कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सिद्धार्थनगरमा सुत्केरीका लागि ‘कोसेली भेट’

सन्जु पौडेल

तिलोत्तमा — सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलन गरी उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत ‘कोसेली भेट’ सुरु गरिएको जानकारी दिएको हो ।

सिद्धार्थनगरमा सुत्केरीका लागि ‘कोसेली भेट’

नगरपालिकाले तीन वर्षअघि सुरु गरेको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । नगरपालिकाले १७ लाख रुपैयाँ बजेट छुट्याएर उपप्रमुख कोसेली भेट कार्यक्रम सुरु गरेको उनले प्रस्ट्याइन् ।

उनले स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ र आमा तथा बच्चाको स्वास्थ्यलाई सुत्केरी अवस्थामा विशेष ख्याल गरी पोसिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम सुरु गरिएको बताइन् । नगरपालिकाले उपलब्ध गराउने कोसेलीमा झुल, सेनेटरी प्याड, गाउन, घिउ, मह, ज्वानो, आमा र बच्चाका लागि नुहाउने साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल साबुन र कोसेली झोला रहेका छन् । करिब ३ हजार रुपैयाँ बराबरको यी सबै सामान एक सय दिन भित्रका सुत्केरी आमाहरुलाई उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्यूनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमाणपत्र, जन्मदर्ताको प्रमाण, बुबा आमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले तत्कालका लागि स्थायी बसोबास गर्ने सुत्केरी आमाहरुलाई कोसेली उपलब्ध गराइएको बताए । आगामी दिनमा नगरभित्र बसोबास गर्ने सबै सुत्केरी आमाहरुलाई यो कार्यक्रममा समावेश गरिने उनले बताए ।

प्रकाशित : पुस ९, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?