कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता खेतमा, प्रचार सामग्री ढोकामा

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१०, अल्गीका रामदुलारे यादव घरको मूल ढोकामा ताल्चा लगाएर खेतमा धान स्याहार्दै थिए । उनको ५ जनाको परिवार नै खेतमा खेतमा भएको थाहा पाएपछि क्षेत्र–२ को प्रचारका लागि गाउँ पुगेका उम्मेदवारले उनको फलामे गेटमा आफ्नो प्रचार सामग्री राखेर फर्किए ।

मतदाता खेतमा, प्रचार सामग्री ढोकामा

क्षेत्र–१ मा पर्ने मायादेवी गाउँपालिका–८, जमुनीकी बडघराइन कुर्मी पनि घरमा ताल्चा झुण्ड्याएर खेतमा धान काट्दै थिइन् । चुनाव प्रचारकले उनलाई नभेटेपछि मूल ढोकामै प्रचार सामग्री झुण्ड्याएर फर्केका थिए । धान पाकेर पहेंलपुर भएपछि अहिले अधिकांश कृषकलाई बाली स्याहार्न भ्याइनभ्याइ छ । उनीहरू बिहानदेखि साँझसम्मै खेतमा हुने गरेका छन् । जमुनीकी बडघराइन कुर्मीले बाली स्याहार नगरे भोकै बस्नु पर्ने बताइन् । ‘उम्मेदवार त पाँच वर्षमा एकपटक मुख देखाउन आउँछन्,’ उनले भनिन्, ‘यहाँ दैनिक हातमुख जोर्न समस्या छ, त्यही भएर चुनावी चटारोभन्दा भोको पेटलाई ध्यान दिनु परेको हो ।’

अहिले नेतालाई मात्र चुनाव लागेको कृषकहरूले गुनासो गरे । ‘नेताहरू तलबभत्ता पाउँछन् । हामीले त यहीं पसिना बगाउने हो,’ मायादेवी–६, भगवानपुरका हजरत अलीले भने, ‘त्यही भएर धान स्याहार्न व्यस्त छौं ।’ गाउँका धेरै मान्छे अहिले खेतमा भेटिने उनले सुनाए ।

किसानहरू खेतमा भेटिन थालेपछि कतिपय उम्मेदवार खेतखलोमै पुगिरहेका पनि छन् । क्षेत्र–२ का कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले महाराजगन्जको हरदौनामा मतदातासँग खेतमै गएर मत मागेको बताए । ‘गाउँलेका घरघर पुगें,’ उनले भने, ‘जनता घरमा नभेटिएपछि ढोकामै प्रचार सामग्री राखेर खेतसम्मै भेट्न पुगें ।’ उनीजस्तै प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका फैजल खान पनि घरसँगै खेतमा गएर मत मागिरहेका छन् । ‘घरभन्दा खेतमा गएर मत माग्दा निकै राम्रो लाग्यो,’ उनले भने, ‘कृषक पनि खुसी हुन्छन् ।’

उम्मेदवार खेतखेतमा पुगेपछि छेउछाउका खेतमा काम गरिरहेका किसान पनि एकै ठाउँ जम्मा हुँदा आफ्ना कुरा राख्न सहज भएको र समयको बचत र प्रभाव राम्रो परिरहेको उनको भनाइ छ । खेत र घरमा नभेटिएका मतदाताको फोन नम्बर पत्ता लगाएर आफूहरूले मत मागिरहेको सत्ता गठबन्धनबाट क्षेत्र–१ का उम्मेदवार माओवादीका चक्रपाणी खनालले बताए ।

क्षेत्र–२ मा एमालेका उम्मेदवार बृजेशकुमार गुप्ताले पनि बुद्धभूमि नगरपालिका–२, बक्डरियाका थारु समुदायसँग खेतमै पुगेर मत मागे । ‘अहिले घरमा कोही भेटिंदैनन्,’ उनले भने, ‘खलोमै पुगेर किसान भेट्ने र मत माग्ने काम गरिरहेको छु ।’

प्रकाशित : कार्तिक १८, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?