टोली छाडेर विदेशिए एलन- खेलकुद - कान्तिपुर समाचार

टोली छाडेर विदेशिए एलन

(मकवानपुर) — नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपाने रोजगारीका लागि विदेशिएका छन् ।

घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि घोषित राष्ट्रिय टोलीको ३१ सदस्यीय छनोट टिममा स्थान बनाएका एलन शनिबार रोजगारीका लागि अस्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा फुटबल खेलेर आफ्नो भविष्य सुनिश्चित नदेखेपछि बाध्य भएर विदेशिएका उनका साथीहरूले सुनाएका छन् । ‘रोजगारीका सिलसिलामा एलन अस्ट्रेलिया गएका हुन् । राष्ट्रिय टोलीको पहिलो रोजाइमा नपर्ने देखेपछि उनले आफ्नो भविष्यलाई प्राथमिकतामा राख्दै यसो गरेका हुन्,’ उनको पारिवारिक स्रोतले जनायो ।


जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले एलन विदेशिएको विषय आफूले सामाजिक सञ्जालमार्फत् थाहा पाएको बताए । ‘अस्ट्रेलिया गएको विषय मैले सामाजिक सञ्जालमार्फत् थाहा पाएँ । खेल्न, पढ्न वा रोजगारी केका लागि गएका हुन् अझै थाहा छैन,’ उनले भने । स्रोतका अनुसार विश्वकप छनोटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीच अस्ट्रेलियामा भएको खेल खेल्न जाँदा नेपाली खेलाडीलाई एकवर्षे मल्टिपल भिसा दिएको थियो । एलन त्यही भिसा प्रयोग गर्दै अस्ट्रेलियातर्फ लागेका हुन् ।


गोलकिपर एलन नेपालले सन् २०१६ मा बंगलादेशमा बंगबन्धु कप जित्दा र भारतमा सम्पन्न १२ औं साग खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा नेपाली टोलीका सदस्य थिए । सन् २०१३ देखि थ्रीस्टार क्लबमा आबद्ध उनले भर्खरै मात्र राजधानीमा सम्पन्न ‘ए’ डिभिजन फुटबल लिगमा भने च्यासल युथ क्लबबाट खेलेका थिए । उनी सन् २०१६ देखि राष्ट्रिय टोलीमा समावेश हुने र बाहिरिने क्रम चल्दै आएको थियो । उनले सन् २०१५ देखि हालसम्म यू–२३ टिममा रहेर पाँचवटा खेलसमेत खेलिसकेका छन् । उनी २०१८ को एएफसी यू–२३ छनोट खेलमा टोलीमा रहेका थिए ।


हेटौंडा–२ वनस्खण्डी स्थायी घर भएका एलन एन्फा एकेडेमीका उत्पादन हुन् । उनी यू–१२ बाट एन्फा एकेडेमीमा प्रशिक्षणरत् थिए । विश्वकप तथा एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले एलनसहित ३१ जनालाई पहिलो चरणको छनोटमा समावेश गरेका थिए । एलन उमेर समूहका गोलकिपरमध्येका उत्कृष्ट हुन् ।


उनी निकटका अनुसार एलनलाई उनी आबद्ध ‘ए’ डिभिजन क्लब च्यासलले जापानमा प्रशिक्षण र रोजगारीको व्यवस्था गरिदिने अफर गरे पनि त्यसलाई बेवास्ता गर्दै अस्ट्रेलियातर्फ लागेका हुन् । ‘लिग भएको समयमा च्यासलबाट खेल्ने अन्य समयमा जापानमै प्रशिक्षण गर्दै रोजगारी गर्ने व्यवस्था क्लबले मिलाए पनि त्यसलाई बेवास्ता गर्दै उनी अस्ट्रेलियातर्फ गएका हुन् । उनलाई त्यहाँ रहेका खेलाडीहरूले दुईवर्षे भिसा र रोजगारीको ग्यारेन्टी गरेसँगै उनी त्यसतर्फ गएका हुन्,’ परिवार स्रोतले जनाएको छ ।


नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई भने उनले रोजगारीका लागि विदेशिनेसम्बन्धमा कुनै जानकारी गराएका छैनन् । राष्ट्रिय टोलीको आइतबार सुरु हुने बन्द प्रशिक्षणका लागि बोलाइँदा हाललाई आफू उपलब्ध हुन नसक्ने जनाएको अस्ट्रेलिया जाँदा नेपाली फुटबल टोलीका व्यवस्थापक रहेका एन्फाका सदस्य मधुसुदन उपाध्यायले बताए । यसअघि त्यही भिसामा मिडफिल्डर हेमन गुरुङ पनि अस्ट्रेलिया गएका थिए । मनाङ मर्स्याङदीका उनी अघिल्लो वर्षको ए डिभिजन लिगमा उत्कृष्ट मिडफिल्डर भएका थिए ।

प्रकाशित : फाल्गुन १८, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

आकर्षण गुमाउँदै पाटन क्याम्पस

निजी क्याम्पस विद्यार्थी आकर्षित गर्न कस्सिएका छन् । ब्रोसर निर्माण, चुस्त भौतिक संरचना, डिजिटल कक्षाकोठा र अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसार भइरहेको छ । तर त्रिविकै आंगिक पाटन क्याम्पसमा न तामझाम छ, न त विद्यार्थीको आकर्षण । 
गणेश राई

(ललितपुर) — पाटन संयुक्त क्याम्पसको मूलढोकाको एकछेउमा ‘भर्ना खुल्यो’ लेखिएको सानो फ्लेक्स टाँगिएको छ । त्यसको छेउ धुजाधुजा बनेका थोत्रा फ्लेक्स, कपडाका तुल र मक्किएका साइबोर्ड देखिन्छन् । ढोकाको भित्तामा विभिन्न सूचना टाँसिएका छन् । मूलढोकाको पूर्वतर्फ बसपार्क र सार्वजनिक शौचालय छन् ।


तर घुर्मैलो कारखानामा छिर्न लागेजस्तो अनुभूति हुन्छ । मूलढोकाबाट छिर्नासाथ नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको अर्धकदको सालिक शोभायमान देखिन्छ । अझ भित्र छिरिसकेपछि दायाँबायाँ दुईतर्फी फरक संरचना छ । दायाँ जस्तापाताले छाएका टहरा छन् । ती सबै कक्षाकोठा हुन् । अधिकांश कोठामा झ्यालका सिसा आधा फुटेका छन् । दायाँतिर खुला चौरमा विद्यार्थी र सर्वसाधारण भलिबल खेल्दै गरेका भेटिन्छन् । कतिपय मध्य फागुनमा निखि्रँदै गएको हिउँदे चिसो धपाउन घाम तापिरहेका देखिन्छन् ।

त्रिभुवन विश्वविद्यालयमा यतिखेर स्नातकोत्तर तहको भर्ना जारी छ । सम्बन्धनमा चलेका निजी क्याम्पस विद्यार्थी आकर्षित गर्न कस्सिएका छन् । आफ्नो कलेजमा विद्यार्थी किन भर्ना हुने ? भर्ना भएपछि गुणस्तरीय शिक्षा पाउने केके सुविधा दिइन्छ ? ब्रोसर निर्माण, चुस्त भौतिक संरचना, डिजिटल कक्षाकोठा, अतिरिक्त क्रियाकलापको जानकारी दिएर प्रचारप्रसार भइरहेको छ । तर त्रिविकै आंगिक पाटन क्याम्पसको तयारी न तामझाम छ न त विद्यार्थीको आकर्षण नै ।

