कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा सधैं औषधि अभाव

‘जिल्ला अस्पतालमै स्वास्थ्यकर्मीको अभाव छ, स्वास्थ्यचौकीमा त औषधि र स्वास्थ्यकर्मी अभावको कुरै नगरौं’ 

दैलेख — जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना भएका छन् । कुनै वडा त २ वटासम्म स्वास्थ्यचौकी स्थापना गरिएको छ । तर बिरामीले केही न केही औषधिको अभाव खेपिरहेकै हुन्छन् । अस्पताल वा स्वास्थ्यचौकीमा औषधि नपाइएपछि निजी मेडिकलबाट औषधि किन्नुपर्ने बाध्यता बिरामीले लामो समयदेखि भोग्दै आइरहेका छन् ।

गाउँमा सधैं औषधि अभाव

त्रिवेणी गाउँपालिका–७ की रमिला खड्काले गाउँकै स्वास्थ्यचौकीमा औषधि नपाइँदा मेडिकलको भर पर्नुपरेको बताइन् । ‘घर नजिक त स्वास्थ्य चौकी छ,’ उनले भनिन्, ‘तर जुन औषधि आवश्यक पर्‍यो, त्यही औषधि कहिल्यै पाइँदैन ।’ स्वास्थ्य चौकीमा सामान्य समस्या लिएर जाँदा एउटा न एउटा औषधिको अभाव व्यहोर्नुपर्ने अवस्था कायमै मुसीकोट नगरपालिका–१२ का डिलबहादुर ओलीले बताए ।

स्थानीय तहले आफै औषधि खरिद गरेर दिने गर्छन् । समयमा औषधि खरिदको प्रक्रिया सुरु नहुने, सुरु भएपनि खरिद हुन ढिला हुनु, सम्बन्धित स्वास्थ्य संस्थासम्म पुर्‍याउन पनि समय लाग्ने भएकाले औषधिको अभाव हुने गरेको हो । बाँफिकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव सुनिल केसीले सबै स्वास्थ्यचौकीमा केही औषधिको अभाव भएको बताए ।

उनका अनुसार केही स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सीसिलीन, कोर्टीन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्सलगायत अतिआवश्यक औषधिको अभाव भएको छ । ज्वरो, आउँ, रुघाखोकी, ग्याष्ट्रिक, पखाला, पेट दुख्नेलगायत रोगको औषधि अभाव भएको उनले जानकारी दिए । ‘जुन औषधिको बढी माग हुन्छ,त्यहीकै अभाव बढी हुन्छ,’ उनले भने, ‘मौसम परिवर्तनका कारण बिरामीहरू पनि बढ्दा औषधि व्यवस्थापनमा केही समस्या भएको हो ।’ अभाव भएको औषधि मगाएको उनले जानकारी दिए । जिल्ला अस्पतालका डा.भिमकान्त जैसीले कतिपय नभइ नहुने औषधि पनि चाहिएका बेला नहुने समस्या रहेको बताए । ‘कतिपय औषधि नहुँदा अस्पतालले पनि किनेर चलाउने गरेको छ,’ उनले भने, ‘कहिलेकाहीं बिरामीले आफैं पनि मेडिकलबाट किन्नुपर्ने समस्या छ ।’

स्वास्थ्यकर्मीको पनि समस्या

दैलेख जिल्ला अस्पतालमा औषधि र स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । सरकारले ७० प्रकारका विभिन्न औषधिहरू जिल्ला अस्पतालबाट निःशुल्क वितरण गर्नुपर्ने व्यवस्था गरे पनि दैलेखमा अधिकांश औषधि मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।

अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीले चेकजाँच गरी औषधि किन्न मेडिकलमा पठाउने गरेको गुराँस गाउँपालिकाकी सुनिता गुरुङले बताइन् । जिल्ला अस्पतालमा १ वर्षयता निमित्त प्रमुखको भरमा चल्दै आएको छ । १ वर्षअघि डा. निरन्जन पन्तको सरुवा भएर गएपछि डा.जगत थापाले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । जिल्ला अस्पतालमा ५ जना स्थायी विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि १ जना विशेषज्ञ मात्र कार्यरत छन् । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य प्रशासक थिरप्रसाद रेग्मीले विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालमा आएका सामान्य बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको बताए । ‘जिल्ला अस्पतालमै स्वास्थ्यकर्मीको अभाव छ,’ उनले भने, ‘स्वास्थ्यचौकीमा त औषधि र स्वास्थ्यकर्मी अभावको कुरै नगरौं ।’

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले यो वर्ष औषधि खरिद गर्न कार्यालयलाई १५ लाख रुपैयाँ बजेट निकासा दिएको छ । उक्त बजेटले १ सय ३ वटा स्वास्थ्य संस्थामा औषधि पुर्‍याउन समस्या भएको प्रमुख रेग्मीले बताए । ‘सानो बजेटले सबै स्वास्थ्यचौकीमा औषधि पठाउँदा चारो हालेकोजस्तो हुनेभयो,’ उनले भने, ‘१५ लाख रुपैयाँको औषधि कसरी पुर्‍याउने ?’ उनले जिल्ला अस्पताल नै करारका स्वास्थ्यकर्मीले धानिएको गुनासो गरे ।

भैरवी गाउँपालिकाकाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव आचार्यले संघीय सरकारले पूर्णरूपमा एकद्वार प्रणालीबाट औषधि खरिदको अधिकार नदिँदा औषधि पुर्‍याउन मुस्किल भएको बताए । उनका अनुसार गाउँपालिकामा अतिआवश्यक पारासिटामोल, आइब्रोफिन, मेट्रोनिडाझोल, इन्जेक्सनहरूलगायतको अभाव लामो समयदेखि छ । ठाँटिकाध गाउँपालिका–५ तोलीजैसीस्थित स्वास्थ्यचौकीमा पनि औषधि अभाव भएको झण्डै ३ महिना नाघेको छ । कर्णाली प्रदेश निर्देशनालयका प्रमुख डा. रविन खड्काले प्रदेश आपूर्ति केन्द्रले गम्भीर प्रकृति र दीर्घरोगका लागि औषधि खरिद गरी स्वास्थ्य सेवा कार्यालयमा पठाउने गरेको बताए । उनका अनुसार केही औषधि खरिद गर्न पालिकामा पनि बजेट गएको छ ।

प्रकाशित : पुस २१, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?