कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुपति त्याग्दै युवा

जयबहादुर रोकाया

हुम्ला — जिल्लाको उच्च हिमाली भेगका लामा जातिमा रहेको बहुपति प्रथाप्रति युवाको विकर्षण बढ्दै गएको छ । पछिल्लो पुस्ताले बहुपति प्रथाप्रति अरुचि देखाएपछि एकल विवाह बढ्दै जान थालेको छ । 

उच्च हिमाली भेगमा बसोबास गर्दै आएका बौद्ध धर्मावलम्बी लामा जातिमा परम्परादेखि नै बहुपति प्रथा प्रचलनमा थियो । जिल्लाको उत्तरी भेग लिमी, मुचु, यारी, यालबाङ, याङगार कर्मी, खगालगाउँ, हेक्पा, धिगा, तांगिन, बुराउँसे, तोर्पा, हुटिङ, लिमाटाङ, बरागाउ‘ र दोजाममा लामा जातिको बस्ती छ ।


तीन दशकअघिसम्म यी गाउँमा बहुपति प्रथा कायमै थियो । पछिल्लो पुस्ताले प्रत्यक्ष विरोध नगरे पनि सामूहिक विवाहप्रति रुचि देखाएका छैनन् । युवापुस्ता एकल विवाहप्रति आकर्षित हुन थालेका छन् ।

पॉच दाजुभाइ भएका सिमकोट गाउ‘पालिका–४, बुराउँसेका नरेन्द्र लामाका सबै दाजुभाइ आफूखुसी एकल विवाह गरेर अलग अलग्गै बस्दै आएका छन् ।


पहिलेको पुस्तालाई विभिन्न समस्या भएकाले उक्त समयमा बहुपति प्रथा ठिकै भएको र अहिलेको आवश्यकता एकल पत्नी भएको उनको भनाइ छ । उनका अनुसार पहिले खेतीपाती पनि धेरै थियो, व्यावसायिक पशुपालन गर्नुपथ्र्यो । कुनै भाइको जिम्मा भेडा/बाख्रा, कसैको जिम्मा खेती, कसैले घरको काम हेर्नुपर्ने बाध्यता थियो ।


उक्त समय आ–आफ्नो काममा व्यस्त रहँदा दाजुभाइको भेट हुन सक्ने अवस्था थिएन । ‘सम्पत्ति सगोलमा हुन्थ्यो र विवाह पनि एउटै पत्नीसँग,’ उनले भने, ‘अहिले सबै आ–आफ्नो काममा हुन्छन् र सम्पत्ति लिन पनि आफूखुसी मिल्छ, त्यसैले अहिलेको समयमा एकल पत्नी नै ठीक देखिएको छ ।’ बुराउँसेकै छिरिङ लामाका पनि पॉच भाइ छन् ।


सबै भाइले छुट्टाछुट्टै पत्नी विवाह गरेर अलग्गै बसेका छन् । लामाका अनुसार परम्परागत प्रचलन पुरानो पुस्तामा मात्र सीमित भएको छ । गाउ‘मा कतै कतै अवशेष बॉकी रहेको उनले जनाए । उनका अनुसार नयॉ पुस्ताले यो प्रचलनको ठाडो विरोध नगरे पनि आफैंले भने अँगालेका छैनन् । अहिले अवस्था बदलिएको उनले बताए । उनका अनुसार खेती पनि घटेको छ ।


आम्दानीभन्दा बढी खर्च हुन थालेपछि भेडा/बाख्रापालन धेरै स्थानमा हटिसकेको छ । सबै दाजुभाइ घरैमा हुने अवस्थामा ठूलो परिवार सगोलमा बस्न समस्या हुने भएकाले एकल पत्नी विवाह गरेर युवाहरू अलग्गै बस्न थालेको लामाले बताए ।


स्थानीयका अनुसार बहुपति प्रथामा दाजुभाइको सामूहिक विवाह हुने भए पनि पत्नीमाथिको मुख्य अधिकार जेठाको हुने गर्छ । महिलाले जन्माएका बच्चाले जेठोलाई बुवा र अन्य भाइलाई काकाको साइनो लगाएर सम्बोधन गर्छन् । आफ्नो गाउ‘मा अब चार/पॉच परिवारमा मात्र बहुपति प्रथा रहेको लामाले जनाए । उनका अनुसार जिल्लामा झन्डै ९५ प्रतिशत बहुपति प्रथा हटिसकेको छ । यही प्रथाबारे एक अमेरिकन नागरिकले डकुमेन्ट्री बनाएका छन् ।


बहुपति प्रथा अँगालेका बुराउ‘सेका लोटइ लामाले यो प्रथाले परिवारलाई आर्थिक रूपमा सबल बनाउने र जनसंख्या नियन्त्रण हुने बताए । ‘हामी दुई भाइका दुई छोरा छन् । जेठोको विवाह भइसकेको छ, कान्छाको पनि माघमा विवाह गर्ने तयारी छ,’ उनले भने, ‘युवापुस्ताको अरुचि भएपछि हामीले पनि कर गरेका छैनौं ।’ उनका अनुसार आफूखुसी प्रेमविवाह गर्न थालेकाले बहुपति प्रथा हट्दै गएको हो ।


आफूखुसी प्रेमविवाह गर्ने भाइले अंशको समेत दाबी नगर्ने उनको भनाइ छ । बहुपति हटेसँगै महिलाले अविवाहित हुनुपर्ने वा अन्य जातिको केटासँग विवाह गर्नुुुपर्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : पुस १७, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?