फर्कियो टाँगा आकर्षण- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्कियो टाँगा आकर्षण

रूपा गहतराज

नेपालगन्ज — चार/पाँच वर्षअघिसम्म नेपालगन्जमा ५०–६० वटा टाँगा चल्थे । सीमावर्ती नाकापारि रुपैडिया बजार पुग्न टाँगा नै उपयुक्त विकल्प थियो । बिस्तारै ई–रिक्साले बजार पायो । रिक्साले टाँगालाई विस्थापित गरिदिए । चाडपर्वयता भारतबाट घर फर्किने नेपालीलाई ओसार्न र टाढाबाट आएका आफन्तलाई भेट्न आएका र पर्यटकहरू फेरि टाँगा चढ्न थालेका छन् ।

यात्रुले टाँगामा चढ्न खोजेपछि फेरि चलाउन थालेको चालक बाबु खाँले बताए । दुई वर्षदेखि नचलाएका उनले माग बढेपछि आफ्नो टाँगा निकालेको बताए । ‘घोडालाई नुहाइदिएँ, सिंगारपटार गरें । अनि, आफ्नो टाँगाको गद्दी सम्हाले,’ उनले भने, ‘पछिल्लो समय नेपालगन्ज–रुपैडिया रुटमा दैनिक १२–१५ वटा टाँगा चल्ने गरेका छन् ।’ धेरै जना एकैपटक बस्न पाइने भएपछि सबैको रोजाइ अहिले फेरि टाँगा भएको उनले सुनाए ।

ई–रिक्सा आएपछि टाँगाप्रतिको आकर्षण घटेको थियो । नेपालगन्ज–रुपैडिया जाने यात्रुको रोजाइमा ई–रिक्सा भएपछि विगत पाँच वर्षदेखि टाँगा व्यवसाय बन्द थियो । कुनै बेला थियो, टाँगाको सहरका रूपमा नेपालगन्ज चिनिन्थ्यो । काठमाडौं, पोखराबाट आएकाहरू टाँगा चढेर रुपैडिया गएको अर्का टाँगा व्यवसायी रहमत खाँले सम्झिए । ‘टाँगा व्यवसाय बन्द भएपछि कतिपयले ई–रिक्सा किनेर चलाउँदै छन् । कसैले अर्कै व्यवसाय अँगालेर जीविका चलाउँदै छन्,’ उनले भने, ‘समय अनुसार चल्नै पर्‍यो, कतिले त टाँगा नै बेचिदिए ।’

नेपालगन्जका ई–रिक्सालाई भारतीय प्रहरीले रुपैडिया जान प्रतिबन्ध लगाएपछि टाँगाको माग बढेको सफिक वेहनाले बताए । किनमेल र भारतबाट फर्किने नेपालीलाई हिंडेर जमुनाह आउनुपर्ने भएपछि बाध्य भएर टाँगा चढ्न थालेको उनको भनाइ छ । भारतीय सीमावर्ती बजार रुपैडियामा परम्परागत (पाइडल घुमाएर चलाउने) रिक्सा भने चल्न दिइएको छ । ‘किनमेल गरेर फर्किने बेला पाइडल रिक्सा प्रयोग गरे महँगो पर्ने र हिंडेर आउन गाह्रो भएपछि नेपालीहरू टाँगा चढ्न थालेका हुन्,’ सफिकले भने, ‘जे भए पनि गरिबहरूको भलो भयो, टाँगा चलाउनेहरूले फेरि काम पाएका छन् ।’

ई–रिक्साले जमुनाहबाट धम्बोझीसम्मको १ सय रुपैयाँ भाडा लिने गरेका छन् । रुपैडियाबाट जमुनाह आउन थप ४० रुपैयाँ लाग्छ । टाँगाले रुपैडिया–धम्बोझी भाडा ९० रुपैयाँ लिने गरेको सफिकले बताए । टाँगाले एकपटकमा १० जनासम्म बोक्ने गरेको उनको भनाइ छ । ‘ई–रिक्सामा थोरै यात्रु अट्ने भएकाले भाडा महँगो पर्न जान्छ,’ उनले भने, ‘धेरै जनाको समूह भएकाहरू एउटा रिक्सामा नअटाउने भएकाले हामीलाई खोज्छन् ।’ नेपालगन्ज–रुपैडिया रुटमा दैनिक १५–२० वटा रिक्सा चल्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताए । उनले तिज आसपासबाट टाँगा चल्न थालेको सुनाए ।

पूर्वप्राज्ञ सनत रेग्मीका अनुसार राणाकालीन समयमा वर्ग विशेष अनुकूल आकर्षक घोडा ल्याइन्थ्यो । बिस्तारै सडकको विकाससँगै एक्का र टाँगा संस्कृति लोप हुँदै छ । भेरी अस्पतालको छेउमा टाँगा स्टेसन नै छ । ‘त्यहाँ अचेल रिक्साकै भरिभराउ देखिन्छ,’ रेग्मीले भने, ‘नेपालगन्ज चिनाउने टाँगा संस्कृति पनि हो । यसलाई जोगाउन सके पर्यटक केन्द्र बन्ने सम्भावना कायमै छ ।’

