कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ दशकपछि प्यूठानमा कांग्रेसको जित

प्यूठान — पहिलो पटक जिल्लाबाट कांग्रेस प्रतिनिधि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्यूठान (२) बाट प्रदेशसभा सदस्यमा पार्टीका क्षेत्रीय सभापति सरोज थापा विजयी भएका हुन् । उनले एमालेका हरिप्रसाद रिजाललाई १ हजार ७ सय १२ मतान्तरले पराजित गरेका छन् । थापाले २२ हजार ५ सय १९ मत पाउँदा एमालेका रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरेका थिए । 

३ दशकपछि प्यूठानमा कांग्रेसको जित

२०४८ सालमा भएको आमनिर्वाचनमा कांग्रेसका मुक्तिप्रसाद शर्मा विजयी भएयता प्यूठानबाट कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्न नपाएको कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले बताए । ‘अहिले इतिहास रच्यौं,’ उनले भने, ‘यो जितका लागि लामो संघर्ष गर्नुपर्‍यो ।’

२०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका तिनै शर्मा राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीसँग ६८ मतान्तरले पराजित भएपछि कांग्रेसको पराजय यात्रा जिल्लामा सुरु भएको हो ।

२०५६ को निर्वाचनमा पनि जनमोर्चाका सुवेदी विजयी भए । २०६४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका दीपक केसी विजयी भए भने २०७० को संविधानसभा निर्वाचनमा एमालेका वामदेव गौतम र हीराबहादुर केसी विजयी भएका थिए । २०७४ को निर्वाचनमा पनि प्रतिनिधिसमामा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भइन् । उनले कांग्रेसका गोविन्द पोखरेललाई पराजित गरेकी थिइन् । त्यतिबेला वाम गठबन्धनका उम्मेदवारले प्यूठानमा प्रतिनिधिसभा र प्रदेशसभामा ‘क्लिन स्विप’ गरेका थिए ।

‘अहिलेको नतिजाले आमकार्यकर्तालाई उत्साहित बनाएको छ । लामो पराजय यात्रा अब रोकिएको छ,’ कांग्रेस प्यूठानका पूर्वसभापति अमरप्रसाद भण्डारीले भने, ‘कम्युनिस्टको गढमा यत्तिको नतिजाले खुसी बनाएको छ ।’ प्यूठानले धेरै कम्युनिस्ट नेता जन्माएको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, मोहन वैद्य, लीलामणि पोखरेल, वामदेव गौतमलगायतको जन्मभूमि प्यूठान हो ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?