खेल सामग्रीबिनै तयारी


दाङ — इँटा समाएर सुटिङको अभ्यास । सुन्दै अचम्म लाग्ने खेलको अभ्यासमा छन् तुलसीपुर उपमहानगरपालिका–६ का शंकर गौतम । ११ कक्षामा अध्ययनरत उनी एक महिनादेखि सुटिङ खेलको अभ्यासमा छन् तर उनको साथमा बन्दुक छैन । इँटालाई बन्दुक मानेर नवौं राष्ट्रिय खेलकुदको तयारी गरिरहेका हुन् ।


बन्दुक र पेस्तोल अभावमा गौतमजस्ता १२ जना खेलाडी इँटाको निसाना लगाएर गोली हान्ने अभ्यास गरिरहेका छन् । ‘अहिलेसम्म बन्दुक पड्काउन पाएको छैन । बन्दुक कसरी समाउने भन्ने मात्रै सिकेको छु,’ पहिलोपटक सुटिङ खेलमा प्रवेश गरेका गौतमले भने, ‘यसकै भरमा नवौं राष्ट्रिय खेलकुदको छनोटमा सहभागी हुँदै छु ।’
गौतमजस्तै तुलसीपुरकै १२ कक्षामा अध्ययनरत शर्मिला कुँवर, विमला विष्ट र ओपेन्द्र खत्री पनि पहिलोपटक सुटिङ खेलमा प्रवेश गरेका छन् । एक महिनासम्म अभ्यास गर्दा पनि उनीहरूले बन्दुक पड्काउन पाएका छैनन् । एकपटक पनि बन्दुक नपड्काई राष्ट्रिय खेलकुदको तयारी गर्नुपरेको विष्टले बताइन् । ‘पहिलोपटक बन्दुक पड्कँदा डराइन्छ होला, तर्सन्छु होला भन्ने लागेको छ,’ उनले भनिन्, ‘जे त होला भनेर खेलमा होमिएका छौं । हतियार नभएपछि के गर्नू ?’
दाङ सुटिङमा राम्रो सम्भावना भएको जिल्ला हो । आठौं राष्ट्रिय खेलकुदमा तुलसीपुरका अर्नव घिमिरेले एकल स्वर्णपदक जितेका थिए । सातौंमा अर्नवका साथै पवन घिमिरेको टिमले स्वर्ण पदक जितेको थियो । छैटौं राष्ट्रिय खेलकुदमा वसन्ती केसीले एकल कास्य र समूहमा रजत पदक जितेकी थिइन् । अर्नवले १३ औं साफ खेल खेलेका छन् । पवनले १२ औं साफ खेल खेलेका छन् । ‘नयाँ खेलाडीहरू पनि त्यत्तिकै आउन खोजिरहेका छन् तर हतियार नभएपछि खिन्न भएर फर्किन्छन्,’ सुटिङ संघका जिल्ला अध्यक्ष केशव चौधरीले भने ।
आइतबारदेखि नेपालगन्जमा नवौं राष्ट्रिय खेलकुदको लुम्बिनी प्रदेश स्तरीय छनोट खेल सुरु हुँदै छ । चौधरी ६ महिला र ६ पुरुष खेलाडी लिएर जाँदैछन् । १२ खेलाडीमध्ये चार जना नयाँ छन्, जसले अहिलेसम्म एकपटक पनि बन्दुक पड्काउन पाएका छैनन् । ‘हतियार नभए पनि खेलको तयारी गर्नैपर्यो । केन्द्रसँग जति माग गर्दा पनि पाइएन । अरु विकल्प भएन,’ उनले भने । पुराना खेलाडीको समेत अवस्था बिग्रे वा सुध्रेको थाहा हुन नसकेको आठौं खेलकुदका स्वर्णपदक विजेता अर्नव घिमिरेले बताए । ‘हाम्रो अवस्थासमेत बिग्रिएको छ कि के छ केही थाहा छैन । गोली नहानी राम्रो नतिजा ल्याउन सकिँदैन,’ उनले भने ।
इँटाले बन्दुकको भार थाम्न मात्र सघाउने अग्रज खेलाडी वसन्ती केसीले बताइन् । सुटिङ संघ केन्द्रीय समितिले दाङलाई एउटा यर राइफल दिए पनि आठौं राष्ट्रिय खेलकुदको अभ्यास गर्दा गर्दै बिग्रिएको केसीले बताइन् । जिल्लामा सुटिङ संघको कार्यालय र खेल्ने ठाउँ पनि छैन । तुलसीपुर–६ जयभगवती टोलस्थित खेलाडी जानकी रोकाको घरमा अभ्यास गरिएको छ ।
प्रकाशित : आश्विन ९, २०७९ ०९:००