स्वास्थ्य समस्या झेल्दै कलिला आमाहरू- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य समस्या झेल्दै कलिला आमाहरू

रुपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका २ भैयापुरकी २२ वर्षीया लक्ष्मी विक तीन सन्तानकी आमा हुन् । १६ वर्षको उमेरमा विवाह गरेकी उनले बिहे गरेको एक वर्षमै पहिलो सन्तान जन्माइन् । अहिले उनका तीन सन्तान छन् । बालविवाह गरेकी उनले विद्यालय स्तरको पढाइ पनि पूरा गर्न पाइनन् । अहिले उनको दैनिकी बालबच्चा हेर्नमै बित्ने गर्छ । सानैमा बिहे गरेर बच्चा जन्माएका कारण उनलाई सधैँ स्वास्थ्य समस्या देखिने गरेको छ । ‘खै पढ्न पनि सकिएन । चाँडै बिहे गर्दा रोगी भइयो,’ उनले भनिन्, ‘सधैं तल्लो पेट र टाउको दुख्छ । सानैमा बिहे नगरेको भए पढ्न त पाइन्थ्यो ।’ 

जानकी गाउँपालिका ५ की २० वर्षीया सीता हरिजन सुत्केरी व्यथा लागेपछि कात्तिक १३ गते अस्पताल भर्ना भइन् । उनको यो पहिलो गर्भ थियो । उनले एकपटक पनि गर्भावस्थाको जाँच गराएकी थिइनन् ।रक्तस्राव बढ्दै गएपछि उनी अचेत अवस्थामा पुगिन् । कात्तिक ३१ गते गर्भावस्थामै उनको मृत्यु भयो । गर्भावस्थाको समयमा हुनुपर्ने जाँचहरू नभएपछि अन्तिम समयमा उपचार सम्भव भएन ।

नरैनापुर गाउँपालिका ७ बालापुरकी २० वर्षीया सन्नुदेवी यादव गत पुस १ गते अस्पताल पुग्दा होसमा थिइनन् । युरियन पास नभएका कारण बच्चा जन्माउने प्रक्रिया सुरु हुन सकेन । कमजोर शरीर त्यसमा रगतको कमी भएपछि उनलाई आईसीयूमा भर्ना गरियो । उपचारपछि पनि अवस्था सामान्य भएन ।उनको मृत्यु भयो । एकपटक पनि गर्भवती जाँच नगराएकी सन्नुले आफ्नै बेवास्ता अनि राज्यको निगरानीको अभावमा मृत्युवरण गर्नुपर्‍यो ।

समयमै अस्पताल पुर्‍याउँदा पनि उनलाई बचाउन नसकिएको मृतकका मामा काशिराम यादव बताए । ‘अप्रेसन गर्न पनि उनी होसमा थिइनन्‚’ उनले भने, ‘एक त शरीरमा रगत नै भएन, अर्काे कुरा पेटमा बच्चा । दुवैको ज्यान गयो ।’

भेरी अस्पताल नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवालीका अनुसार २० वर्षमुनिका आमाहरूमा गर्भधारणदेखि सुत्केरी हुँदासम्म स्वास्थ्य समस्या बढी देखिने गरेको छ ।

‘२० वर्षसम्मका आमाहरूमा यस्ता स्वास्थ्य समस्या बढी देखिन्छ । बच्चा पाउँदा समस्या देखिने‚ रगतको कमी हुने‚ सिजर आउने‚ पाठेघर खस्नेजस्ता समस्या देखा पर्छ । बच्चा पाउँदा सुत्केरी व्यथा बढी लाग्ने पाइएको छ‚’ उनले भनिन्, ‘कम उमेरका आमाहरूमा बच्चा पाउँदा जोखिम बढी हुन्छ ।’

कानुनले बालविवाहलाई अपराध मानेता पनि बालविवाहको अपराध हुने गरेका छन् । शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा प्रजनन स्वस्थ्यलगायत विविध समस्या आउन सक्ने भएकाले कानुनले नै विवाह निषेध गरेको छ ।

कलिलो उमेरमा आमा बन्नेहरूले सुत्केरी हुँदा पोसिलो खाना पाउँदैनन् । शिक्षा र स्वास्थ्यबाट वञ्चित छन् । विशेष गरी मधेसी समाज र दलित समुदायका किशोरी बालिकाहरू सानैमा बिहे गरेर आमा भइरहेका छन् । दलित अगुवा दिलबहादुर परियारले भने, ‘अशिक्षा र अन्धविश्वासले गर्दा यस्तो भएको हो ।’

समुदायमा अझै १५, १६ वर्षकै उमेरदेखि बिहे गर्ने चलन छ । कम उमेरमा बिहे गर्दा शरीरका अंग परिपक्व नहुने स्त्री रोग विशेषज्ञ डा. अंकुर भण्डारी बताउँछिन् । ‘योनी च्यातिने र पाठेघरमा घाउ हुने जोखिम हुन्छ,’ उनले भने, ‘पछि गएर आङ खस्ने समस्या हुन्छ ।’

स्त्रीरोग विशेषज्ञ डा. भण्डारीका अनुसार अरु महिलाको तुलनामा किशोर अवस्थामा आमा बनेकाहरूमा स्वास्थ्य समस्या जटिल हुन्छ ।

‘२० वर्षमुनिका महिलाहरूमा गर्भाशयको राम्रो विकास भइसकेको हुँदैन । आमाले राम्रो हेरचाह नपाएकाले गर्भमा रहेको शिशुको पनि विकास हुँदैन‚’ उनले भनिन्, ‘गर्भधारणदेखि बच्चा जन्माउने चरणहरूमा जटिलता देखिन्छ ।’

अधिकारकर्मी कमला पन्त विद्यालयस्तरमा होइन‚ परिवारस्तरमा स्वास्थ्य शिक्षा पुर्‍याउन आवश्यक रहेको बताइन् । ‘हाम्रो समाज यौनको विषयमा अझै पनि साइलेन्स छ । तर‚ यौन शिक्षा घरबाटै बालबालिकालाई दिन आवश्यक छ ।’

जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ४१ जना गर्भवती, सुत्केरी आमाको मृत्यु भएको छ । जसमध्ये बाँकेका मात्रै २४ जना रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।


प्रकाशित : मंसिर २२, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

ज्यापु समुदायको कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् । बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए। सम्पदा र

संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ । ‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । ज्यापु समुदायका जात्रा,पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमूल्य निधि हुन् । ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो । राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै समक्ष उजागर गर्दै मुलुकको संस्कृति,परम्परा, रहनसहनलाई संवद्र्धन र प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने ।

उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रधानमन्त्री देउवाले प्रशंसा गरे । सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रुपमा परिचित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित : मंसिर २२, २०७९ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×