कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

समाज बुझाउँदै नेपालगन्ज कनक्लेभ

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज कनक्लेभमा खेलकुदले  समाज, रोजगारी, उद्यमशीलता, पर्यटन, शिक्षा लगायतका विषयलाई कसरी जोड्छ भन्नेमा मन्थन भएको छ ।

समाज बुझाउँदै नेपालगन्ज कनक्लेभ

क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझदेखि राजेश हमालसम्म सहभागी थिए ।

पत्रकार प्रकाश तिमिल्सेनाले मोडेरेसन गरेको कनक्लेभको पहिलो सत्रमा खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वाथ्य र खेलकुद’ मा बोल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडेलले खेलकुदमा नीतिगत परिवर्तन भए पनि परिणाममुखी बनाउन नसकिएको स्वीकारे । खेलकुदमा राजनीति हाबी भएको र 0६६ सालमा खेलकुद नीति आएको तर समयसापेक्ष परिमार्जन नभएको उनको भनाइ छ ।

'ऐन त आयो तर कार्यन्वयन फितलो छ । आवश्यक साधन स्रोत र कार्ययोजना छैन । बजेटको अभाव छ । अहिलेपनि खेलकुदमा ०.५ प्रतिशतभन्दा कम छ,’ उनले भने ‘स्थानीय तहले पनि खेलकुदलाई शिक्षासँग जोड्ने काम गर्न सकेका छैनन् । बजेटबाट आउटपुट राम्रो निकाल्न सकेका छैनौ‌ं ।’ खेलकुदलाई आर्थिक र पर्यटनसँग पनि जोड्न जरुरी रहको उनको भनाई छ ।

विद्यालय सञ्चालक शशी स्वारले सरकारी र संस्थागत दुवै विसिमका विद्यालयमा खेलकुद शिक्षकको योग्यताको मापदण्ड पालना नभएको र अनुगमन पनि नहुने गरेको बताइन् । ‘खेलमा बालबालिकालाई प्रोत्सान गर्ने बित्तिकै अभिभावकहरुको पढाईमा असर पर्छ भन्छन् । अभिभावकहरु खेललाई लिएर नकारात्मक धारण राख्छन् । नपढ्ने विद्यार्थीले मात्रै खेल्ने हो, बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन्' उनले भनिन् ।


मुटुरोग विशेषज्ञ डा. विकास नेपालले स्वास्थ्यलाई ठीक राख्न र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताए । 'नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो,’ उनले भने । बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उनको भनाइ छ । ‘स्क्रिन टाइम बढी हुँदा बालबालिका अल्छी भएका छन् । त्यसकारण घरैदेखिबाट शारीरिक कसरतलाई प्रथाथमिकता दिनुपर्छ । विद्यालयले नै यसखालको बानीको विकास गराउनुपर्छ,’ उनले भनिन् ।

म्याराथन धाविका सन्तोषी श्रेष्ठले विद्यालय जीवन जीवनको खेलकुदले भूमिका खेलेको बताइन् । ‘विद्यालयमा खेलकुद खेल्न नपाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन । सोच्ने क्षमतामा पनि विद्यालय जीवनको खेलकुदले ठूलो सहयोग गर्छ,’ उनले भनिन् ।

खेलकुदमा बालबालिकालाई प्रोत्साहन गर्न अभिभावको भूमिका प्रमुख रहेको उनको बुझाई छ । ‘मलाई पनि अभिभावकले पढाईमा ट्यालेन्ट भएकोले पढ्दैन मैले चाहिँ यसलाई गलत साबित गर्छुं भनेर लागें ।तर सबै बालबालिकाले यस्तो गर्न सक्दैनन् । त्यसकारण अभिभावकले बालबालिकालाई निरुत्साहित नगरौं ’ उनले भनिन् ।

