बर्दियामा ठूलो परिमाणको हातहतियारसहित एक पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त टोलीले अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा बाँसगढी नगरपालिका-८ बनगौडीका ५१ वर्षीय गुलराम थारुलाई बुधबार हातहतियार र सुकटीसहित बरामद गरेको निकुञ्जले जनाएको छ । थारुबाट संयुक्त सुरक्षा गस्ती टोलीले खानतलासी गर्दा भरुवा बन्दुक एक थान, नाल एक थान, गज एक थान, डेटोनेटर ८ थान, फलामको छर्रा सानो-ठूलो गरी ५ सय १५ वटा र भरुवा बन्दुकमा प्रयोग हुने गोली १ सय ४० थान बरामद गरिएको सहायक संरक्षण अधिकृत मुकुन्द सञ्जेलले बताए । उनका अनुसार थारुबाट भरुवा बन्दुकमा प्रयोग हुने छडको गोली ३५ थान, भरुवा बन्दुकमा प्रयोग हुने केप २१ थान, वन्यजन्तु चित्तलको जस्तो देखिने १ किलो सुकुटी र बँदेलको मासुजस्तो देखिने ४ थान दाह्रा बरामद गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवदुर्गा सामूदायिक वनमा हातहतियारसहित चोरी सिकार गर्न हिँडेको अवस्थामा थारुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । उनीविरुद्ध हातहतियार र चोरी सिकारी मुद्दामा कारबाही चलाइएको छ । उक्त घटनामा संलग्न केही फरार रहेका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?