१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

पाल्पाका शक्तिपीठमा घुइँचो

माधव अर्याल

पाल्पा — पाल्पाका शक्तिपीठमा महाअष्टमीका अवसरमा सोमबार घुइँचो लागेको छ । दुर्गा भवानीको पूजाआराधना गर्न बिहानैदेखि पाल्पाका देवीका मन्दिर, कोतघर र शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । 

पाल्पाका शक्तिपीठमा घुइँचो

पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा वर्ष दिनकै सबैभन्दा धेरै श्रद्धालुको भीड लागेको छ । हरेक वर्ष नवरात्रीको महाअष्टमी र नवमीकाका दिनमा बिहानैदेखि श्रद्धालुको भीड लाग्ने गर्छ । दुई दिनमा ४० हजारभन्दा बढी श्रद्धालुले दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोविन्द पोखरेलले जानकारी दिए । यहाँ पूजाआजा गर्नुका साथै बोका, राँगो, कुखुरालगायत बलि दिनेको पनि अष्टमीका दिन भीड लाग्छ । भैरवस्थानमा मात्रै ५ सयभन्दा बढी बलि दिइन्छ । भैरवस्थानमा घटस्थापनादेखि नै पूजाआजा गर्ने र बलि दिनेको भीड लाग्छ ।

पूजाआजा गर्न र बलीदिनका लागि श्रद्धालुहरु बिहानै शक्तिपीठमा पुगेका छन् । घर घरमा समेत महाअष्टमी अर्थात् कालरात्रिको पूजा गरिएको छ । पाल्पाका ५० भन्दा बढी कोतघरमा पूजाआजा गर्ने, बली दिने, अष्टमीकै दिनमा कालरात्री मनाउने परम्परा पनि छ । रामपुर नगरपालिका–९, का गोपाल काफ्लेका अनुसार कालरात्रिका अवसरमा रमाइलो गर्ने र हातहतियारसहित वाख्वाई खेल्ने परम्परा छ ।

महाअष्टमीका अवसरमा तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा पनि बलि दिने र मन्दिर दर्शन गर्नेको भीड लागेको छ । पाल्पाकै ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, कोलडाँडाको सत्यवतीमा श्रद्धालु भक्तजनको घइँचो लागेको छ ।

पाल्पाका दुर्गामन्दिर साथै कोतघरमा समेत पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । मुझुङ्गको कालिका मन्दिर, छहरा, खालीवनको जब्गादी, सिलुवा, बीरकोट, गल्धा, ज्यामिरे, अर्चलेलगायत गाउँमा रहेका कोतघर र देवीको मन्दिरमा समेत अष्टमीका अवसरमा भीड लागेको छ ।

प्रकाशित : आश्विन १७, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?