कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानै चुनावी मुद्दासँगै अन्तर्घातको चिन्ता

कमल पन्थी

बर्दिया — दुईपटक प्रतिनिधिसभा सदस्य र ६ महिनाभन्दा बढी सिँचाइमन्त्री भएका सञ्जयकुमार गौतम यसपटक पनि बर्दियामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका छन् । हुन त उनी बर्दियामा हुँदा सदरमुकाम गुलरियामा केन्द्रित नभई बेलाबेलामा आफ्नो चुनाव क्षेत्रबाहेक जिल्लाका अधिकांश मतदाताका घर पुग्ने गरेका छन् ।

पुरानै चुनावी मुद्दासँगै अन्तर्घातको चिन्ता

०७४ को संसदीय निर्वाचनमा तात्कालीन नेकपा एमालेका नेता बामदेव गौतमलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा चर्चा बटुलेका थिए । जिल्ला सभापतिदेखि हाल केन्द्रीय सदस्यसमेत भएका गौतम विगतमा पार्टीभित्र लोकप्रिय नेता हुन् ।

स्थानीय तहको निर्वाचनपछि पार्टी भित्रको किचलोका कारण उनलाई अहिले टाढिएका कार्यकर्ता र नेतालाई नजिक ल्याउने प्रयासमा निकै कसरत गर्नु परेको छ । उनले नाका, किसानका मुद्दा, बेरोजगारीको समस्यालगायत पुरानै चुनावी मुद्दा अघि सारेको पूर्वशिक्षक सुधाखर मिश्रा बताउँछन् । पुरानै मुद्दा कति पूरा भए/नभएको लेखाजोखा मतदाताले गर्ने उनको भनाइ छ । गौतमले उत्तर–दक्षिण सडक निर्माण, बबई तटबन्धका लागि बबई, भादा, ओराही नदी नियन्त्रण व्यवस्था कार्यालय स्थापनालगायत विकास निर्माणको काम गरेको दाबी गरे । उनले यो निर्वाचन जितेमा पहिलो काम नै नाका स्थापनाका लागि पहल गर्ने, जब्दीघाटमा नयाँ पुल निर्माण गर्ने र किसानका समस्या समाधानका लागि पहल गर्ने बताए ।

सत्ता गठबन्धनबाट बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका गौतमका विश्वासपात्र नेविसंघका पूर्वजिल्ला अध्यक्ष सुभाष पोखरेलले पार्टी परित्याग गरी क्षेत्र नम्बर १ (१)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । ०४६ साल फागुन ७ गते पहिलो जनआन्दोलनको समयमा उनले पञ्चायतविरुद्धसमेत प्रदर्शन गरे । उनलाई व्यवस्थाको विरोधमा जुलुस निकालेको भन्दै लामो समय थुनामा राखी मुद्दा चलाइएको थियो । पार्टीले पटकपटक कुनै स्थान नदिएका कारण रुष्ट भई पार्टी छाडेको उनी बताउँछन् । पोखरेलले पार्टीले बीपीको सिद्धान्त त्यागेकाले कांग्रेस त्यागेको बताउँछन् । पोखरेललाई कांग्रेसले सहयोग गर्ने आशंका माओवादी कार्यकर्ताको छ । माओवादीका एक जिल्लास्तरीय नेताले पोखरेललाई कांग्रेसले सहयोग गर्ने आशंका रहेको बताए । उनले उम्मेदवारी दिएकै क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट बारबर्दियाका पूर्वउपप्रमुख अञ्जु दहितले उम्मेदवारी दिएकी छन् ।

बारबर्दिया नगरपालिकाका पूर्वमेयर दुर्गाबहादुर थारुले पोखरेल ०४६ सालको जन आन्दोलनताका कांग्रेसको लोकप्रिय नेता भएकाले आफूहरूले नजिकबाटे नियालेको बताए । गठबन्धनमा भने धोका नहुने विश्वास उनको छ ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई जिल्लाका प्राय: सबैले शालीन व्यक्तिको रुपमा चिन्छन् । पञ्चायतविरोधी आन्दोलनमा करिब ६ वर्ष जेल सजाय भोगेका उनी गुलरियास्थित घर बेचेर अन्यत्र बस्दै आएका छन् ।

