कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

पाल्पा झिरुवासमा ४५ घर पहिरोको जोखिममा

माधब अर्याल

पाल्पा — पाल्पाको झिरुवासमा पहिरोले ४५ घर उच्च जोखिममा परेका छन् । निस्दी गाउँपालिका–३, झिरुवास क्याङरुङ्गको डाँडाथरको सिंगो बस्ती नै जोखिममा परेको स्थानीय किसान सारुले जानकारी दिए ।  शुक्रबारदेखि पहिरो खस्न सुरु गरेको र शनिबारसम्म पनि खस्ने क्रम जारी छ ।

पाल्पा झिरुवासमा ४५ घर पहिरोको जोखिममा

निरन्तर पहिरो खस्न थालेपछि ४५ घर परिवार बसोबास गर्ने बस्ती नै जोखिममा परेको सारुले बताए । पहिरोसँगै बस्तीभन्दा तलको ढुङ्गानाबेसी–क्याङरुङ्ग–झिरुवास सडक खण्डको भाग खसेर घरहरु जोखिममा परेको स्थानीय तिलबहादुर सारुले बताए । पहिरोकाे डरले रातभर सुत्न नसकेको उनले बताए । बिहान ३ बजेदेखि डाँडै खस्न थालेको छ । वेग बहादुर पल्ली, रहविर पल्ली, मोतिराम बयम्बु, धनबहादुर बयम्बु , नरबहादुर सोती, देवराज सोती, तिलबहादुर सारु, किसान सारु लगायतको घर पूर्ण जोखिममा परेको छ ।

स्थानीयका अनुसार अहिले पहिरो खसेको स्थानमा गत वर्ष पनि सानो पहिरो खसेको थियोे । बस्तीको अन्य स्थानमा जमिन फाटेको हुनाले डाँडाथर टोल नै पूर्ण जोखिममा रहेको निस्दी–३ का वडाध्यक्ष नविन्द्र थापा सोतीले बताए । स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने र घरहरु खाली गर्ने कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पहिरोले ४५ घर जोखिममा परेको जानकारी आएको बताए । प्रहरी उपरीक्षक जनक बहादुर शाहीको टोली पहिरो गएको स्थानमा पुगेको र तत्काल राहतका लागि पहल गर्ने उनले बताए । पन्तले सबै स्थानीय तहलाई ५० थान त्रिपाल पठाएकाले जोखिममा परेकाको व्यवस्थापन गर्न सहज हुने बताए ।

प्रकाशित : आश्विन २२, २०७९ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?