दोस्रो सत्रमा 'नेपाली आख्यान : के पढ्ने ? के लेख्ने ?' मा आख्यानकार नयनराज पाण्डेले किताबहरुको बाढी आइरहे पनि । सबै लेखिने पुस्तक राम्रै हुन्छन् भन्ने नरहेको बताए । 'सिर्जनात्मक विधाहरुको नियति पनि यही हो । कतिपय किताबहरु रहरले लेखिन्छन् । रहरले लेखिएका पुस्तक कालजयी नहुन सक्छन्' उनले भने,'लेखकले चाहेर मात्रै पुस्तक कालजयी हुदैनन् । वर्तमान समयलाई प्रमाणिक र विश्वसनीय तरिकाले लेख्न सकियो भने र इमानदारीपूर्वक लेख्न सकियो भने मात्रै पुस्तक कालजयी हुन्छन् ।'

उनले कम्फर्ट जोनमा बसेर मात्रै उत्कृष्ट साहित्य लेख्न नसकिने बताए । 'सल्लीपीरमा पनि कम्फर्ट जोनबाहिर निस्केर लेख्न खोजेको हुँ' उनले भने,' मलाई लेखकले मधेशको मात्रै लेखक ठान्छन् तर निर्दाेष पाठकले त त्यसरी सोच्दैनन् । हामीले एउटै छविमा सीमित रहनुहुन्न । सोचको दयरा अलि फराकिलो बनाउन जरुरी छ ।'

उपन्यासकार विवेक ओझाले विगतमा उभिएर वर्तमानलाई प्रश्न गर्नु आवश्यक रहेको बताए । ‘वर्तमान समयमा उभिएर मैले ऐंठनमार्फत प्रश्न गरेको हो । ऐंठनमा तीनवटा युद्धका कुरा उठाएको छु । महाभारत, विश्वयुद्ध र नेपालमा भएको सशस्त्र युद्धका छुटेका कुरामा फिक्सनाइज गरेर लेखेको छु ’, उनले भने ,‘पाठकले किताब छान्न पनि जान्नुपर्छ । आफ्नो रुची पहिचान गर्नुपर्छ । छान्न सकिने सुविधा पनि बजारले बढी दिन्छ । सबै किताब सबै पाठकका लागि उपयुक्त हुँदैनन् । पाठकले के पढ्छ भन्ने उसको रुचिले निर्धारण गर्छ । जहाबाट अखबारको यात्रा सकिन्छ त्यसपछि आख्यानको यात्रा सुरु हुन्छ । खबरमा नआउने कुरा फिक्सनमा लेख्ने हो । ’


किताबको आयु घटेको हो ? भन्ने प्रश्नमा उपन्यासकार सुविन भट्टराई राम्रा पुस्तकको आयु आख्यानको गुणवत्ताले निर्धारण गर्ने सुनाए । 'चर्चालाई हेरेर मात्रै निर्क्यौल गर्न सकिन्न । किताबको आयु नै घटेको भनेर म मान्दिन । लेखकले कुनै कथालाई थाहा पायो र त्यसलाई आफूले लेख्न सक्छुँ भन्ने लाग्यो भने आफैं यथास्थानमा पुगेर लेख्न खोज्छ । आफैंले नयाँ ठाउमा नयँ परिवेशमा पुगेर लेख्न मन लागेर मैले पनि इजोरियमा मधेशमै पुगेर त्यहाँ बसेर लेखेको हुँ ,’ उनले भने ,‘मलाई इजोरिया लेख्दा बजारको लोभ थिएन । तर छोटो समयमा धेरै बिक्री हुने किताब इजोरिया नै बन्यो ।’

अभिनेत्री सुरक्षा पन्तले शून्यको मुल्य किताबले उठाएको कर्णालीका महिलाहरुको संघर्षका कथाले धेरै आर्कषण गरेको बताइन् ।

'वर्तमान समयलाई सम्बोधन गरिएका धेरै पुस्तक छैनन् । कुनै कुनै पुस्तकहरुले इन्द्रियहरुलाई चलाएजस्तो गरिदिन्छ । मलाई सुविन भट्टराईको सायाले अझै छोडेको छैन,' उनले भनिन्,‘सिनेमा क्षेत्रमा लेखनकै सबैभन्दा बढी समस्या छ । राम्रा पुस्तकलाई सिनेमा बनाउदा पनि राम्रो टिम भएन भने असफल हुन्छ भन्ने उदाहरण सुविन दाइको उपन्यास समर लभ नै हो । त्यसकारण लेखक र सिनेमालाई व्यवस्थितरुपले जोड्न जरुरी छ ।’