प्रकाशित : कार्तिक २९, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

बाँके–२ धवल र इस्तियाकबीच मुख्य प्रतिस्पर्धा

रूपा गहतराज

नेपालगन्ज — ०५४ मा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित धवलशमशेर राणा २५ वर्षपछि एमालेसँगै तालमेलमा बाँके–२ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । ०६२/०६३ को राजनीतिक परिवर्तनपछि राप्रपा प्रवेश गरेका राणा अहिले राप्रपाको केन्द्रीय महामन्त्री छन् ।

०६४ र ०७० को संविधानसभा निर्वाचनमा हार बेहोरेका राणा ०७४ को स्थानीय तह निर्वाचनबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा ‘कमब्याक’ भए । केन्द्रमा एमाले, जसपा र राप्रपाबीच तालमेल भए पनि यहाँ केन्द्रको निर्णय कार्यान्वयन भएन किनकि यही क्षेत्रबाट यसअघि निर्वाचित जसपा नेता मोहम्मद इस्तियाक राई पनि आफूले जितेको क्षेत्र छाड्न तयार भएनन् । उनको मुख्य प्रतिस्पर्धा इस्तियाकसँगै हुने देखिन्छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका सुदीपनरसिंह राणा उम्मेदवार छन् ।

दुई पटक नेपालगन्जको प्रमुख भएका राणा अहिले घरदैलोमा व्यस्त छन् । नगर प्रमुख हुँदा गरेका विकासका कामलाई उनले आफ्नो मुद्दा बनाएका छन् । २०७४ को निर्वाचनमा इस्तियाक दुईवटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएका थिए । त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र र राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो । इस्तियाकले २१ हजार ५ सय ७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार ९ सय ५१ र राप्रपाका आजादले ११ हजार ६ सय २२ मत ल्याएका थिए ।

राप्रपाका सहायक महामन्त्री ऋषि देवकोटा पाँच वर्षमा धेरै दृश्य फेरिएको बताउँछन् । ‘यहाँबाट पटक–पटक निर्वाचित भएर पनि इस्तियाकले केही काम गरेनन्,’ उनी भन्छन्, ‘राणाको व्यक्तिगत इमान्दारिता, राप्रपा र एमालेको बलियो संगठन नै राणाको जितका आधार हुन् ।’ राप्रपाकै जिल्ला नेताहरू भने गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा राणा चुनावी मैदानमा बलियो देखिएको सुनाउँछन् ।

राणाका निम्ति उनको पारिवारिक पृष्ठभूमि पनि मतदातामाझ चिनिने सजिलो माध्यम बनेको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालबाट धपाएपछि भारतको मसुरी पुगेका देवशमशेरका पनाति धवलका परिवारको नेपालगन्जसँग पुरानो साइनो छ । अमेरिकाबाट नगर विकास विषयमा पीएचडी गरेका राणाको राजनीतिका अलावा व्यावसायिक पृष्ठभूमि पनि छ । स्नातकोत्तर सकेपछि कपास विकास समिति खजुरामा सहसचिव बनेका उनले त्यसपछिका वर्षमा नेपालगन्जमा होटल बाटिका खोल्नेदेखि बर्दियामा एडभेन्चर रिसोर्ट र नेपालगन्जमा मोडर्न पब्लिक स्कुल खोलेर व्यावसायिक परिचय बनाएका थिए ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र माओवादीको २४ हजार ९ सय ८०, एमाले र राप्रपाको २३ हजार ९ सय ७२ तथा जसपाको १४ हजार १ सय ९ मत छ । दुई पटक उपमहानगरको नेतृत्व सम्हाल्दा विवादमा नपरेकाले पनि उनी मतदातामाझ बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् । नगर प्रमुख हुँदा पारिश्रमिक नलिएका उनले सांसद भएपछि पाउने पारिश्रमिक पनि समाज सेवामा लगाउने घोषणा गरेका छन् ।

इस्तियाक पनि बलिया उम्मेदवार हुन् । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री उनले जिल्लामा भौतिक पूर्वाधार विकासमा आफूले गरेका कामको फेहरिस्त मतदातालाई सुनाइरहेका छन् । जसपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा इस्तियाकले गरेका काम जनताले देखिरहेकाले त्यही नै जितको आधार भएको बताउँछन् । ‘हामीले विकास, समृद्धि र भाइचाराको नारा उठाएका छौं,’ उनले भने ।

इस्तियाक पनि आफूले गरेका विकासका काम नै जितको आधार भएको बताउँछन् । जनताको शासक बन्न होइन, जनताको चौकीदारी गर्न भोट मागिरहेको बताउँदै उनले भने, ‘मैले जनतालाई कहिल्यै ढाँटेको छैन । नसक्ने काम गर्छु भनेर कहिल्यै सपना बाँडेको छैन ।’ ०५४ को स्थानीय चुनावमा नगर प्रमुखमा थोरै मतले पराजित दिवाकर खनाल पनि यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार छन् । उनले राप्रपाकै जस्तो हिन्दु राष्ट्र र जनताले आवश्यक ठानेमा राजसंस्था पुनःस्थापनाको मुद्दा उठाइरहेका छन् ।

कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणालाई माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । तरुण दलबाट राजनीतिमा आएका सुदीपको बलियो पक्ष भनेको उनको व्यक्तिगत पृष्ठभूमिभन्दा पनि गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मत हो । गत स्थानीय तह चुनावमा यहाँ कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादीले ६ हजार ८ सय ५९, एकीकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत पाएका थिए ।

प्रकाशित : कार्तिक २९, २०७९ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×