कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खेती जोगाउने चिन्ता

कान्तिपुर संवाददाता

अर्घाखाँची — सिद्धाराकी ७१ वर्षीया विमला खत्रीको बारीमा उब्जनी भएको अन्नबाली जंगली जनावरले नोक्सान गरिदिँदा हैरान छिन् । अघिल्लो स्थानीय र संसदीय चुनावमा गाउँ आएका उम्मेदवारले भोट दिनूस्, बँदेल र दुम्सी लखेटिदिन्छौं भनेका रहेछन् । तर, ती आश्वास पूरा भएनन् । अहिले भोटको भन्दा उनलाई गाँसको चिन्ता छ । ‘अघिल्ला चुनावमै उम्मेदवारले भोट दिनूस्, वन्यजन्तु लखेटिदिन्छौं भनेका थिए, खै केही भएन,’ उनले भनिन्, ‘यसपालि भने वन्यजन्तुले नखाने बाली वा जोगाउने उपाय खोज्छौं, भोट दिनूस् भनेका छन् । त्यही आसले मंसिर ४ मा भोट दिन जान्छु ।’

आसन्न चुनावका लागि प्रतिनिधिसभामा कांग्रेसबाट पुष्पा भुसाल गौतम र एमालेका टोपबहादुर रायमाझीले जंगली जनावरबाट अन्नबाली जोगाउने उपाय खोज्ने बताएका छन् । प्रदेशसभामा एमालेका रामजीप्रसाद घिमिरे र कांग्रेसका कमल भुसालसहितका साना दलका उम्मेदवारले पनि यही समस्या समाधान गरिदिने भन्दै भोट मागेका छन् ।

‘रायमाझी र भुसाल भोट माग्न आएका थिए, हामीले वन्यजन्तुको समस्या बतायौं,’ कृषक रिता पुलामीले भनिन्, ‘विकल्प खोज्छौं भनेका छन् । आशा गरौं ।’ नेताहरूले गाउँका चुनावी सभामा जोडतोडले अन्नबाली, तरकारी खेती विस्तार गरेर युवालाई स्वरोजगारी बनाउने भाषण गरिरहेका छन् ।

‘त्यो कसरी सम्भव हुन्छ ?’ उनले भनिन्, ‘वन्यजन्तुबाट अहिलेकै बाली जोगाउन कठिन छ । वर्षदिन दुःख गरेको बाली छिनभरमै भ्याइदिएपछि के खाएर बाँच्ने ?’ पशुपालनका लागि भुइँ र डाले घाँस प्रशस्त छ । ‘जंगलमा लुकेर बस्ने वन्यजन्तुले मानव बस्ती नै उठिबास लगाउन थाल्यो, कसरी हुन्छ कृषि क्रान्ति ?,’ युवा दिनेश परियारले भने, ‘चुनावी नारा कृषि उद्यमबाट युवालाई रोजगारी दिने भन्ने छ । यहाँ खेतबारीबाट उब्जनी भित्र्याउनै मुस्किल छ ।’

पहिला बाली जोगाउने र खेतबारीमा उब्जनी गरेर पेटभरि खान पुग्ने बनाउनुपर्ने जलुकेकी सीता पुलामीले बताइन् । ‘चुनावमा सधैं गर्नै नसकिने गफ दिने, जितेपछि वास्ता नगर्ने बानी सुधानुपर्छ,’ उनले भनिन्, ‘गाउँमा जन्मिएकालाई गाउँमै बस्ने र सहरबाट बसाइँसराइ गरेर पहाडी गाउँ भित्रिने गरी काम गर्नुपर्छ ।’

प्रकाशित : कार्तिक २८, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×