नेपालगन्ज कनक्लेभको तेस्रो संस्करणमा ‘पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी’ विषयमा मन्थन भयो । के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताए । अहिले धारा तेल, ज्ञान चक्कीसहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए ।

उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन गर्दा २०५० सालतिर ९० प्रतिशत स्वदेशी उत्पादन थियो । ‘अहिले चाहिँ १० प्रतिशत छ । ठ्याक्कै उल्टो भएको छ । त्यसकारण हामीले कृषि उत्पादनतिर जोड दिनु आवश्यक छ,’ उनले भने ।

नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालको सन्दर्भमा प्रशस्त संभावना तर फिल्डमा उत्रिने प्रवृत्ति कम रहेको बताए । ‘नेपालमा पर्यटनकै कुरा गर्दा ठूलो संभावना छ । पर्यटन बढाउन सकिएको छैन,’ उनले थपे, पर्यटनमा विश्वको धारण के छ भने हिमाल पहाड र साहसिक क्रियाकलापका लागि मात्रै हो भन्ने छ । तर, अधिकांश सिजन पर्यटक नै हुँदैनन् ।’ उनले आफूहरुले त्यसैलाई ध्यानमा राखेर पर्यटन प्रवर्धनका लागि अभियान चलाएको बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैभन्दा पहिले आफ्नो क्षेत्रको संभावनालाई पहिचान गरेर काम गर्नुपर्ने बताए । ‘हामी बस्छौँ धनगढीमा, सपना देख्छौँ, काठमाडौंको, अमेरिकाको । त्यसैले हामीले लक्ष्य आफ्न ठाउँलाई बनाउनुपर्छ भनेर अभियान सुरु गरेका छौँ ’ उनले भने ।


आकाश धर्ती बराबरी महिला सशत्तीकरण चौथो सत्रमामा पर्वतारोही पूर्णिमा श्रेष्ठले भनिन् ,' त्यसैले महिलालाइ बोलेर पत्याइन्नँ । उनीहरुले रिजल्ट दिनै पर्छ । ’

महिला सशक्तिकरण भनेको पुरुषविरोधी हुनु नभइ समानता खोज्नु रहेको बताइन् । सगरमाथामा चढेको होइन् होला बाकेर पुर्या‍यो होला भनेर धेरैले आफूलाई टिप्पणी गर्ने गरेको उनले सुनाइन् । उनले भनिन् ,‘महिलाले हरेक समय आफूलाई जस्टिफाइ गर्नुपर्छ ।'

नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा पहिलो पाइलट भवना पन्तले सुरुमा केटी मान्छेले चलाएको प्लेन भनेर विमानस्थलमा उनलाई हेर्न मान्छेको भिड लागेको अनुभव सुनाइन्।

मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधानकाअनुसार सुन्दर शारीरिक बनोट मात्रा सुन्दर प्रतियोगितामा सिमित नरहेको बताइन् । 'महिला सशक्तिकरणका कुरा मात्र गरेर हुँदैन । महिलाको निर्णयहरुलाई स्वीकार गर्ने वातावरण तयार गर्नु अहिलेको आवश्यकता हो । हामीले त्यो समाज निर्माण गर्न सक्नुपर्छ ’ उनले भनिन् ।

नेपालको पहिलो ओलम्पीएन् , सुटिङकी पार्बती थापा गेल्डमेडल पाएपछि मात्र बुवाले महिलाले खेल्न सक्छन् भन्ने पत्याएको बताइन् । उनले भनिन्,‘महिलालाई अगाडि बढ्न समाजले साथ दिनुपर्छ । सबै भन्दा परिवारको दरो साथ हुनुपर्छ । जस्तोसुकै सामना गर्न पनि महिला पछाडि हटदैनन् । ’

प्रकाशित : मंसिर ८, २०८० २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?