कागतीको गुलियो व्यापार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कागतीको गुलियो व्यापार

तीनै सरकारद्वारा ५० प्रतिशतसम्म अनुदानमा बिरूवा वितरण, पाल्पामा मात्रै ४० हजार बढी बिरूवा हुर्कंदै
माधव अर्याल

पाल्पा — अमिलो कागतीको गुलियो व्यापारभन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर, पहाडी जिल्ला पाल्पामा पछिल्लो समयमा त्यस्तै देखिएको छ । किसानले कागती खेती गरेर राम्रो आम्दानी गर्न थालेका हुन् । तिनाउ गाउँपालिका–६ मस्यामकी व्यावसायिक किसान गोमा भण्डारीले कागती खेती गरेर वार्षिक १४ लाख कमाइ गर्छिन् ।

२०७० सालमा धनकुटाबाट ल्याएको कागतीको बिरुवाबाट कलमी गरेर खेती गर्दै आएकी उनले खेतमा अहिले ४ सय बोट पुगेको सुनाइन् ।

तीन वर्षमै फल दिने कागतीबाट मात्र वार्षिक १० लाख रुपैयाँ आम्दानी भइरहेको उनको भनाइ छ । नर्सरी बनाएर बिरुवा बिक्री गर्दा थप ४ लाख कमाइ हुने गरेको उनले बताइन् । बगैंचा व्यवस्थापन, रोगकिराबाट जोगाउने, मल, पानी राम्रो दिने हो भने कागतीबाट राम्रो कमाइ हुने उनको अनुभव छ । ‘पहिलो र दोस्रो वर्ष कमाइ हुँदैन,’ उनले भनिन्, ‘त्यसपछि भने प्रत्येक वर्ष आम्दानी वृद्धि हुँदै जान्छ । मुख्य कुरा भनेको कागतीलाई मल, पानी मिलाएर दिनुपर्छ ।’

उनको अनुभवमा हरेक वर्ष दोब्बर उत्पादन लिन सकिन्छ । यसलाई मल, पानी राम्रो दिनुपर्छ । एक वर्षमा ९ महिनाभन्दा बढी समय फल दिएको उनले बताइन् । मकै, तोरी, गहुँ लगाउने बारीमा अहिले कागतीले ढाकिएको छ । यसबाट राम्रो कमाइ भएपछि सिकाइ केन्द्रजस्तै बनेको छ । उनका श्रीमान् हुमनाथ भण्डारीले २२ वर्ष विद्यालयमा पढाए । तर, त्यसबाट पटक्कै चित्त बुझेन । उनले तीन वर्ष भयो, यही कागती खेतीलाई मुख्य पेसा बनाएको । ‘मैले लामो समय विद्यालय पढाएँ,’ उनले भने, ‘तर, अहिले मलाई कागती खेती गर्दा छुट्टै सन्तुष्टि मिलेको छ ।’

तराईदेखि मध्यपहाडी भेगमा कागतीको उत्पादन हुन्छ । यसको व्यावसायिक खेती गर्ने किसान भने कम छन् । अझै पनि व्यावसायिक खेती गर्नेको संख्या न्यून छ । विगतमा व्यावसायिक र व्यवस्थित बगैंचाको कमीले उत्पादन बढ्न सकेको थिएन । स्थानीय तह, संघीय र प्रदेश सरकारले सरकारी अनुदानमा बिरुवा वितरण थालेपछि कागती लगाउने किसान बढेको कृषि ज्ञान केन्द्रका प्राविधिक मिलन गैरेले जानकारी दिए । पाल्पामा ९ वर्षअघि सुरु भएको कागती खेती अहिले विस्तार भएर ४० हजारभन्दा बढी बिरुवा हुर्किसकेको उनको भनाइ छ ।

कागतीबाट राम्रो कमाइ हुने देखेर स्थानीय तहले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरेका छन् । जिल्लाको मस्याममा मात्रै १५ हजार बढी कागतीका बिरुवा किसानले लगाएका छन् । ज्ञान केन्द्रले कागती मिसन कार्यक्रम नै सञ्चालन गरेको छ । यसबाट अहिलेसम्म १० हजार बढी बिरुवा वितरण गरिसकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि ५ सय बढी कागतीका बिरुवा यस वर्ष लगाएका छन् ।

