रुपन्देहीमा पढ्न नपाएका छोरीहरूलाई आवासीय सुविधासहित नि:शुल्क पढाइने- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा पढ्न नपाएका छोरीहरूलाई आवासीय सुविधासहित नि:शुल्क पढाइने

अमृता अनमोल

बुटवल — रुपन्देहीमा हिंसा, भेदभाव, गरिबी र विकटताका कारण पढ्न नपाएका छोरीहरूलाई निःशुल्क पढाउने कार्यक्रम सुरु भएको छ ।पढाइबाट वन्चित छोरीहरूलाई पढाइको अवसर जुटाइदिने र लैंगिक विभेद अन्त्य गर्ने भन्दै खेमओमी पुन कल्याणकारी प्रतिष्ठानले काम थालेको हो ।

जसअन्तर्गत पढ्ने उमेरमा विद्यालय जान नपाएका, बिचमै पढाइ छाडेका र गरिबीका कारण पढाइ छाड्ने अवस्थामा पुगेका छोरीहरूलाई निःशुल्क आवासीय सुविधासहित पढाइने छ । विद्यालय शिक्षा र सीपमूलक तालिम दुवैको माध्यमबाट उनीहरू आत्मनिर्भर भएपछि मात्रै उनीहरूलाई परिवारमा पठाइने वा पुनःस्थापित गरिने अध्यक्ष ओमीकला पुनले बताइन् ।

विपद्‌मा परेका छोरीहरूलाई आवासीय शिक्षा दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ऋगेश्वर धाम परिसरमा भवन निर्माण कार्य सुरु भएको छ । घटस्थापनाको अवसर पारेर बालिका छात्रावास भवन निर्माण थालिएको हो । छात्रावास निर्माणको प्रारम्भिक काम सकेर मंसिर १७ सम्ममा पढाउने काम सुरु हुने अध्यक्ष ओमीकला पुनले बताइन् ।

विपन्नको शिक्षा र व्यवस्थापनमा सघाउँदै आएका बुटवलका व्यवसायी तथा समाजसेवी खेम पुनले विपन्न छोरीहरूलाई पढाउन यस्तो योजना ल्याएका थिए । त्यसका लागि खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका हुन् । यद्यपि ६० वर्षीय पुनको गत वर्ष मस्तिष्कघातका कारण मृत्यु भएको छ ।

गुल्मीको भार्सेमा जन्मिएर बुटवलमा औषधि व्यवसाय गर्ने खेमराज पुन र उनकी पत्नी ओमीकलाले आत्मशान्ति र पुण्यका लागि भन्दै आफ्नो कमाइको एक चौथाइ रकम जम्मा गरेर खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका थिए । पढाइमा तेज भए पनि आर्थिक अभावले गर्दा पढाइबाट वञ्चित भएका विद्यार्थीहरूलाई कोषमार्फत छात्रवृत्ति प्रदान गरिँदै आएको छ । अब उक्त कोषबाट छोरीहरूलाई आवासीय शिक्षा दिइने छ ।

प्रकाशित : आश्विन १०, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकताविहीन जनता सिमकार्ड लिनदेखि हवाई जहाज चढ्न वञ्चित छन् : गृहमन्त्री खाँण 

सन्जु पौडेल

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासनका लागि हरेक नागरिकले अधिकार पाउनुपर्ने बताएका छन् । तर, अहिले नागरिक आफ्नो भूगोलमा अनागरिक हुने सिर्जना भएको उनको भनाइ थियो । 

रिपोर्टस क्लब लुम्बिनी प्रदेशको पाँचौं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लाखौं नेपाली नागरिकता नपाउँदा उनीहरु विभिन्न सेवाबाट वञ्चित हुनु परेको बताए । नागरिकताविहीन नागरिक मोबाइलको सिमकार्ड लिनदेखि हवाई जहाज चढ्न वञ्चित रहेको उनले उल्लेख गरे । ‘आज नागरिकता नपाएर समस्यामा परेका सयौं व्यक्तिले मलाई प्रश्न गरिरहेका छन्,’ उनले भने, ‘यस्तो हृदयबिदारक अवस्थाको मैले जवाफ दिनु परिरहेको छ ।’ गृहमन्त्री खाँणले संविधान पालना गर्नुपर्ने व्यक्तिबाट संविधान अतिक्रमणमा पर्नु दुखदायी अवस्था भएको बताए ।

यसरी संविधान अतिक्रमण हुन थालेपछि कसरी मुलुकमा सुशासन कायम गर्न सकिन्छ ? उनले प्रश्न गरे । एमाले नेतृत्वको सरकारले जारी गरेको अध्यादेशलाई नै विद्येयकका रुपमा अगाडि बढाएको उनले प्रस्ट्याए । ‘संसद्‌मा छलफलका क्रममा धेरै कुरा संविधान संशोधन गर्नुपर्ने उठे, कति नागरिकता ऐनमा सम्बोधन गर्नुपर्ने उठे,’ उनले भने, ‘त्यसैले संविधानमा हामीले गरेको कुनै पनि नागरिक नागरिकताबाट वन्चित हुने छैन भन्ने प्रतिबद्धता पूरा गर्न विधेयक जारी गरेका हौं ।’

कार्यक्रममा लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे । आगामी दिनमा वर्तमान सरकारले यसलाई चिर्न सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७९ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×