कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढासुब्बा गोल्डकप : पुलिस सेमिफाइनलमा

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाल पुलिस क्लब झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले हराउँदै धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विजेता टिमले मच्छिन्द्र क्लब र वेस्ट बेंगाल कोलकताको सन डे क्लबबीचको विजेतासँग सामना गर्ने छ ।

बुढासुब्बा गोल्डकप : पुलिस सेमिफाइनलमा

पुलिसका लागि म्यान अफ द म्याच कप्तान जुमानु राईले व्यक्तिगत दुई गोल र सुमन सुवेदीले गोल गरेका थिए । मेची नेत्रालयका काँकडभिट्टाका लागि सञ्जय धिमालले सान्त्वना गोल गरे । धरान रंगशालामा भएको प्रतिस्पर्धापूर्ण खेलमा पुलिस र काँकडभिट्टाले पटकपटक गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । मुलुकका विभिन्न ठाउँमा एकसाथ फुटबल प्रतियोगिता भइरहेकाले पुलिस क्लबले दुई टिम बनाएकोमा तीनजना सिनियर मात्र समेटेर बाँकी जुनियर खेलाडीको बाहुल्यता रहेको टिमलाई बुढासुब्बा टुबोर्ग गोल्डकपमा उतारेको थियो ।


बुढासुब्बा गोल्डकपको पाँच पटक उपाधि विजेता र पाँचै पटक उपविजेता बनेको पुलिस क्लबले २२ औं संस्करणमा जुनियर खेलाडीको बाहुल्यता रहेको टिमले पुरानो साख कायमै राख्दै काँकडभिट्टालाई घर फर्काएको छ ।

शक्ति राईको क्रसपासमा खेलको १० औं मिनेट नबित्दै काँकडभिट्टाका सञ्जय धिमालले गोल गर्दै १–० ले अग्रता दिएका थिए । पहिलो गोल खाएपछि दबाबमा आएको पुलिस क्लबले खेलको रणनीति परिवर्तन गर्दै सफलता हात पार्न सफल भयो । खेलको ४१ औं मिनेटमा पदम राईको फ्रिकिक प्रहारलाई सदुपयोग गर्दै सुमन सुवेदीले हेड गोल गरेर १–१ को बराबरी बनाएका थिए । पहिलो गोल गरेको लगत्तै काउन्टर अट्याकमा उत्रेको पुलिसका जुमानुले २५ मिटर दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।


खेलको ८० औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो र क्लबका लागि तेस्रो गोल गर्दै सेमिफाइनल यात्रा निश्चित गरेको थियो । पुलिसका लागि खेलको ३० औं मिनेटमा जुमानुको प्रहार बाहिरिएको थियो भने ३१ औं मिनेटमा भोला सिलवालको हेडबलले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयमा पुलिसका तीर्थ राईको सशक्त प्रहार पोस्टको बारमा ठोकिएर बाहिरिएको थियो ।

पुलिसविरुद्ध काँकडभिट्टाले पनि गोल गर्ने चार अवसर गुमाएको थियो । खेलको ९ मिनेटमा किपर विट भएर अगाडि आएको बेला युसुव थपलियाको प्रहारलाई पुलिसका डिफेन्सले बचाएको थियो । खेलको ५० मिनेटमा निरज बस्नेतको फ्रिकिक प्रहारलाई पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले बचाए भने ६८ औं मिनेटमा श्रेष्ठ विट भएर अगाडि बढेको बेला राईको पासमा करण लिम्बूले गरेको प्रहार बाहिरिएको थियो । ७५ औं मिनेटमा कर्ण लिम्बूको पासमा खमिर कन्दङ्वाको हेड बल पोलमा ठोकिएर बाहिरिएको थियो ।


म्यान अफ द म्याच जुमानु राई ।

पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पहिलो गोल खाए पनि दुई गोल गरेर अग्रता लिएपछि खेलाडीहरूले काउन्टर अट्याक गरी काँकडभिट्टालाई हराउन सफल भएको बताए । उनले भने, ‘जुमानु, सुमन र भोला सिलवाल मात्र सिनियर खेलाडी रहेको टिममा जुनियर खेलाडीले राम्रो प्रदर्शन गरे तर गोल गर्ने धेरै अवसरलाई सदुपयोग गर्न सकेनन् ।’

बुढासुब्बा गोल्डकपमा तेस्रो पटक सहभागी भएको काँकडभिट्टाका प्रशिक्षक मीन बस्नेतले सोचे जस्तो खेल नभएको बताए । उनले भने, ‘गोल गर्न पाएको अवसरलाई केटाहरूले सदुपयोग गर्न चुके । किपरको मिस्टेकले पनि गोल खानुपर्‍यो ।’


सोमबारको खेल प्रदेश १ मुख्यमन्त्री कप उप विजेता मोरङको बेलबारी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ ।

प्रकाशित : फाल्गुन ११, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?