कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४० वर्षपछि गुप्ताको जित

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुका पाका नेता मंगलप्रसाद गुप्ताले आठौं प्रयासमा जित हासिल गरेका छन् । कृष्णनगर–२ कृष्णनगरका ७७ वर्षीय गुप्ता एमालेबाट क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । गुप्ताले कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गरे । उनले २० हजार ८ सय ५२ मत प्राप्त गरेका छन् भने शाहले १७ हजार ७ सय ८८ मत पाए । 

४० वर्षपछि गुप्ताको जित

२०३९ सालमा गुप्ता तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए । दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसपछि २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्न थालेका उनले बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोग्नु पर्‍यो । तीन पार्टी परिवर्तन गरेर चौथो पार्टी एमालेबाट चुनाव जितेका हुन् । २०४३ मा सूर्य चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका उनी २४ हजार मत ल्याउँदै चौथो भए । ३६ वर्षपछि त्यही सूर्य चिह्न लिएर लडेका उनले विजयी भएका हुन् ।

२०२४ सालदेखि राजनीति थालेका गुप्ताले २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचन लडे । २०७० र २०७४ को चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे । सबै निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनुपर्‍यो । यसअघिका चुनावमा दोस्रो स्थानमा रहँदै आएकाले यसपटक आफ्नो जित निश्चित भएको उनले बताउँदै आएका थिए । उनी पञ्चायतकालमा पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य पनि भएका थिए । उनका साथीसंगी भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले पटकपटक जितको स्वाद चाखे पनि उनले भने सधैं पराजय भोग्दै आएका थिए । ‘मंगल चाचाले लामो त्याग र संघर्ष गरेका थिए,’ स्थानीय मनीषमंगल बनियाँले भने, ‘जनताले बल्ल न्याय गरे ।’ उनी गत वर्षको पुस ६ मा एमाले प्रवेश गरेका थिए । ‘मेरो व्यक्तिगत १५/१६ हजार मत थियो,’ उनले भने, ‘त्यसमा मजबुत संगठन भएको एमाले पार्टी मसँग रह्यो ।’ साढे पाँच दशक लामो राजनीतिको अनवरत यात्रामा रहेका गुप्ता युवा, मजदुर र कृषकका अधिकारका लागि लड्दै आएका छन् । ‘जनताले परिवर्तनको अनुभूति चाहेका थिए,’ उनले भने, ‘त्यसै कारण मेरो जित भएको हो ।’

प्रकाशित : मंसिर ११, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?