बाँकेमा बाढी र डुबानबाट ३ हजार ६ सयभन्दा बढी विस्थापित

राप्ती नदीमा आएको बाढीले  धेरै तटीय क्षेत्रमा कटान
जे पाण्डे

नेपालगन्ज — केही दिनदेखिको अविरल वर्षाका कारण बाँकेमा भएको डुबानबाट कम्तीमा ३ हजार ६ सय जना विस्थापित भएका छन् ।  राप्ती नदीमा आएको बाढी शुक्रबार राति राप्ती सोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा त्यहाँका करिब ३ हजार बासिन्दा विस्थापित भएका छन् । 

बाढीले नदीतटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सयभन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । नदीमा आएको बाढी अहिले पनि खतराको सतहभन्दा माथि बगिरहेको छ ।

दुई दिनदेखि विस्थापित भएका कृषि चौफेरिका २ सय ५० जनालाई अझै पनि नेपालगन्जबाट खाद्यान्न पुर्‍याउन सकिएको छैन । डुबानबाट विस्थापित भएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ र २० का ४ सयभन्दा बढी बासिन्दालाई पनि उपमहानरपालिकाले राहत तथा खाद्यान्न उपलब्ध गराएको छैन ।

राप्ती सोनारीसँगै बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था छ ।

नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् ।

प्रकाशित : आश्विन २२, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ? [सूची]

माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने, बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच बाँडफाँट हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

हेर्नुहोस सत्तारुढ गठबन्धनबीच भएको सहमति





प्रकाशित : आश्विन २१, २०७९ २२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×