कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

पूर्वमन्त्री राईद्वारा ‘दस दृष्टि’ सार्वजनिक

रुपा गहतराज

नेपालगन्ज — जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो क्षेत्र विकासका लागि आफ्ना ‘दस दृष्टि’ सार्वजनिक गरेका छन्।

पूर्वमन्त्री राईद्वारा ‘दस दृष्टि’ सार्वजनिक

राईले आफ्ना दृष्टिबारे बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दसवटा क्षेत्रमा गर्ने सामाजिक आर्थिक विकासका योजनाहरू समेटेका छन्।

विभिन्न दस बुँदामा समेटिएका उनको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिला समाबेशीकरण लगायतका विषयहरू समेटिएका छन्।

पत्रकारहरूसँगको साक्षात्कारमा उनले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताए।

‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं । काम गरिरहेको र गर्नसक्ने व्यक्तिलाई भोट दिनुस् भनेका छौं,’ राईले भने । मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उनले बताए।

‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाह फैलाइरहनुभएको छ। उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनु भएको छ। कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन्। मैले कहीँ कतै भ्रष्टाचार गरेको छु भने प्रमाणित गरिदिनुस् म सजाय भोग्न तयार छु,’ नेता राईले भने ।

२०७४ सालको निर्वाचनमा राई २ वटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् ।

प्रकाशित : कार्तिक २३, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?