कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उद्योगपति चौधरी र पूर्वमन्त्री त्रिपाठी मतदाता रिझाउँदै

नवीन पौडेल

परासी — उद्योगपति विनोदकुमार चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीचको चुनावी प्रतिस्पर्धाले अहिले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । चर्चित उद्योगपति र चर्चित राजनीतिज्ञबीचको चुनावी प्रतिस्पर्धा के हुन्छ भन्नेमा अहिलेको चासो र चर्चा केन्द्रित भएको छ । चौधरी नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा छन् भने त्रिपाठी नेकपा एमालेको सहयोगमा चुनावी प्रचारमा व्यस्त छन् । 

उद्योगपति चौधरी र पूर्वमन्त्री त्रिपाठी मतदाता रिझाउँदै

चौधरी अहिले जिल्लाको दक्षिणी भेगमा गाउँगाउँमा मतदाताको मन जित्न घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । दुवै जना विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको भन्दै सर्वसाधारणको गुनासो सुन्ने र चिनजान गर्ने अभियानमा छन् । सर्वसाधारणसँगै देउसी-भैलो खेल्नेदेखि क्रिकेट खेल्ने र मतदाताको घरमा गएर खाना खाने र चुनावी प्रचार गर्ने गरिरहेका छन् ।

त्रिपाठी यस क्षेत्रका पुराना नेता भएको र पाँचपटकसम्म यसै निर्वाचन क्षेत्रबाट चुनाव जितेकाले एकपटक पुन : जिताउन र अधुरा काम पूरा गर्ने वाचासहित घरदैलोमा पुगिरहेका छन् । २०७० सालको संविधानसभा निर्वाचनबाहेक त्रिपाठीले यस क्षेत्रबाट ५ पटकसम्म चुनाव जितिसकेका छन् । कुनै न कुनै दलसँगको सहकार्य र चुनावी तालमेल गरेर फेरि पनि चुनाव जित्ने दाउमा रहेका त्रिपाठी र गठबन्धनको सहयोगमा पहिलोपल्ट प्रत्यक्ष निर्वाचन लडेका चौधरी जसरी पनि चुनाव आफ्नो पक्षमा पार्न मतदाताकोमा जाने र आफ्नो पाँच वर्षको एजेन्डा प्रस्तुत गर्ने गरिरहेका छन् ।

‘एक जना पाँच-पाँचपटकसम्म चुनाव जितेको नेता र एक जना औद्योगिक क्षेत्रमा सफल व्यक्ति चुनावी मैदानमा छन्‚’ प्रतापपुरका राजेन्द्र कहाँरले भने, ‘त्रिपाठीजीसँग अहिलेसम्म गरेका कामको लगत र चौधरीजीसँग आगामी पाँच वर्षको रोडम्याप मागेर जसको उचित लाग्छ‚ उसैलाई जिताउनुपर्छ ।’

त्रिपाठीले आफ्ना प्रतिस्पर्धी चौधरीलाई धनाढ्य र राजनीतिज्ञबीचको लडाइँ भएको भन्दै असन्तुष्ट कांग्रेसको मन जित्ने कोसिस गरेका छन् भने चौधरीले कृषि तथा भौतिक पूर्वाधार र रोजगारीको मुख्य एजेन्डा बनाएर आफ्ना चुनावी कार्यक्रम गरिरहेका छन् । ‘यो प्रतिस्पर्धा एक राजनीतिज्ञ र धनाढ्य उद्योगपतिबीचको प्रतिस्पर्धा हो । मैले यसरी लिएको छु । हामी राजनीति गर्नेलाई हारजितको भन्दा पनि निष्ठा र राजनीतिक जीवनको एक अध्याय हो भन्ने लाग्छ‚’ जनता प्रगतिशिल पार्टीका अध्यक्ष एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदयेश त्रिपाठीले भने, ‘अहिलेसम्म यसै क्षेत्रका मतदाताले मलाई विश्वास गरेका छन् । यसपटक पनि मलाई विश्वास गर्छन् भन्नेछ ।’

यसअघि एमाले र माओवादी केन्द्रको पार्टी एकता हुँदा सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका त्रिपाठीले कांग्रेसका पुराना नेता देवकरण कलवारलाई पराजित गरेका थिए । त्रिपाठीले ५ हजार १ मतान्तरले जित हासिल गरेका थिए । त्रिपाठीसँग पराजित कलवार अहिले प्रदेशसभामा चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठीका विश्वासपात्र लुम्बिनी प्रदेशका पूर्वमन्त्री अजय शाही र स्थानीय निर्वाचनमा जनता प्रगतिशील पार्टीका तर्फबाट प्रतापपुर गाउँपालिकाका प्रमुख पदका उम्मेदवार करम हुसेनले पार्टी परित्याग गरेकाले त्रिपाठीलाई केही असहज हुने जानकार बताउँछन् ।

यता चौधरीलाई गठबन्धनका साझा उम्मेदवार र उद्योगीको रुपमा सफल नेतृत्व गरेकाले जनताले केही आशा गरे पनि पार्टीभित्रको आन्तरिक किचलो र २०४८ सालदेखि कांग्रेसले एकपटक मात्र चुनाव जितेको क्षेत्र भएकाले चुनौती देखिन्छ । ‘म काम गरेर देखाउने र आफूले दिएका आश्वासन पूरा गर्ने मानिस हुँ । म यस क्षेत्रका जनताको समस्या र यो क्षेत्रको विकासको सम्भावनाबारे अध्ययन गरिरहेको छु‚’ कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीले भने, ‘म पहिलोपटक प्रत्यक्ष चुनाव लडेको भए पनि जनताले मबाट उद्योग क्षेत्रको जस्तै विकास र सुशासनको भएको हेर्न चाहेको मैले महसुस गरेको छ ।आशा छ मलाई यस क्षेत्रका जनताले अनुमोदन गर्ने छन् ।’

स्थानीय चुनावमा क्षेत्र नम्बर १ मा पर्ने सुस्ता, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका नेपाली कांग्रेसले जितेको थियो भने सरावल गाउँपालिका नेकपा एमालेले जितेको थियो ।

प्रकाशित : कार्तिक १३, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?