यो संवाददाता बिहीबार पुग्दा क्याम्पस प्रमुख योगेन्द्रप्रसाद शाह कार्यालय बाहिर थिए । ‘हाम्रो क्याम्पसको राम्रो पक्ष र यथार्थ लेखिदिने हो भने मात्र भेटौं,’ फोनमै पूर्वसर्त राखे । त्रिविमा सेमेस्टर प्रणाली लागू भएपछि स्नातकोत्तर तहमा विद्यार्थीको संख्या र स्नातकमा चारवर्षे कोर्स लागू भएपछिको अवस्थाबारे यकिन जानकारी दिन भनेपछि कुरो मिल्यो ।

क्याम्पस हाता ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिल्यै लगाइएको चौतर्फी पर्खाल छ । कम्पाउन्डको पूर्वी ढोकाबाट विद्यार्थी, शिक्षक र सर्वसाधारणको आउजाउ भइरहन्छ । ढोका वर विद्यार्थी फुटबल खेल्दै गरेका भेटिन्छन् । वरपर असरल्ल बालुवा, गिट्टी, काठ, जस्तापाता छरिएका छन् । त्यहीँमुनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भवन निर्माण भइरहेको छ ।

मूलढोकाको बायाँतर्फ स्ववियु, पुस्तकालय, बीबीए कार्यक्रम भवनलगायत कुनै अग्ला, कुनै होचा भवन छन् । विभिन्न विभागीय कक्ष छन् । पुरुषका निम्ति शौचालय त्यतै छन् । यत्रतत्र सिसा, प्लास्टिक, कागज डंगुर छन् । त्यहीँनेर कक्षाकोठामा छात्रछात्रा पढिरहेका छन् । ‘क्याम्पस सफा र स्वच्छ राख्न सबैले सहयोग गरौं’ भनेर भित्तामा टाँसिएको सूचनाले गिज्याइरहेझैं लाग्छ । होचो र पुरानो भवनको भुइँतलामा पुस्तकालय रहेको छ ।

बगैंचामा विभिन्न थरीका रुखबिरुवा, पोथ्रापाथ्री छन् तर जताततै फोहरमैला देखिन्छन् । कुनै बेला खेतान ग्रुपले बनाइदिएको घडी स्तम्भ मात्रै छ । घडी छैन । बगैंचाको बीचमा बाटो हुँदै प्रशासनिक भवन पुगिन्छ । तीनतले भवन छिर्दै गर्दा कतै अर्को घर बनेर त्याग्न लागेको घरजस्तो अनुभूति हुन्छ । अँध्यारो भर्‍याङको चेपचापमा कवाडीका सामान थन्क्याइएका छन् । छिँडीबाट हेर्दा पल्लो छानोभरि फोहर थुप्रिएको छ । भवनको कक्ष र प्यासेजमा यत्रतत्र थोत्रा कुर्सी, टेबल फालिएका छन् । तलामाथि क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, लेखा र प्रशासनिक कक्ष छन् । यही भवनसँगै त्रिवि नेपालभाषा केन्द्रीय विभाग छ । क्याम्पसमा जम्मा २६ विषयगत विभाग छन् । यहाँ मानविकी, व्यवस्थापन र विज्ञान संकायको पठनपाठन हुन्छ । विज्ञान संकायको भवन छुट्टै कम्पाउन्डमा छ ।

प्रमुख शाहका अनुसार स्नातक र स्नातकोत्तर गरी सात हजार विद्यार्थी पढ्छन् । स्नातक तहमा बीए, बीबीएस, बीबीए, बीसीए, बीआईटी, बीएस्सी सीएसआईटी, बीएस्सी र स्नातकोत्तरमा सात विषयमा एमए, एमबीएस, एमएससी (फिजिक्स) सञ्चालनमा छन् । यसअघि साँझको सत्रसमेत थियो । अहिले बिहानी र दिउँसो गरी दुई सत्रमा पढाइ हुन्छ । विद्यार्थीको चाप बिहानी सत्रमा बढी छ ।

