ठूला दललाई टक्कर दिँदै नयाँ

लुम्बिनीबाट प्रतिनिधिसभाका २६ सिटमध्ये सहरोन्मुख क्षेत्रमा रास्वपाको दबाब
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभा सदस्य पदमा नयाँ राजनीतिक दलले बलियो उपस्थिति जनाएका छन् । पुराना ठूला दल एमाले, कांग्रेस र माओवादीलाई साना दल र नयाँ शक्तिले दबाब दिइरहेका छन् । नयाँ दलले निर्वाचनमा भाग नलिएको प्रदेशमा भने पुरानै दलको उपस्थिति बलियो देखिएको छ ।

ठूला दललाई टक्कर दिँदै नयाँ

२६ प्रतिनिधिसभा सदस्य रहेको लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका सहरोन्मुख जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब दिइरहेको छ । मंगलबार साँझ ७ बजेसम्मको परिणाममा दुई निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ उम्मेदवारलाई पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रूपन्देहीको क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पछाडि पार्दै रास्वपाका गणेश पौडेलले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् । १५ हजार बढी मतगणना हुँदा एमालेका उपाध्यक्ष पौडेलले ४ हजार ७२ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ४ हजार २ सय ३५ मत ल्याएर निरन्तर अगाडि छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशबबहादुर थापा मगरले ३ हजार १ सय ४६ मत ल्याएका छन् । विष्णु पौडेलले निरन्तर तीनपटक जितेको क्षेत्र हो यो । सामान्य प्रचारप्रसारमै अहिले नयाँ पार्टी र नयाँ उम्मेदवारले टक्कर दिएपछि मतगणनाको सुरुवातदेखि नै बुटवल चर्चामा छ । यहाँ ८१ हजार २ सय २ मत खसेको छ । धेरै मत गणना हुन बाँकी रहे पनि सुरुवातीदेखि नै निरन्तर अग्रता लिइरहेका पौडेललाई कुन र कस्तो समूहले मत दियो भन्ने पनि चर्चा चलिरहेको छ ।

मत गणनास्थल वरपर नतिजाको पर्खाइमा रहेका युवापुस्ताका अधिकांशले रास्वपालाई भोट दिएको बताए । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा प्रमुख पद जितेको छ । उपमहानगरपालिकामा जित निकाले पनि प्रतिनिधिसभा र यस क्षेत्रमा पर्ने प्रदेशसभा २ (२)मा समेत कांग्रेसले उम्मेदवार नपाएपछि धेरै कांग्रेस समर्थकले घण्टीमा मतदान गरेको कांग्रेसकै नेताहरूले बताइरहेका छन् । तर, प्रतिनिधिसभामा कांग्रेस र माओवादीको समर्थनमा जनमुक्ति पार्टीलाई समर्थन गरेकाले कांग्रेसका नेता कार्यकर्ता खुलेर बोल्दैनन् । कांग्रेसका मत धेरै रहेको र माओवादीले समेत समर्थन गरेको गठबन्धनमा जनमुक्ति पार्टीका थापाले तेस्रो स्थानमा मत ल्याएकाले पनि गठबन्धनका धेरै मत घण्टीमै गएको हुन सक्ने बुटवलका माओवादी कार्यकर्ता श्रीविक्रम थापाले बताए । ‘मैले पनि प्रत्यक्षमा घण्टीमै भोट दिएँ, केही हुन्छ कि भन्ने हो,’ उनले भने, ‘मैले बुझेअनुसार कांग्रेसका धेरै युवा र पाकाले पनि घण्टीमै भोट दिएका छन् ।’ देशभर युवाको आकर्षण घण्टीमा भएकाले पनि धेरैले भोट दिएको हुन सक्ने उनले बताए । धेरै मतदातामा घण्टी चुनाव चिन्ह बढी लोकप्रिय देखिएको छ । तर, कुन पार्टीको हो भन्ने कमैलाई मात्र थाहा छ । धेरैले रवि लामिछानेको पार्टी भनेरै भोट दिएका छन् ।

नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा कांग्रेसबाट उम्मेदवार बनेका उद्योगी विनोद चौधरीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै महेन्द्र सेन ठकुरीले पछाडि पारिरहेका छन् । ठकुरीले ८ हजार ६ सय ९ मत ल्याउँदा कांग्रेसका चौधरीले ७ हजार ८ सय ५४ मत ल्याएका छन् । एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हृदयेश त्रिपाठीले ६ हजार ९ सय ५४ मत ल्याएर तेस्रो स्थानमा छन् । दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले तेस्रो स्थानमा मत ल्याइरहेको छ । क्षेत्र नं. १ मा गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणी चौधरी, २ मा माओवादीकी रेखा शर्मा र ३ मा कांग्रेसका दीपक गिरी अग्रस्थानमा छन् । उनीहरूलाई क्रमशः एमालेकी शान्ता चौधरी, एमाले महासचिव शंकर पोखरेल र कोमल वलीले पछ्याइरहेका छन् । लुम्बिनीमा मंगलबार बेलुकी ७ बजेसम्म एमाले १० स्थानमा अगाडि छ ।

दोस्रोमा कांग्रेस ४, माओवादी ३, राप्रपा २, रास्वपा २, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी १/१ स्थानमा अगाडि छन् । बर्दियाको क्षेत्र नं. २ मा स्वतन्त्रका लालवीर चौधरी अगाडि छन् । उनले माओवादीका सुरेश पन्थलाई ६ हजार २ सय ५९ मतले पछाडि पार्दै २१ हजार ५ सय ६४ मतका साथ अगाडि छन् । गुल्मीको क्षेत्र नं. १ मा मतगणना हुन बाँकी छ । आइतबार स्थगित भएको कालीगण्डकी गाउँपालिकाको अर्वेनी मतदान केन्द्रमा मंगलबार निर्वाचन भएको छ । गुल्मीको क्षेत्र नं. १ मा बुधबार बिहानबाट मतगणना हुनेछ ।

लुम्बिनी प्रदेशमा ५२ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । नयाँ दलले प्रदेशमा उम्मेदवारी नदिएका कारण प्रदेशका अधिकांश क्षेत्रमा भने एमाले, कांग्रेस र माओवादीका उम्मेदवार नै अगाडि छन् । समाचार तयार पार्दासम्म मतगणना भइरहेका क्षेत्रमा एमालेका उम्मेदवार १४ स्थानमा अगाडि छन् । कांग्रेसका ९, माओवादीका ३, राप्रपाका ३, जसपा, लोसपा र स्वतन्त्र २/२ स्थानमा अगाडि छन् । सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी १/१ स्थानमा अगाडि छन् । रोल्पा १ (२)मा माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका माओवादीकै दीपेन्द्रकुमार पुन अगाडि छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पछाडि पारिरहेका छन् । अमरसिंह प्रदेशका मुख्यमन्त्रीका दावेदारसमेत हुन् । रुकुम पूर्व १ (१) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका १५ वटा प्रदेशसभा क्षेत्रको मतगणना हुन बाँकी छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?