कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालगन्जमा रामलीलाको रौनक 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जको मौलिक इतिहास बोकेको रामलीलाले नेपालगन्जमा रौनक थपिएको छ । रात छिप्पिँदै गएपछि रामलीला मैदान भरीभराउ हुन्छन् । स्टेजमा रामलीला मंचन हुँदा बच्चादेखि बुढाबूढीसम्म पलेटी कसेर भुइँमा बस्छन् । चारैतिर चटपटे, चना मिठाइका पसलले बजार पाएका छन् ।

नेपालगन्जमा रामलीलाको रौनक 

केटाकटी भुलाउन पिङ बनेका छन् । बाँकेबगियाको खुला चौरलाई रामलीला मैदान नामकरण गरेर मञ्च निर्माण गरिएको छ।

यसरी आएका नाटयकर्मीहरु स्टेजमा उत्रिएपछि पार्श्वमा बजेको संगीतले माहोल थप रमाइलो बनाइदिन्छ । घटस्थापनादेखि सुरु भएको रामलिलामा वृन्दावनको २१ जनाको टोली नेपालगन्ज आएको छ । जीवन्त कला अर्थात् भगवान श्रीरामको जीवनलीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुति दिइरहेका छन् । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रामलीला मञ्चन यस वर्ष नेपालगन्जमा धुमधामका साथ सुरु भएको हो । रावण भूमिकामा रहेका वृन्दावन विनोद शर्माले २० वर्षदेखि रावको चरित्र प्रदर्शन गरिरहेका छन् । उनी आफूलाई कलाकारभन्दा पात्र एउटा भक्तको रुपमा चिनाउँछन् । उनका लागि रावणको चरित्र भत्तिभावको एउटा पात्र हो । उनले रावणको चरित्रलाई आममानिसले अझै बुझ्न नसकेको बताए । ‘रावण अहंकारी थिए । क्रोधी थिए । तर अरुका लागि हानीकारक थिएनन्,’उनले भने, 'रामले रावणलाई मारेर विजयी प्राप्त गरेका होइनन् । रावणलाइ मोक्ष दिएका हुन् । मोक्ष पाएर रावण आफ्नो इच्छामा विजयी पाएका हुन् । भगवानसँगको विरता शत्रुता होइन ।’

रामलीलामा रावणको चरित्रविपरीत भूमिका निभाइरहेका रावणका गुरु भाइ बाडासोक निरज भारतध्वजले रामको भत्ति भाव प्रस्तुत गरेका छन् । भगवानलाई पाउन भक्तिभाव प्रस्तुत गरिरहेका उनले आफ्नो चरित्र एउटा पेसामात्र नभएर भक्तिभाव प्रस्तुत गर्ने माध्यम भएको बताए । ‘यो हाम्रो लागि काम पेसा होइन भगवानसँग समिप हुने अवसरमात्र हो ।’ हामी एउटा मर्यादा पुरुष रामको चरित्रलाई सबैसामु पस्कन खोजिरहेका छौं,’उनले भने, ‘हामी मनोरञ्जन दिन होइन । सबैको मनमा भगवानलाई बसाउन मनोरञ्जन दिन आएका हौं ।’

श्रीराम एउटा आस्था पुञ्जमात्रै होइन, युगपुरुषका रुपमा पुज्य धार्मिक केन्द्र मानिन्छ । तिनै युगपुरुष पुरुषोत्तम भगवान् श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानवजीवनलाई कर्तव्यबोध गराउन नेपालगन्जमा झण्डै डेढ सय वर्षदेखि एउटा अद्भूत कला प्रस्तुत हुँदै आएको हो । ‘धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ । कुन व्यक्तिले कुन धार्मिक केन्द्रमा आस्था राख्ने स्वतन्त्रता स्वयंमा हुन्छ ।’अवधि सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष अवधी साहित्यकार बिष्णु कुमालले भने,‘रामलिलाले, एउटा अटुट आस्थाको जीवन पद्धतिलाई बाँधेर राखेको छ जसले परिवार भित्रको सद्भाव कायम राख्न पनि मद्दत पुर्‍याउँछ ।’

