कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

धमाधम उद्योग बन्द, दक्ष जनशक्ति बेरोजगार

व्यवसायी भन्छन्, ‘सीपमूलक तालिम दिएका संस्थाहरुले उद्योग सञ्चालनका लागि अनुदान उपलब्ध गराए पनि बन्द हुँदा लगानी खेर गइरह्यो’
विप्लब महर्जन

सल्यान — घरेलु तथा साना उद्योग विकास समितिले ६ वर्षअघि कालीमाटी गाउँपालिका ३, काल्चेका २० महिलालाई होजियारी तालिम दियो । समितिकै सहयोगमा करिब ८ लाख रुपैयाँ खर्च गरी उद्योगसमेत सञ्चालन गरियो । तर एक वर्ष नबित्दै उद्योग बन्द भयो । गाउँमै ७ वर्षअघि सञ्चालन गरिएको चिउरी प्रसोधन उद्योग पनि डेढ वर्ष बन्द गर्नुपर्ने बाध्यता भयो । 

धमाधम उद्योग बन्द, दक्ष जनशक्ति बेरोजगार

घरेलुलगायत विभिन्न सरकारी निकायको अनुदानमा सञ्चालित घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको छ । स्थानीय तहलगायत अन्य सरकारी निकायले वर्सेनि सीपमूलक तालिमका नाममा लाखौं रकम खर्चिदै आइरहेका छन् । तर उद्योग बन्द हुँदा तालिमप्राप्त जनशक्ति बेरोजगार बन्ने क्रम बढिरहेको छ ।


बजारको अभावमा उद्योग सञ्चालन गर्न नसकिएको काल्चेस्थित होजियारी उद्योग व्यवस्थापन समिति सचिव जीविका गौतमले बताइन् । ‘उद्योग बन्द भएपछि भवन र मेसिन अलपत्र परेका छन्,’ उनले भनिन्, ‘गाउँभरि सीप भएको जनशक्ति भए पनि उत्पादित सामग्रीले बजार नपाउँदा उद्योग बन्द गर्नुपर्ने बाध्यता भयो ।’


गरिबी निवारण तथा रोजगारीका अवसर सिर्जना गर्न उद्योग सञ्चालनमा ल्याइए पनि बजार र कच्चा पदार्थको अभावले धमाधम बन्द हुने गरेका हुन् । शारदा नगरपालिका ३, लघु उद्यम कार्यक्रमको सहयोगमा सञ्चालित सिस्नो प्रशोधन उद्योग पनि दुई वर्ष टिकेन ।

सीपमूलक तालिम दिएका संस्थाहरूले उद्योग सञ्चालनका लागि अनुदान उपलव्ध गराए पनि बन्द हुँदा लगानी खेर गइरहेको छ ।


जिल्लामा साबुन, मैनबत्ती, धुप, पाउरोटी, चाउमिन, बाँस निगालोलगायत उद्योग बन्द हुने क्रम बढेको छ । विभिन्न निकायले सिस्नोको पाउडर, टमाटरको सस, गुँरास र सुन्तलाको जुस बनाउनेगरी अनुदान दिए पनि सदुपयोग हुन सकेको छैन । शारदा नगरपालिकाको डाडागाउँमा नमूना ढाँका उद्योग सञ्चालन गरिरहेकी प्रेमा चन्दले बजार अभावमा उद्यम सञ्चालनमा समस्या भएको बताइन् ।


उनका अनुसार एउटा सल बुन्न १५ सय रुपैयाँको धागो खर्च हुन्छ । तर बिक्री गर्दा सय रुपैयाँभन्दा बढी फाइदा नहुने उनको गुनासो छ । दार्मा गाउँपालिकाका धनबहादुर खड्काले सञ्चालन गरेको ढाका उद्योग पनि बन्द भएको छ ।


‘सबै सामान बाहिरबाट ल्याउनुपर्छ, बजारका आधुनिक कपडाको तुलनामा सस्तोमा बिक्री गर्न सकिदैन,’ उनले भने, ‘बजार नपाउँदा र कच्चा पदार्थमा महंगी बढ्दा जिल्लाभरका एक दर्जन बढी ढाका उद्योग बन्द भए, सञ्चालन भइरहेका उद्योगलाई खर्च धान्न मुस्किल छ ।’ बजारमा पाइने आधुनिक कपडाले ढाकाको कपडा विस्थापित गरेको उनको भनाइ छ ।


घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा विभिन्न निकायले वर्षमा करिब ७ सय जनालाई सीपमूलक तालिम प्रदान गरिरहेका छन् । उद्योग धमाधम बन्द हुँदा तालिमप्राप्त जनशक्ति बेरोजगार बन्न थालेको निमित्त कार्यालय प्रमुख विजय पुलामी बताउँछन् ।


उनका अनुसार कार्यालयमा दर्ता भएका ८३ उद्योग गत वर्ष खारेजीमा परेका छन् । उनले ३ सय ७ व्यापारिक फर्मसमेत खारेजीमा परेको जानकारी दिए । ‘आम्दानी कम र कर विभिन्न ठाउँमा बुझाउनुपर्ने भएपछि अधिकांश उद्योग बन्द भएका हुन्,’ उनले भने, ‘आफ्नै खर्च धान्न नसक्दा अधिकांश उद्योग दर्तामा मात्र सीमित छन् ।’


कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २ हजार ७२ उद्योग दर्ता भए पनि १ हजार २ सय मात्र नियमित सञ्चालनमा छन् । घरेलुले गत वर्ष ५ सय ७७ जनालाई सीपमूलक तालिम दिएको थियो । कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले मुस्किलले ४० प्रतिशत मात्र रोजगारीमा लागेको जानकारी दिए ।


‘हामीले तालिम र उद्योग सञ्चालनका लागि केही अनुदान रकम उपलव्ध गराइरहेका छौं,’ उनले भने, ‘हामीले दिएको अनुदानले उद्योग सञ्चालन गर्न पुग्दैन, ऋण नै लिएर उद्योग सञ्चालन गर्नेसमेत सफल हुन सकेका छैनन् ।’ पछिल्लो समय स्थानीय सरकारले अनुदान दिन थालेपछि ग्रामीण क्षेत्रका युवा उद्यमी बन्न थालेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?