पाल्पाको चिर्तुङधारामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो - लुम्बिनी - कान्तिपुर समाचार

पाल्पाको चिर्तुङधारामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो 

बगनासकाली गाउँपालिकाले खटायो चिकित्सकसहितको टोली 
माधव अर्याल

पाल्पा — मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका सिंगो गाउँबस्तीका एक सय ५० बढी गाउँलेको उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । 

कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको हो । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोललगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको छ ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका हुन् ।बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराज अधिकारीका अनुसार बिरामीहरुलाई प्राथमिक उपचार, स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ । तर गाउँमा वितरण गरेको औषधिले काम नगरेपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल र मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गएका छन् ।

बिरामी भएकाहरुमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ । शनिबार बिहेमा भोज खाएपछि आइतबार, सोमबार र मंगलबारसम्म समस्या बढ्दै गएको स्थानीय पेमा रानाले बताइन् । पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको उनले बताइन् । गाउँमै बिहेभोज खाएकाहरु सबैलाई यस्तो समस्या देखिएको स्थानीय मुक्ति बस्यालले बताए । बगनासकाली गाउँपालिकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि गाउँमा खटाएको छ ।

पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, यम्घाका प्रमुख रामप्रसाद न्यौपाने, दर्लमडाँडाका प्रमुख रेश्मीराज न्यौपाने, खानीगाउँ प्रमुख जीवलाल बस्याल, चापपानीका प्रमुख मोहनलाल घिमिरे, नसिङ स्टाफहरु उमा भट्टराई, चम्पा ढुंगाना, लक्ष्मी बस्याल, ल्याब टेक्निसियन अधिकृत मधु भट्टराई लगायतको टोली गाउँमा उपचारका लागि खटिएको छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्ष शेरबहादुर चिदी, कार्यपालिका सदस्य गीता रेग्मी लगायत वडासदस्यहरु पनि बिरामीको अवस्था बुझ्न गाउँमा खटिएको छ ।

बिरामीलाई स्लाइन पानी चढाउने, औषधि वितरण, जीवन जललगायत स्वास्थ्य शिक्षा दिइएको छ । पानीमा समस्या हो कि भन्ने स्थानीयको आशंका भएकाले स्वास्थ्य कार्यालयले पानीको जाँचका लागि समेत टोली खटाएको छ । बिहेमा झन्डै ४ सय निम्तालु आएको र त्यसमध्ये ९० प्रतिशत बिरामी भएको स्थानीयले बताएका छन् ।

चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख बस्याल, वडाध्यक्ष शेरबहादुर चिदीका साथै स्वास्थ्यकर्मी महेश ढुंगानाले सोमबार पनि घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । धेरैजना बिरामी अत्तालिएर तत्काल मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजका साथै निजी अस्पतालहरुमा पुगेका छन् । स्वास्थ्यकर्मीले प्रशस्त पानी पिउन र नआत्तिन आग्रह गर्दै हिँडेका छन् ।

प्रकाशित : मंसिर २०, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

'आउटसोर्सिङ'मार्फत भर्ना लिइएका काठमाडौं नगर प्रहरीमध्ये आधा 'अयोग्य'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आउटसोर्सिङमार्फत भर्ना लिएका नगर प्रहरी जवानमध्ये आधा जसो अयोग्य रहेको पाइएको छ ।महानगरले युनिक सेक्युरिटिजसँग एक वर्षका लागि १ सय ६२ जना नगर प्रहरी जवान उपलब्ध गराउने समझदारी गरेको थियो । 

४० वर्ष ननाघेका भूतपूर्व आर्मी, नेपाल प्रहरी/सशस्त्रका पूर्व कर्मचारीलाई मात्रै भर्ना गराउने सम्झौताविपरीत योग्यता नै नपुगेका मानिसहरुलाई उक्त कम्पनीले नगर प्रहरीका लागि पठाएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार युनिक सेक्युरिट्जले पठाएका १ सय ६२ जना व्यक्तिमध्ये ८१ जना मात्रै योग्य छन् । बाँकी सबैलाई फिर्ता पठाइएको उनले जानकारी दिए ।

खरिद महाशाखाका प्रमुख ध्रुव काफ्लेका अनुसार एक जना नगर प्रहरी उपलब्ध गराएबापत् उक्त कम्पनीले प्रतिमहिना २० हजार ५ सय २३ रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार पुरुषको हकमा ४० वर्ष उमेर ननाघेका भूतपूर्व नेपाली सेना र नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा कम्तीमा ५ वर्ष सेवा गरेको हुनुपर्छ । यस्तै महिलाको हकमा उमेरको हदबन्दी ४५ वर्ष राखिएको छ ।

नगर प्रहरी बलमा प्रवेश गरेकाहरुको विवरण र योग्यता जाँच गर्दा फरक पाइएको पाण्डेले बताए । ‘आउटसोर्सिङबाट आएका नगर प्रहरी जवानहरुलाई मैले योग्यता पुगेको प्रमाणपत्र ल्याउन भनेको थिएँ । तर ११ दिनपछि कम्पनीले ८१ जनाको मात्रै ल्याएको छ,’ पाण्डेले कान्तिपुरसित भने,‘ कसैको उमेर ४० वर्ष नाघेको, नेपाल प्रहरी र आर्मीमा सेवा नै नगरेको मानिसहरुलाई पठाएको रहेछ । सम्झौताविपरीत आएका सबैलाई फिर्ता पठाइदिएका छौं । ’

उक्त कम्पनीले हचुवाको भरमा कर्मचारी भर्ना गरेर नगर प्रहरी सेवामा पठाएको पाण्डेले बताए । उनले भने,‘ युनिक सेक्युरिटिजले बदमासी गर्‍यो । पूरा लटरपटर गरेर मानिसहरुलाई भर्नाका लागि पठायो । ’

सो कम्पनीका प्रतिनिधि बताउने पर्सीराम चौधरीसँग यसबारे बुझ्न खोज्दा बताउन चाहेनन् ।युनिक सेक्युरिटिजमार्फत नगर प्रहरीमा ११ दिन सेवा गरेका ४६ वर्षीय विकास भुसालका अनुसार कम्पनीले २ सय जनालाई फाराम भर्न लगाएर उमेरको हदबन्दी नहेरी नगर प्रहरीमा पठाएको कान्तिपुरलाई बताए ।

उनले भने,‘हामीलाई थाहा पनि थिएन । नगर प्रहरीको कन्ट्र्याक्ट लिएको रहेछ । हामी त गयौं । नगर प्रहरीमा ४० वर्षभन्दा कम उमेरको हुँदैन भन्ने रहेछ । ११ दिन काम गरेपछि फिर्ता भयौं । ’

प्रकाशित : मंसिर २०, २०७९ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×