कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियाका दर्जनौं घर डुबानमा

कमल पन्थी

बर्दिया — तीन दिनदेखि परेको वर्षाले बर्दियाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण जिल्लाका आठवटै पालिकाका दर्जनौं घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।

बर्दियाका दर्जनौं घर डुबानमा

गुलरिया नगरपालिकाको मुक्तिनाथघाट, गणेशपुर, थपुवा, वालापुरलगायत दर्जनौं घर डुबानमा परेको उद्धारमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जिल्लाको बढैयाताल गाउँपालिका- ७, गन्धर्वबस्ती, फुटाहालगायत ठाउँ जलमग्न भएको बताए । उनले यस ठाउँका दर्जनौं परिवारलाई उद्धार गर्न सशस्त्र प्रहरी बललगायत सबै सुरक्षा निकाय परिचालित गरिएको जानकारी दिए । अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

वर्षात्‌सँगै चट्याङ पनि परेका कारण विस्तृत विवरण आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । वर्षा लगातार भइरहेकाले डुबानमा वास्तविक डुबान पीडितको विवरण आउन नसकेको प्रजिअ बास्तोलाले जानकारी दिए ।

पछिल्लो १२ घण्टामा रम्मापुरमा १ सय २० मिलिमिटर पानी परेको छ । धानबालीमा समेत ठूलो क्षति भएको छ । पानीसँगै परेको चट्याङले गर्दा मानिस घर बाहिर निस्किन सकेका छैनन् भने सडक सुनसान छ ।

यसैबीच बिहीबार बाढीले गुलरियाको वालापुर, हरियाली टोल, सूर्यगौढी, थपुवा, मुक्तिनाथघाट, टडुवालगायत ठाउँ प्रभावित पारेको छ । बाढीको सतह केही कम भएपछि अवरोध रहेको गुलरिया नेपालगन्ज हुलाकी सडकमा आवागमन सञ्चालनमा आएको छ ।

प्रकाशित : आश्विन २१, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?