पाल्पाको भुवनपोखरीमा जिप दुर्घटना, ४ जना घाइते

पाल्पा — पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, भुवनपोखरीस्थित गोखुंगामा मंगलबार भएको जिप दुर्घटनामा ४ जना घाइते भएका छन् ।

रैनादेवी मन्दिर रहेको गोखुंगामा भुवनपोखरीको छचुवाबाट नवमी पूजा गर्न पन्चबलीको सामग्रीसहित मन्दिरतर्फ गएको लु १ ज २५८३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भुवनपोखरी छचुवाका दुर्गाबहादुर कुमाल, सरिता कुमाल साथै भुवनपोखरी अमिलेका रितिक परियार, सुनिल परियार घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
दुर्घटना हुनासाथ तत्काल स्थानीयको सहयोगमा उद्धार गरी घाइतेलाई तानसेन पठाइएको रैनादेवीछहरा–३ का वडाध्यक्ष प्रदीप पौडेलले जानकारी दिए । उकालोमा पछाडि हटेर जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिपमा १६ यात्रु रहे पनि अन्यलाई केही नभएको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : आश्विन १८, २०७९ १७:२०