कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी पसेपछि गुलरिया-नेपालगन्ज सडकमा आउजाउ बन्द 

कमल पन्थी

बर्दिया — बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया—नेपालगन्ज सडक खण्ड डुबानमा परेको छ । गुलरिया—११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा जोखिम बढेपछि आउजाउ रोकिएको छ । बाढीले सडक माथि करिब २ फिटभन्दा बढी पानी बगेको छ । 

बाढी पसेपछि गुलरिया-नेपालगन्ज सडकमा आउजाउ बन्द 

पूर्वबाट पश्चिम आउजाउ गर्ने सबै सवारी साधन र मानिसलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले बताए । पहाडी क्षेत्रमा पानी परेकोले बबई उच्च जोखिममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको उनले जनाए ।

बाढीले सयौं बिघा खेतमा लगाइएको धानबाली क्षति पुर्‍याएको स्थानीय शौखत अली गद्दीले बताए । 'गत वर्ष कात्तिक २ गते बाढीले धानबाली क्षति पुर्‍याए पनि सयौं किसानले क्षतिपूर्ति पाएनन्,' उनले भने, 'यस वर्ष पनि उस्तै हुने छ ।'

गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्ने क्रम जारी छ । लगातार पहाडी भूभागमा पानी परेकोले बबइमा जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् । त्रासले यहाँका केही घर परिवार हुलाकी सडकमा त्रिपाल लगाएर बसेकाछन् ।

वालापुरका ५० भन्दा बढी घर सुरक्षित स्थानमा सरेका छन् । पानीको बहाव अझै पनि खतराको चिह्न माथि बगिरहेको छ । बबईमा जलस्तर ६ दशमलव ८ मिटरमाथि बगिरहेको छ । जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको हुन्छ ।

डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालित भएका छन् । सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले धनजनको क्षति नहोस भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको जनाए ।

प्रकाशित : आश्विन २०, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?