रूपन्देहीमा १ लाखभन्दा धेरै मत बदर

भैरहवा — प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रूपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत बदर भएको छ । रूपन्देहीमा कुल ६ लाख ३८ हजार ९ सय ९२ मतदाता रहेकामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्रमा गरी ४ लाख ३१ हजार ९ सय ७४ मत खसेको थियो ।

रूपन्देहीमा १ लाखभन्दा धेरै मत बदर

त्यसमध्ये ४ लाख ७ हजार ४ सय ५३ मत सदर र २४ हजार ५ सय २१ मत बदर भएको छ । यो कुल सदर मतको ५.६८ प्रतिशत हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले यति धेरै मत बदर हुनुले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्विकार्नुपर्ने बताए । ‘मतदाता शिक्षा कार्यक्रम कमजोर देखियो,’ उनले भने, ‘कामको चापले मतदाता शिक्षा कार्यक्रमको अनुगमन आयोग र कार्यालयबाट प्रभावकारी रूपमा गर्न सकिएन ।’

समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको ४ लाख ३४ हजार ५ सय ६४ मतमा २३ हजार ७ सय ४३ मत बदर भएको छ । यो कुल खसेको मतको ५.४६ प्रतिशत हो । प्रदेशसभा प्रत्यक्षतर्फ खसेको ४ लाख ३१ हजार १७ मतमा २१ हजार ५ सय २४ मत बदर भेटिएको छ, जुन ४.९९ प्रतिशत हो । प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३० हजार ८ सय ५७ मत खसेकामा ३३ हजार १ सय ४९ मत बदर भएको छ । यो ७.६९ प्रतिशत हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी क्षेत्र–४ र सबैभन्दा कम क्षेत्र–२ मा बदर मत भेटिएको छ । यस्तै, प्रदेशसभा प्रत्यक्षतर्फ क्षेत्र–४ (२) मा सबैभन्दा बढी र २ (१) मा कम मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा धेरै बदर मत क्षेत्र–१ र थोरै क्षेत्र–२ मा पाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र–१ मा धेरै र क्षेत्र–४ मा कम मत बदर भएको उनको भनाइ छ ।

अधिकांश बदर मतमा एकै मतपत्रमा लगातार ४ वटासम्म चिह्नमा छाप लगाएको पाइएको उनले सुनाए । ‘४ वटा मतपत्रमा १/१ वटा छाप लगाउने हो भन्ने जानकारी मतदातामा पुगेको पाइएन,’ उनले भने, ‘यसमा दल र आयोग दुवैको कमजोरी रह्यो ।’ प्रदेशतर्फको मतपत्रमा मतदाताले चिन्हबाहिर स्वस्तिक छाप लगाएको र कतिपयले प्रदेशसभाको मतपत्रमा छाप नलगाएर प्रदेशसभा खारेज गरिनुपर्छ भन्दै लेखेर बाकसमा खसालेको समेत भेटिएको उनले बताए ।

प्रकाशित : मंसिर १६, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?