कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ग्रामीण सडक खुल्न थाले

कान्तिपुर संवाददाता

प्यूठान — लगातारको वर्षापछि अवरुद्ध भएका ग्रामीण सडक खुल्न थालेका छन् । प्रायः दसैंभन्दा अगाडि जिल्लाभित्रका सडक मर्मत गरिन्छ । यस वर्ष लगातार वर्षा भएपछि ग्रामीण सडक मर्मत सम्भव भएको थिएन ।

केही स्थानमा सडक मर्मत गरिए पनि वर्षाले अवरुद्ध भएका थिए । पालिकाभित्रका सबै ग्रामीण सडक एक साताभित्र खुलाउने गरी काम भइरहेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । अवरुद्ध सडक खुलाउने काम धमाधम भइरहेको उनले बताए ।

पालिकाका ८ वटै वडामा अहिले मेसिन सञ्चालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । ‘प्राविधिकसहितको टोली फिल्डमै खटिएको छ,’ उनले भने, ‘तिहारमा गाउँका बाटा सबै सफा हुन्छन् ।’ गाउँपालिकाको रिङरोड पनि सफा हुँदै छ । मरन्ठाना–चुजा–सोलहाल्ना सडक पनि मर्मत भइसकेको र अहिले नियमित गाडी सञ्चालन भइरहेको छ । मंगलबारसम्म वडा नं. ६ का विभिन्न सडक मर्मत गरिएको छ ।

‘वर्षात्पछि केही सडक मात्रै सञ्चालनमा थिए,’ पोखरेलले भने, ‘अहिले धेरैजसोमा गाडी गुड्ने भइसकेका छन्, बाकीमा पनि काम भइरहेको छ ।’ सौतामारे–फेदी, बिड्डाँडा–अर्घाखाँची सडक, आहालखोला–बादीकोट सडक, ढाड–तुसारा सडक र ढाड–टिमुरचौर सडक मर्मत भइसकेका छन् । प्यूठान नगरपालिकाले पनि वर्षातपछि बिग्रिएका सडक मर्मत थालेको छ ।

नगरपालिकाभित्रका १० वटै वडाका ग्रामीण र भित्री सडक मर्मत गर्न थालिएको नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताए । बिजुवार–ढुगेंठाँटी–जुर्मिकाँडा सडक, खर्पेङखोला–माजकोट सडक मर्मत भइसकेको छ । मल्लरानी गाउँपालिकाले पनि अवरुद्ध सडक मर्मत गरिरहेको जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?