कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

कालीकोट — नरहरिनाथ–७ माल्कोटको उच्छव गाउँमा पहिलो पटक दुई दिने एकीकृत स्वास्थ्य शिविर संचालन भएको छ । गाउँपालिका केन्द्रबाट ७ घण्टाको पैदल दुरीमा रहेको उच्छव गाउँमा पहिलो पटक चिकित्सकसहित जनप्रतिनिधि पुगेपछि स्थानीय खुशी भएका छन् ।

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

‘चुनावमा एक दिन भोट माग्न आएका थिए,’ ७५ वर्षीय रामबहादुर बोहोराले भने, ‘बल्ल आज अध्यक्ष देख्न पाइयो ।’ उनले पालिका सरकार बनेपछि पहिलो पटक गाउँमा डाक्टर आएको देखेर खुशी लागेको सुनाए ।

गाउँमा शिविर आएपछि कहिल्यै अस्पताल नभएका बृद्धबृद्धा, अपांगता भएका ब्यक्तिले स्वास्थ्य सेवा पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले बताए । पालिकाका अन्य गाउँमा बेलाबेलामा चिकित्सक पठाइए पनि उच्छवमा पहिलो पटक टोली गएको उनले सुनाए ।

कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालका प्रमुख डा. जितेन्द्र महतोसहित ६ जना स्वास्थ्यकर्मी लिएर शिविर संचाललन गर्न उच्छव पुगेका गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्ट, उपाध्यक्ष कमलकुमार शाह, प्रवक्ता तथा वडा नं. का अध्यक्ष प्रदीप बोहोरालगायतका जनप्रतिनिधिको टोलीलाई स्थानीयले स्वागत गरे ।

साविकको माल्कोट गाविसमा पर्ने उच्छव गाउँ अछामको रामारोशन गाउँपालिकासँग जोडिएको छ । दुर्गम भएकाले यहाँका स्थानीयलाई सरकारी सेवा लिन कठिन रहेको गाउँपालिका अध्यक्ष बिष्टले बताए । उनले यहाँ बासिन्दाले नुनचामल, लत्ताकपडालगायतका सामान लिन घण्टौं हिड्नुपर्ने बाध्यता रहेको सुनाउँदै अछामको सीमासम्म सडक सञ्जाल जोड्न पहल भइरहेको जानकारी दिए ।

दुई दिने एकीकृत स्वास्थ्य शिविरमा १ सय ९० जनाको स्वास्थ्य परीक्षण गरिएको डा. महतोले बताए । उनकाअनुसार ११ जनाको गर्भजाँच गरिएकोमा एक जनाको पाठेघर बाहिर बच्चा बसेको आशंकामा जिल्ला अस्पताल मान्म वा प्रदेश अस्पताल सुर्खेत जान रेफर गरिएको छ ।

६९ जनाको आँखा परीक्षण गरिएकोमा ३ जनाको जलविन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था छ भने ५ जना उच्च रक्तचापका विरामी पत्ता लागेका छन् । त्यस्तै ५४ जनाको खकार संकलन गरेर थप परीक्षणका लागि पठाइएको छ । यहाँको बस्तीमा ७ जना कुपोषित बालबालिका भेटिएका छन् ।

प्रकाशित : वैशाख ७, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?