कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशसभामा एक मात्र महिला निर्वाचित

रुपा गहतराज

नेपालगन्ज — लुम्बिनी प्रदेशसभा सदस्यमा एकमात्र महिला निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी बाँके–१ (१) बाट प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी उनले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई पराजित गरिन् ।

लुम्बिनी प्रदेशसभामा एक मात्र महिला निर्वाचित

केसीले ९ हजार १ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ७ हजार ९ सय ६६ मत प्राप्त गरे । केसी यसअघि पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका अधुरा काम पूरा गर्न जनताले फेरि एकपटक अनुमोदन गरेर पठाएको उनले बताइन् । केसी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य र बाँके सह–इन्चार्ज छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा केसीले उनको सचिवालयमा बसेर काम गरेकी थिइन् । प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि ५२ जनाको उम्मेदवारी परेकामा दुई जनामात्रै महिला उम्मेदवार थिए ।

प्रदेशसभा निर्वाचनतर्फ माओवादी नेतृ कृष्णा केसीको मात्रै उम्मेदवारी परेको थियो । ‘मैले पनि प्रतिनिधिसभाका लागि टिकट मागेकी थिएँ, पार्टीले प्रदेशसभाको दियो । मलाई जुन हिसाबले पनि जनताको बीचमा काम गर्नु थियो । त्यसैले प्रदेशसभा पनि स्वीकार गरें, जनताले जिताएर देखाइ दिनुभयो,’ उनले भनिन्, ‘महिलालाई महिला भएकैले अवसर दिनु पर्दैन । नेतृत्वले यो कुरा बुझ्नुपर्छ । सक्षम महिलालाई पन्छाउनु हुँदैन ।’

प्रकाशित : मंसिर १४, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?