कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गिरी र वली मुख्य प्रतिस्पर्धी

पाँचौंपटक चुनावी मैदानमा उत्रिएका गिरीलाई पहिलोपटक प्रतिनिधिसभाको चुनाव लड्दै गरेकी वलीको चुनौती
दुर्गालाल केसी

दाङ — दाङ–३ मा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी पाँचौंपटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीमा एमाले केन्द्रीय सदस्य कोमल वली छिन् । उनी पहिलोपटक निर्वाचनमा उठेकी हुन् ।
चुनावको लामो अनुभव सँगालेका गिरी र पहिलोपटक चुनावी मैदानमा आएकी वलीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

गिरी र वली मुख्य प्रतिस्पर्धी

गिरी २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भई दाङ क्षेत्र नं. २ बाट एमालेका शंकर पोखरेलसँग पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं. ५ बाट माओवादीका सुष्मा शर्मा घिमिरेसँग पराजित भए ।

२०७० को संविधानसभा निर्वाचनमा एमालेका उत्तरकुमार वलीलाई पराजित गरी संविधानसभा सदस्यमा विजयी भए । २०७४ मा क्षेत्र नं. ३ बाट एमालेका हीराचन्द्र केसीसँग पराजित भए । २०७० मा पहिलोपटक सांसदमा निर्वाचित भएपछि उनी २०७३ भदौ १० गते सिंचाइ मन्त्रीसमेत भए ।

२०३० सालदेखि नै मुलुकमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सहभागी भएका गिरी निरन्तर राजनीतिमा छन् । २०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य भए । उनी १२ औं महाधिवेशनदेखि लगातार तेस्रोपटक कांग्रेस केन्द्रीय सदस्य छन् । निरन्तर राजनीतिमा रहेको र सिंचाइ मन्त्री हुँदा सिंचाइ आयोजनामा धेरै काम गरेका कारण जनताले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको गिरीले बताए । ‘म युवावस्थादेखि राजनीतिमार्फत देशको सेवा गरिरहेको छु । सिंचाइ मन्त्री हुँदा धेरै काम गरेको छु,’ उनले भने, ‘मैले अझै धेरै काम गर्न बाँकी छन् । जनताले मलाई त्यो अवसर दिन्छन् भन्नेमा विश्वस्त छु ।’

वलीले लामो समय गायन र रेडियो नेपालमा समाचार वाचनको काम गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमार्फत राजनीति सुरु गरेकी उनी एमाले प्रवेश गरेपछि २०७४ मा राष्ट्रिय सभा सदस्य भइन् । यसपटक उनले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएकी हुन् । २०७४ मा पनि उनी यस क्षेत्रमा प्रत्यक्ष निर्वाचन लड्ने योजनामा थिइन् । एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । अन्तमा राष्ट्रियसभा सदस्य बनाउने सर्तमा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

जनताको दुःखसुखमा साथ दिने उद्देश्यसाथ उम्मेदवार भएको वलीले बताइन् । ‘म जनताका समस्या समाधानका लागि काम गर्ने अठोट लिएर निर्वाचनमा होमिएकी छु,’ उनले भनिन्, ‘महिला र ग्रामीण क्षेत्रका जनताका आवाज उठाउन म निरन्तर क्रियाशील छु ।’ लामो समय गीतसंगीत र सञ्चार क्षेत्रमा योगदान गरेपछि अब राजनीतिबाट देशमा योगदान गर्न चाहेको उनले बताइन् । राष्ट्रियसभा सदस्यका रूपमा संसद्मा प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आगामी दिनमा अझ महत्त्वपूर्ण काम गर्ने अठोटसाथ अघि बढेको बताइन् ।

पश्चिम दाङमा कांग्रेसभित्र गिरी परिवारमा रहेको आन्तरिक गुटबन्दी गिरीका लागि चुनौती छ । उनका परिवारकै सदस्य गेहेन्द्र गिरी र उनीबीच दुई पक्षीय ध्रुवीकरण छ । लामो समयदेखि उनीहरू एकले अर्कालाई असहयोग गर्दै आएको आरोप/प्रत्यारोप छ । गेहेन्द्र २०७४ र २०७९ मा तुलसीपुर उपमहानगरपालिका प्रमुखको उम्मेदवार भएर पराजित भए । दीपक पनि २०७० बाहेक तीन निर्वाचनमा पराजित भए । यसमा एकअर्काको असहयोग जिम्मेवार छन् भन्ने कांग्रेसभित्रको विश्लेषण छ । यसपटक कांग्रेसभित्रको गुटबन्दी मिलाउन सकेमा र गठबन्धनको सबै भोट पाउन सकेमा गिरीलाई जित्न सहज छ । अन्यथा वली उनका लागि कडा प्रतिस्पर्धी र भारी पर्न सक्छिन् ।

वलीलाई एमालेभित्रको एकताबद्ध मत र विगतमा गायन तथा सञ्चार क्षेत्रमा काम गर्दा कमाएको जनसम्पर्कको भर छ । एमाले एक्लै निर्वाचनमा होमिएका कारण मत तितरवितर हुँदैन भन्ने बुझाइ छ, जुन तुलसीपुर उपमहानगरपालिकाका हकमा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि देखिएको छ । कांग्रेसभित्रको गुटबन्दी उनका लागि अवसर हुन सक्छ । एमालेभित्रै पनि केही मात्रामा राप्रपाबाट आएर छिटो अवसर पाएको भन्ने गुनासो पनि छ । यसले पनि उनलाई केही असर गर्न सक्छ । पार्टीभित्रको मत एक ठाउँमा ल्याउन र रुष्ट कांग्रेसको मत पाउन नसकेमा वलीका लागि गठबन्धनका उम्मेदवार गिरी भारी पर्न सक्छन् । स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ३ मा पर्ने तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडा एमालेले जितेको छ । बाँकी दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ ।

प्रकाशित : कार्तिक २१, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×