कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना

माधव ढुंगाना

भैरहवा — नजिकिँदै गरेका चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै रुपन्देही प्रहरीले रुपन्देही जिल्लाभर ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०७९’ लागू गरेको छ ।

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना

चाडपर्वको समयमा धेरै भीडभाड हुने र त्यसको मौका छोपी चोरी, लुटपाट लगायत विभिन्न आपराधिक क्रियाकलाप, जबर्जस्ती चन्दा संकलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुने सम्भावना बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ ।

रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले चाडपर्वका बेला सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरुप सुरक्षा रणनीति अपनाइएको बताए ।

‘सम्भावित गतिविधि तथा घटना नियन्त्रण गर्न र यात्रुलाई तत्कालै सुरक्षा दिन प्रहरी सचेत र तयारी अवस्थामा छ,’ आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा योजनाबारे जानकारी गराउँदै रेग्मीले भने, ‘चाडपर्वका बेला सुरक्षा प्रक्रिया प्रभावकारी बनाउन अन्य बेलामा भन्दा २० प्रतिशत धेरै सुरक्षाकर्मीको परिचालन गरेका छौं ।’

उनका अनुसार चाडपर्वका बेला कार्यालयको सुरक्षा प्रयोजन बाहेक पूर्वसुरक्षाकर्मीलाई ड्युटीमा खटाइएको छ । जिल्लाभर प्रहरी अधिकृतहरू समेत गरी १ हजार २ सय ४८ जना प्रहरीको परिचालन गरिएको छ । धेरै भीड हुने तथा यात्रुको धेरै आवागमन हुने सुनौली नाकाको बेलहिया, भैरहवा बसपार्क र बुटवलस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ को स्थापना गरिएको छ ।

यात्रु सहायता कक्षमा २४ सै घण्टा प्रहरी उपलब्ध हुने बताइएको छ । समस्यामा परेको कुनै पनि यात्रुले प्रहरीको सहयोग लिन सक्ने प्रहरीले जनाएको छ ।

यस क्रममा नियमित तथा आकस्मिक प्रहरी जाँच, भिगरेस चेकिङ, ओभर स्पिड, ओभरलोड चेकिङ, सीमा क्षेत्रमा कडा जाँच गर्नुका साथै पटका आतसबाजीको प्रयोग तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित : आश्विन ९, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?