ्नो कामप्रति दत्तचित्त पनि । मैले उनी जत्तिको खेलाडी देखेकै थिइनँ । म भन्ने गर्थे, फिर्मिनोले एकदिन ब्राजिलका लागि खेल्नेछन् । सबैले मलाई पागल डाक्टर भनेर जिस्क्याउँथे । तर फिर्मिनोले उनीहरूलाई गलत साबित गरिदिए, मलाई ठीक । मैले जे भनें त्यो सत्यसाबित भयो र मेरो आलोचना गर्नेहरू अहिले चुपचाप छन् ।’ आफ्नो १८ औं जन्मदिनको तीन सातापछि उनले व्यावसायिक फुटबलमा डेब्यू गरे, कालो र सेतो जर्सीर्मा । जर्सी नम्बर १६ मा उनले फिगुरेन्सका लागि खेले ।


त्यसको १३ महिनापछि उनी इटालिन सिरी ‘बी’ को सबैभन्दा उदीयमान खेलाडी बने । उनकै खेल मदतले क्लब माथिल्लो डिभिजन उक्लन पनि सफल रह्यो । सन् २०१० को अन्त्यमा उनले होफेइनहमसँग ४० लाख युरोमा अनुबन्ध गरे । भलै उनीमाथि आर्सनल र पीएसभी आइन्डहोभनका स्काउटले पनि रूचि देखाएका थिए । फिर्मिनोका लागि दक्षिण–पश्चिम जर्मनीको हिउँमा खेल्न पक्कै सजिलो थिएन । तर त्यहाँ पनि प्रशिक्षक भन्थे, उनी अरू खेलाडीभन्दा फरक छन् । उनको खेलप्रतिको समर्पण अर्कै स्तरको छ ।


एकाध वर्षको अन्तरालमा उनी बुन्डेसलिगाको ‘ब्रेक थ्रु प्लेयर अफ द सिजन’ पनि भए । लगत्तै लिभरपुलले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई उछिनेर उनलाई सन् २०१५ को जुलाईमा २ करोड ९० लाख पाउन्डमा अनुबन्ध गर्‍यो । त्यति बेलासम्म उनले ब्राजिलको राष्ट्रिय टोलीबाट खेलिसकेका थिए ।


पछिल्लो १२ महिनामा फिर्मिनोको ग्राफ उकालोलाग्दो छ । उनले यसैक्रममा लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग र ब्राजिललाई कोपा अमेरिका कप दिलाउन ठूलो भूमिका खेले । अहिले उनी लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउन नजिक छन् । अगस्टमा मात्र उनी इंग्लिस शीर्ष लिगमा ५० गोल गर्ने पहिलो ब्राजिली खेलाडी बनेका थिए । डिसेम्बरमा उनकै गोलमा लिभरपुलले क्लब विश्वकप उपाधि उचालेको थियो । फाइनलमा पराजित हुने टोली दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलकै फ्लेमेंगो थियो ।


होफेइनहमका फुटबल निर्देशकले फिर्मिनोले छाडेको दिन भनेका थिए, ‘उनले हामीलाई छाडेर गएको दिन हाम्रो एउटा आँखा रोइरहेको थियो भने अर्को आँखामा हाँसो थियो ।’

(यो विश्लेषण ब्राजिली फुटबल लेखक ग्यारी मिनाघनले लेखेका हुन्)

प्रकाशित : चैत्र ६, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?