पढाउने जनशक्तिमध्ये १९ जना प्राध्यापक, ६९ सहप्राध्याक, १ सय ६३ उपप्राध्यापक र १९ शिक्षक सहायक छन् । आंशिक शिक्षक १ सय ८० जना छन् । त्यसैगरी १ सय १० जना कर्मचारी छन् । शिक्षक आउँछन्, हाजिर गर्छन्, पढाउँछन् र जान्छन् । क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, शिक्षकहरू, कर्मचारीहरूसित आवश्यक परे मात्रै भेट हुन्छ । ‘हुन त टिम वर्क हो तर राजनीतिक भागबन्डाका शिक्षक कर्मचारी हुनाले शैक्षिक सुधारकै विषयमा खासै चिन्तन हुन सकेको छैन,’ एक शिक्षकले भने, ‘गर्नुपर्ने आफ्नो विषयको जिम्मेवारी हो । विद्यार्थीलाई जिम्मेवार ढंगले पढाए पुग्यो ।’

सहायक क्याम्पस प्रमुख मन्जुश्री श्रेष्ठले मानविकीमा चारवर्षे कोर्स सुरु भएपछि पूर्णकालीन शिक्षकको अभाव भएको बताइन् । ‘विषयगत प्राध्यापकले अवकाश पाएपछि पदपूर्ति हुन सकेको छैन,’ उनले भनिन्, ‘हाम्रो क्याम्पसमा शिक्षक र कर्मचारीको दरबन्दी रिक्त रहेको धेरै भएको छ । केन्द्र (त्रिवि कार्यकारी परिषद्) ले समस्यालाई बुझ्न जरुरी छ ।’ आंशिक शिक्षकको भरमा नयाँ विषय चलाइएको उनले जानकारी दिइन् ।

क्याम्पस प्रमुख शाहको तत्काल नयाँ योजना केही छैन । ‘केन्द्र (त्रिवि) ले हामीलाई शिक्षक र कर्मचारीको तलबभत्ता मात्र दिन्छ । त्यसबाहेक आफैंले साधनस्रोत जुटाउनुपर्छ,’ उनी भन्छन्, ‘पछिल्ला वर्षमा केही कार्यक्रम थपिएका छन् । तिनै विषयगत कार्यक्रमलाई निरन्तर राख्ने हो । स्थायी संस्थामा जे छ, चलिरहन्छ । गुणस्तरको कुरा त्यस्तै हो ।’ विद्यार्थी शुल्क क्याम्पसको एक मात्र आयस्रोत भएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विद्यार्थी शुल्कबाट २ करोड ७२ लाख ७७ हजार रुपैयाँ संकलन भएको थियो ।

क्याम्पस हाताभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को साइबोर्ड टाँगिएको छ । विद्यार्थीका संघ/संगठन छन् । तर २०६५ सालयता स्ववियु चुनाव हुन सकेको छैन । विद्यार्थी संगठनबीच सहमति नजुटेपछि त्रिविले यो वर्ष फागुन १४ गते हुनुपर्ने चुनाव स्थगित गरेको छ । ‘११ वर्षदेखि स्ववियु चुनाव नहुँदा विद्यार्थी हकहितका काम र क्याम्पस प्रशासनका कार्यप्रति विद्यार्थी प्रतिनिधि संलग्‍न हुन सकेका छैनन्,’ अखिल क्रान्तिकारी क्याम्पस समितिका अध्यक्ष वीरेन्द्र मगरले भने । त्यसैगरी नेविसंघका राजेश काफ्लेले क्याम्पसमा प्राइभेट प्रोग्राम सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकेको दाबी गरे । अनेरास्ववियु क्याम्पस इकाईका पवन शाही ठकुरीले स्ववियु चुनाव नहुँदा विद्यार्थी सक्रियता बढ्न नसकेको समस्या सुनाए ।

पाटन संयुक्त क्याम्पस त्रिभुवन विश्ववद्यालयको ६२ आंगिक क्याम्पसमध्ये एक हो । २०११ सालमा स्थापित ‘पाटन इन्टर कलेज’ लाई तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । २०३० सालबाट पाटन संयुक्त क्याम्पस नामकरण गरिएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७६ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×