कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको पिपलडाँडा र हुँगीका स्थानीयलाई एकीकृत सेवा

स्वास्थ्य जाँच र आँखासम्बन्धी सेवा लिने अधिक
माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिकाले आयोजना गरेको एक दिने घुम्ती एकीकृत सेवाबाट दुई दिनमा ३ हजारभन्दा बढीले एकीकृत सेवा पाएका छन् । गाउँपालिकाले पिपलडाँडाको खोकखोलामा राखेको एकीकृत घुम्ती शिविरबाट एकै दिन १ हजार ४ सय २३ नागरिकले सेवा लिएका छन् । हुँगीमा राखेको शिविरबाट १ हजार ६ सय ४९ जनाले एकै दिनमा सेवा लिएका छन् । 

पाल्पाको पिपलडाँडा र हुँगीका स्थानीयलाई एकीकृत सेवा

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम राखेको घुम्ती शिविरमा सबैभन्दा धेरै स्वास्थ्यतर्फ ४ सय ८१ जनाले सेवा लिएका छन् । शिविरमा चिकित्सकसहितको सेवा भएकाले सबै रोगहरुको जाँच, उपचार, परामर्श र विभिन्न स्वास्थ्य सेवा दिइएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।

आँखा जाँच गर्ने १ सय ५८ जनामध्य सात जना विद्यार्थीलाई चश्मा निःशुल्क उपलब्ध गराइएको लायन्स लाकौल आँखा अस्पताल तानसेनका मिनु कार्कीले जानकारी दिए । मोतीविन्दु निदान भएकाहरूका लागि निःशुल्क अप्रेसनका लागि १६ जनालाई प्रेषण गरिएको छ । कृषि प्रविधिसम्बन्धी सल्लाह तथा परामर्श र बीउबिजन वितरणतर्फ २ सय ३१ जनाले सेवा लिएका छन् । पशुपन्छीसम्बन्धी सल्लाह तथा परामर्श र औषधि वितरण १ सय ३८ जनालाई गरिएको छ ।

सबै रोगहरूको जाँच, उपचार, परामर्श र प्रेषण आयुर्वेदतर्फ १ सय २ जनालाई सेवा दिइएको छ । एकीकृत सेवाअन्तर्गत योजना सम्झौता तथा योजनासम्बन्धी काम १७ जनालाई प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए । अपांगता परिचयपत्र वितरण २२ जनालााई, गरिबी परिचयपत्र १० जनालाई, गरीब, विपन्न, असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण १८ जनालाई प्रदान गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मीना आचार्यले बताइन् ।

रम्भा गाउँपालिका-१, हुँगीमा राखेको एकीकृत स्वास्थ्य शिविरमा १ हजार ६ सय ४९ जनाले सेवा लिएका छन् । हुँगी स्वास्थ्य चौकीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा सबै रोगहरुको जाँच गर्नेहरू ५ सय २१ जना आएका थिए । भिडियो एक्सरे सेवा लिने ३५ जना, ल्याब सेवा लिने ५३, पाठेघरको मुखको क्यान्सर जाँच गर्नेहरू ९५ जना, पाठेघर खसेकोमा रिङ प्रेसरी राख्ने दुई, सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार २६ जनाले लिएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले बताए । लामो अवधिको परिवार नियोजनका साधन राख्ने झिक्ने तीन जनाले सेवा लिएको उनले बताए ।

मोतीविन्दु भएकाहरूका साथै साधारण आँखा जाँच सेवा लिने १ सय ८१ जनाले सेवा लिएको हुँगी स्वास्थ्य चौकीका प्रमुख डाक्टर पुजन श्रेष्ठले बताए । रम्भा गाउँपालिकाले सबै वडामा एकीकृत स्वास्थ्य सेवाका साथै घरदैलोमै सेवा दिने गरी कार्यक्रम सञ्चालन गरेको हो । घरदैलोमै डाक्टरसहितको स्वास्थ्य जाँच, भिडियो एक्स-रे सेवा, प्रजनन स्वास्थ्य सेवा, आँखा जाँच, स्त्रीरोग विशेषज्ञ सेवा लिन पाएपछि गाउँगाउँबाट नागरिक खुसी हुँदै शिविरसम्म आएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

गाउँमा सबै सेवा पाउने भएपछि नागरिकको भीड लागेको वडा कार्यालयले जनाएको छ । लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, नेपाल परिवार नियोजन संघले एकीकृत सेवाका लागि सहयोग गरेका छन् । ‘कोभिडका कारण केही वर्ष गाउँमा पुगेर घरदैलोमा सेवा दिन सकिएको थिएन,’ गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले भनिन्, ‘त्यसैले पनि यस वर्ष गरेको एकीकृत शिविरमा धेरैको भीड लागेको होला ।’

प्रकाशित : पुस ३, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?