१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विष्णु पौडेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

ड्रिम प्रोजेक्टदेखि लुम्बिनी विकास गुरुयोजना समावेश
सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

विष्णु पौडेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता पुन: जनाएका छन् । प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्त्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्य अघि बढाइने छ ।’

प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । पौडेलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायत ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

त्यस्तै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडकसञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वेलगायत पूर्वाधार निर्माण गरिने उल्लेख छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ ।’

यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिबद्धतापत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नति गरिने जनाएका छन् । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ । सो प्रतिबद्धतापत्रमा भनिएको छ, ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ ।’

निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ ।

यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन्, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत् र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ ।

प्रकाशित : कार्तिक २०, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?