कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीको राजधानी सार्न हतार नगर्न कांग्रेस रुपन्देहीको आग्रह

अमृता अनमोल

बुटवल — नेपाली कांग्रेस रुपन्देहीले स्थायी संरचना नबन्दै लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङ नसार्न प्रदेश सरकारलाई आग्रह गरेको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो ।

लुम्बिनीको राजधानी सार्न हतार नगर्न कांग्रेस रुपन्देहीको आग्रह

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन आग्रह गरेको छ । विज्ञप्तिमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।

अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीँबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान गरिएको छ ।

कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणले आग्रह गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी दाङको भालुबाङमा रहेको सम्पर्क कार्यालयमा बसेर तत्काल सबै मन्त्रालय र प्रदेशसभा सार्न निर्देशन दिएपछि सर्वत्र विरोध भएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?