कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लुम्बिनी राष्ट्रिय महोत्सव’ मंसिर २३ देखि

माधव ढुंगाना

भैरहवा — चार वर्षपछि सिद्धार्थ उद्योग वाणिज्य संघले आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म भैरहवामा ‘लुम्बिनी राष्ट्रिय महोत्सव २०७९’ को आयोजना गरेको छ ।

‘लुम्बिनी राष्ट्रिय महोत्सव’ मंसिर २३ देखि

‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको आठौं महोत्सवमा स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको बजार प्रवर्द्धन गरिने बताइएको छ ।

साथै घरेलु सामग्रीप्रति उपभोक्तालाई जागरुक बनाइ स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकला सामग्रीको बजार प्रवर्द्धनलाई महोत्सवले प्राथमिकता दिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले मुलुक आर्थिक मन्दीले गुज्रिरहेको अवस्था भए पनि केही हदसम्म बजार चलायमान गराउन महोत्सवको आयोजना गरिएको बताए । ‘महोत्सवको माध्यमबाट स्थानीय स्तरमा छिरलिएर रहेका साना पूँजीलाई सकंलन गरी बजारमा ल्याइ आर्थिक तरलताको समस्या कम गर्नु महोत्सवको उद्देश्य हो,’ न्यौपानेले भने ।

उनका अनुसार रुपन्देहीका विभिन्न पालिकाहरूसँगको सहकार्य र समन्वयमा आयोजवना गरिएको यो महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सव अवधिमा १० करोड रुपैयाँ बराबरको कारोवार हुने आकलन गरिएको छ । महोत्सवमा २ सय ५० वटा स्टल रहने बताइएको छ।

भैरहवामा आयोजना गरिने यस्तो महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुने, सीमावर्ती भारतीय सहरबाट पनि सहभागिता हुने हुँदा पर्यटन प्रवर्द्धन एवम् आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको अध्यक्ष न्यौपानेले बताए । ‘महोत्सवमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित कपिलबस्तुको तिलौराकोट लगायत पुरातात्विक स्थल र नवलपरासीमा रहेको रामग्राम लगायत क्षेत्रमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गरिएको छ,’ न्यौपानेले भने, ‘यसबाट पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’

प्रकाशित : मंसिर २, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?