जिल्ला छाडेका ज्ञवालीलाई उम्मेदवार बनाएकोमा पार्टीभित्रै पनि विभिन्न व्यक्तिहरू असन्तुष्ट छन् । एमालेबाट समानुपातिक सांसद बनिसकेकी बिना ज्ञवाली उम्मेदवार ज्ञवाली शालीन, क्षमतावान् र विकासप्रेमी व्यक्तित्व भएको बताउँछिन् । उम्मेदवार ज्ञवालीले एमालेको सरकार बने जिल्लाको समस्याका रुपमा रहेको नदी कटान, बाढी रोकथाम, किसानका समस्या, विकास निर्माणलगायत अधुरो योजना पूरा गर्ने बताउँछन् ।

क्षेत्र नम्बर १ बाट भने पहिलोपटक सञ्चारकर्मी ठाकुरसिंह थारु प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका छन् । थारुबाहुल्य बर्दियामा उनले सबै समुदायका पहिचानको मुद्दा अघि सारेका छन् । सुशासन, आत्मसम्मान र समृद्धिको चुनावी मुद्दा रहेको छ । उनले भ्रष्टाचार न्यूनीकरण, युवा बेरोजगारलाई विदेशमा जानबाट रोक लगाई मुलुकमा रोजगारीको पहल गर्ने चुनावी मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवारी दिएका सुरेश पन्थ कोरोनाकालमा बर्दियावासीलाई पुर्‍याएको सहयोगका लागि चर्चित व्यक्ति हुन् । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधरणमा लाखौं मूल्य पर्ने स्वास्थ्य सामग्री नि:शुल्क वितरण गरेका थिए । उनले सामाजिक क्षेत्रमा खुलेर सहयोग गर्दै आएका छन् । पार्टीभित्र भने नेतृत्वले उनलाई उम्मेदवारी बनाएकोमा केहीको असन्तुष्टि रहेको छ । पार्टीभित्र असन्तुष्ट भए पनि उनको साथ भने चुनावी मैदानमा कसैले उनको साथ छाडेका छैनन् । यसपालि पन्थले युवा बेरोजगारलाई जिल्लामै रोजगारी दिने केही योजना अघि सारेका छन् । बाढी र कटानग्रस्त कर्णाली नदी नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न सरकारबाट बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् ।

एमालेबाट उम्मेदवारी दिएका पंकज सिंह राठौर शिक्षण पेशा र निजी व्यवसायमा आबद्ध छन् । पहिलोपटक संसदीय यात्रामा उम्मेदवारी दिएका उनले नदी नियन्त्रण, वन्यजन्तु समस्या समाधान, शिक्षा, स्वास्थ्य, किसानका समस्यालगायत विषयमा चुनावी मुद्दा अघि सारेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र (राप्रपा)का उम्मेदवार विनय रावल कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । उनले केही महिनाअघि कांग्रेस त्याग गरी राप्रपामा प्रवेश गरेका थिए । उनले बर्दियाको सबैभन्दा बढी समस्याका रुपमा रहेको बाढी, नदी कटान र मानव–वन्यजन्तुबीचको द्वन्द्व समाधान गर्ने बताउँछन् । यसबाहेक स्वास्थ्य, शिक्षा, रोजगारी, किसानलाई समयमा मलखाँददेखि पर्यटन उद्योगलाई बढावा दिनेखालका चुनावी मुद्दालाई अघि सारेको उनले बताए ।

नागरिक उन्मुक्ति पार्टीका ६७ वर्षीय लालवीर चौधरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार भएका छन् । उनी पार्टी अध्यक्ष रेशमलाल चौधरीका बुबासमेत हुन् । कैलाली टिकापुर नगरपालिका– १ ब्लक नम्बर २९ घर भएका लालवीरले ०७२ सालमा भएको घटनामा निर्दोष बन्दीको रिहाइको मुद्दालाई अघि सारेका छन् । छोरा रेशमलगायत माथि लगाइएका झुठा मुद्दा खारेज गर्नुपर्ने उनी बताउँछन् । पहिचान, आत्मसम्मानलगायत जिल्लामा रहेको समस्या समाधान गर्ने चुनावी मुद्दा रहेको छ । मेरो घर कैलाली टिकापुरमात्र होइन, जन्मघर र जग्गा बर्दियाको गेरुवा गाउँपालिकामा रहेको छ,’ उनले भने, ‘अन्य समुदायका ठूलाबडाको घर नेपालगन्ज, काठमाडांैलगायत ठाउँमा छ तर उनीहरूको घरको विषयलाई लिएर भने चर्चा हुँदैन ।’

प्रकाशित : कार्तिक २०, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?