रामलिला आयोजना गर्न मुलुककै पहिलो नागरिक संस्थाका रुपमा रामलिला सञ्चालक समितिले ऐहासिक विरासत थामिरहेको छ नेपालगन्जले। सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपालीमाझ जति परिचित छ, त्योभन्दा कयौं गुना भारतीयहरुबीच लोकप्रिय छ ।

भारतको उत्तर प्रदेशबाट लाखौं श्रद्धालुहरु यस अवधिमा रामलिला दर्शनका लागि आउने गर्छन् । उत्तर प्रदेशको बहराइच श्रावस्ती लखिमपुर खिरिसम्मबाट रामलीला हेर्न आउनेहरुको घुइँचो हुन्छ । रुपहिडिया बजारबाट रिक्सामा भरिएर आएका रामु शुक्ला परिवारसहित शुक्रबार रामलिला हेर्न आएको बताए । ‘नजिकै रामलीला भइरहेपछि हेर्न नआउने कुरा भएन,’उनले भने,‘घुम्न र रामलीला हेर्न आएका हौं ।’

रामलीलाका लागि भारत वृन्दावनबाट निम्त्याइएका दुई दर्जन कलाकारको टोलीले रामायणको दैनिक कला प्रस्तुत गर्ने गरेका छन् । सात्विक दिनचर्याबाट अनुबन्धित कलाकारहरुलाई साक्षात भगवान श्रीराम, माताश्री सीता मानेर खुट्टा धुने ढोक्नेजस्ता आस्था प्रकट गर्न श्रद्धालुहरुको भिड लाग्ने नेपालगन्जको रामलीला मैदानमा निर्मित मञ्चमा तिनै युगपुरुषको युग फर्किएको प्रतित हुन्छ । यसका लागि करिब १४ लाख रुपैयाँ खर्च लाग्छ । उक्त रकम स्थानीयले जोहो गरेका छन् । पुर्खाको संस्कारलाई आफ्नै खर्चमा जोगाउन सफल छन्  ।

भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्यरूपमा प्रस्तुत गरिएको छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ । सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दसैंभरि सहरमा रामलीलाको रौनक हुन्छ ।

स्थानीयको सहयोगमा परम्परा जोगिएको हो । दसैंको अवसरमा समुदायमा सकारात्मक सन्देशको प्रचारप्रसार गर्न र रामराज्यको अनुभूति दिलाउन उनीहरूले निरन्तरता दिएको बताए । भारतमा रामलीलाको मञ्चन सन् १६४० मा सुरु भएको जानकार बताउँछन् । यहाँ निरन्तरता पाएको डेढ सय वर्षभन्दा बढी भयो ।

‘रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुवात गरेका हुन्,’ रामलीला सञ्चालक समितिका अध्यक्ष श्यामसुन्दर कनौडियाले भने, ‘रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ । रामलीलाले एउटा सकारात्मक सन्देश दिन्छ ।’

जनकपुरमा पनि कलाकारको टोली रहे पनि भाषाका कारण भारतबाटै कलाकारको टोली ल्याउने गरिएको हो । एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चनको एक सय ५३ र एक सय ५४औ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो । यहाँ रामलीला मैदानमा राति ८ बजेदेखि १२ बजेसम्म मञ्चन गरिन्छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नयाँ पुस्तालाई विकृतिबाट बचाउन रामलीलाको महत्व बढेको बताए । सकारात्मक सन्देश समाजमा फैलाउन दसैंका अवसरमा रामलीला आयोजना गर्दै आएको उनले जनाए । ‘रामलीलाले दाजुभाइको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने दर्शाएको छ । परिवारिक सम्बन्ध, जनताप्रति शासकले गर्नुपर्ने व्यवहार सिकाउँछ,’ उनले भने, ‘अन्याय अत्याचार गर्नेले भोग्नुपर्ने नियतिको पाठ सिकाउँछ ।’

१४ लाखको लगानीमा सुरु गरीएको रामलीला मञ्चनका लागि जनसमुदायबाट पैसा संकलन गरेर खर्च व्यवस्थापन गरिँदै आएको छ । रामलीला मञ्चनका लागि आएको टोलीले मात्र ६ लाख रुपैयाँ पारिश्रमीक लिने गरेको छ । सोमबारदेखि सुरु भएको रामलीला ११ दिनसम्म देखाइन्छ ।


प्रकाशित : आश्विन १८, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?