कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढासुब्बा गोल्डकप : पुलिस फाइनलमा

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाल पुलिस क्लब बिहीबार जित हात पार्दै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । पुलिसले मछिन्द्र क्लबलाई सडनडेथमा हराउँदै फाइनल तय गरेको हो ।

बुढासुब्बा गोल्डकप : पुलिस फाइनलमा

निर्धारित समय गोलरहित भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि सडनडेथका आधारमा पुलिस भाग्यमानी साबित भयो । पुलिसका कपिल ढकालले गोल गरे भने मछिन्द्रका विराज महर्जनको पेनाल्टी प्रहार पुलिसका गोलरक्षक संजित श्रेष्ठले रोकेका थिए ।

पहिलो पटक सहभागी मच्छिन्द्र घर फर्किएको छ । राष्ट्रिय लिग विजेता मच्छिन्द्रले पाँच दिन अघिमात्र झापाको शिव सताक्षी गोल्डकपको उपाधि जितेर धरान रंगशालाको मैदानमा उत्रेको थियो ।


सहिद स्मारक लिग च्याम्पियन तथा तथा साता सताक्षी गोल्डकप विजेता मछिन्द्रका लागि टाइब्रेकरमा रन्जित धिमाल, विमल घर्तीमगर, विजय धिमाल र देवेन्द्र तामाङले मात्र गोल गरे भने विशाल राई ‘बी’ को प्रहार गोलरक्षक संजितले रोकेका थिए । पाँचपल्ट उपाधि विजेता पुलिसबाट भोला सिलवाल, पदम भद्रा, तीर्थ रानामगर, जुमनु राईले मात्र गोल गरे भने सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा पुलिसका कपिल ढकालले बाजी मार्दै उपाधि नजिक पुर्‍याउन मद्दत गरेका थिए ।

सहिद स्मारक लिगमा भेट हुँदा मछिन्द्रले पुलिसलाई हराएको थियो । त्यसपछिको भेट धरान रंगशालामा भएको हो । लिगमा मछिन्द्रसँग पराजय भोगेको बदला पुलिसले लिँदै बुढासुब्बा गोल्डकपको उपाधिको बलियो दाबेदार हुन पुगेको छ ।


खेल अवधिभर मछिन्द्रले बल नियन्त्रण गरेको देखिएपछि स्कोर गर्न नसक्दा पुलिससँग सडनडेथमा हार्नुपरेको थियो । पुलिसमा जुमनु राई, सुमन सुवेदी र भोला सिलवालमात्र अनुभवी खेलाडी थिए । बाँकी खेलाडी जुनियर थिए । उता मछिन्द्रसँग विमल घर्तीमगर, विशाल राई ‘बी’, रेजिन सुब्बा, रन्जित धिमाल, बुद्ध चेम्जोङ, विजय धिमाल र तीन विदेशी खेलाडी सम्मिलित थिए । मैदानमा पुलिसलाई मछिन्द्रका खेलाडीले चुनौती दिएका थिए । लगातार आक्रमक खेल प्रदर्शन गरेर मछिन्द्रको पोस्टमा प्रहार गरे पनि गोल गर्न चुकेका थिए ।

जितपछि पुलिसका प्रशिक्षक दिनेश गुरुङले भने, ‘हाम्रो रणनीतिअनुसार खेलाडीले खेले । खेल अवधिभर रक्षात्मक खेल्ने र अवसर पाए काउन्टर अट्याक गर्ने थियो । अन्तिममा सडनडेथमा जित हात लाग्यो ।’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीहरू थकित भएकाले जित नसकेको बताए ।


विजेता पुलिसले उपाधिका लागि अब फागुन १७ मा मनाङ मर्स्याङ्दीसँग सामना गर्नेछ ।

प्रकाशित : फाल्गुन १५, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?