कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मल र बीउ दिनेलाई भोट

नवीन पौडेल

परासी — यतिबेला मतदाताको घरघरमा उम्मेदवार भोट माग्दै पुगेका छन् । नवलपरासी क्षेत्र नम्बर १ का मतदाता भने समयमा मल, बीउ र उत्पादन भएको उखु एवं केराको उचित मूल्यको ग्यारेन्टी गर्ने उम्मेदवारलाई नै भोट दिने बताउँछन् ।

मल र बीउ दिनेलाई भोट

जिल्लाको उत्तरमा बर्दघाट नगरपालिकादेखि दक्षिणमा सुस्तासम्म फैलिएको क्षेत्र नं. १ का जनताको मुख्य आम्दानीको स्रोत उखु र केरा खेती नै हो । तर, समयमा रासायनिक मल र बीउ नपाउँदा यहाँका किसान हैरान छन् ।

यहाँका मतदाताले नयाँ जोस र योजना भएका उम्मेदवार खोजिरहेको प्रतापपुर गाउँपालिका–५ का संजोग यादवले बताए । ‘हामीले भाषण मात्र गर्ने होइन, स्पष्ट योजना र लगानीको वातावरण बनाउन सक्ने जनप्रतिनिधि खोजेका छौं,’ उनले भने, ‘आफूले उत्पादन गरेको उखुको भुक्तानी नपाउने र सरकारले तोकेको मूल्यभन्दा पनि कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता हट्नुपर्छ । हामीलाई कृषिका लागि आवश्यक मल, बीउ र उचित बजारीकरण गर्न सक्ने जनप्रतिनिधिको खाँचो छ ।’

यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका विनोद चौधरी र एमालेको सहयोगमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । त्रिपाठी यस क्षेत्रमा छैटौंपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने चौधरीको पहिलोपटक हो । दुवै उम्मेदवारले किसानको समस्या, उखु, केरा र अन्य नगदेबालीका लागि अनुदान, मल, बीउ र उचित बजारीकरणको आश्वासन दिइरहेका छन् ।

चौधरीले आफूमा उद्योग सञ्चालन र कृषि उत्पादनको बजारीकरणका लागि लामो अनुभव भएकाले यस क्षेत्रको उखु र केराको बजारीकरण र स्थानीय स्तरमा नै प्रशोधन केन्द्र स्थापना गरेर कृषि उत्पादनको बजारीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । त्रिपाठीले यसअघि आफूले गरेको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै यसपटक कार्यान्वयन गर्ने आश्वासन दिंदै मत मागिरहेका छन् । अन्य दलका उम्मेदवार र स्वतन्त्रले पुराना जनप्रतिनिधि र मुख्य दलका नेताले सोचेअनुसार काम नगरेको भन्दै नयाँ अनुहारलाई काम गर्ने मौका दिन आग्रह गर्दै आएका छन् । यस क्षेत्रमा सात जना स्वतन्त्र र ११ जना राजनीतिक दलका उम्मेदवार छन् ।

गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट सत्ता गठबन्धनले ३७ हजार मत प्राप्त गरेको थियो । कांग्रेस एक्लैको ३० हजार मत छ भने माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका उम्मेदवारले सात हजार मत प्राप्त गरेका छन् । नेकपा एमाले र जनता प्रगतिशील पार्टीले यस क्षेत्रबाट २९ हजार ५ सय ६८ मत प्राप्त गरेको देखिन्छ । जनता प्रगतिशील पार्टीले ४ हजार र एमालेले २५ हजारभन्दा बढी मत पाएका थिए ।

प्रकाशित : कार्तिक २३, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×