रैनादेवी छहरा, तानसेन नगरपालिका, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिकाले पनि १५ हजार बढी कागतीका बिरुवा वितरण गरेका छन् । पूर्वखोला, निस्दी गाउँपालिकामा पनि कागती वितरण भएको छ । ‘कतिपय विपन्न परिवारका लागि निःशुल्क पनि दिइएको छ,’ रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए । संघीय, प्रदेश र स्थानीय तहले कागती प्रवर्द्धन कार्यक्रम सुरु गरेपछि किसानमा हौसला बढेको तानसेन नगरपालिका–१ नारायणडाँडाका सन्तोष बस्यालले बताए । ‘यस वर्ष २ सय बढी कागतीका बिरुवा लगाएको छु,’ उनले भने, ‘मल्चिङसहित लगाएको कागती राम्रो हुर्केको छ ।’

कतिपय सरकारी निकायले कागतीका बिरुवाको ढुवानीमा अनुदान दिएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), हेफर प्रोजेक्ट नेपाललगायतका संघसंस्थाले पनि अनुदानमा कागतीका बिरुवा वितरण गरेका छन् । सार्वजनिक तथा निजी जग्गामा पछिल्लो समयमा खेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ । अनुदानले गर्दार् किसानमा खाल्डा खन्ने, मल–पानीको जोहो गर्न हौसलासमेत मिलेको किसान बस्यालले बताए ।

अघिल्लो आर्थिक वर्षदेखि स्थानीय तहले मात्र नभएर जिल्लामा संघीय र प्रदेश सरकारका कार्यालयले पनि बिरुवामा ५० प्रतिशत अनुदान दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत दीपक भट्टराईका अनुसार सरकारले सञ्चालन गरेको कागती मिसन कार्यक्रमबाट पनि बिरुवा लगाउने र हुर्काउने काम भइरहेको छ ।

कागती प्रतिगोटा सरदर १० रुपैयाँमा बिक्री हुन्छ । यसको उत्पादन बढाए किसानलाई नै फाइदा पुग्ने भएकाले पनि उत्पादन वृद्धि गराउनुपर्ने ज्ञान केन्द्र प्रमुख कामना अधिकारीले बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तानसेनमा १ हजार ६ सय, बगनासकालीमा ७ सय ६०, रैनादेवी छहरा गाउँपालिका र रामपुर नगरपालिकामा चार/चार सय, निस्दी गाउँपालिकामा २ सय कागतीका बिरुवा वितरण गरिएको छ ।

हरेक वर्ष माग बढ्ने कागतीको आयात प्रतिस्थापन गर्न उत्पादन बढाउने नै हो । उत्पादन बढाउन कृषि तथा पशुपक्षी मन्त्रालयले राष्ट्रिय फलफूल विकास केन्द्रमार्फत कागती प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि तयार गरेर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि आएको चार वर्ष भइसकेको छ । क्षेत्र विस्तार तथा पुराना बगैंचाको पुनर्ताजगी गरी उत्पादन र उत्पादकत्व बढाएर किसानको आयस्तरमा सुधार ल्याउन सकिने कृषि ज्ञान केन्द्रकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताइन् ।

१० जिल्ला पकेट क्षेत्र

सरकारले काभ्रे, भोजपुर, डडेलधुरालगायत १० जिल्लालाई कागतीको पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्र घोषणा गरेका जिल्लामा बिरुवा वितरण गरेको हो । हालसम्म २८ वटा स्थानीय तहका ४२ सय हेक्टर क्षेत्रफलमा १ लाख वटाभन्दा बढी कागतीका बिरुवा वितरण भएको कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितले जानकारी दिइन् ।

नेपालका धेरै जिल्लामा कागती खेती गर्न सकिन्छ । तर, मुलुकमा कागती आयातमा निर्भर हुनुपरेको कृषि विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ८० करोडको कागती आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा ९१ करोड रुपैयाँको कागती आयात भएको छ । संघ, प्रदेश र स्थानीय तहले कागती तथा फलफूललाई उच्च प्राथमिकतामा राख्ने हो भने वार्षिक करोडौं रुपैयाँको कागती आयात रोकिने उनले बताइन् । यति मात्रै नभएर मुलुकबाट कागती निर्यात पनि गर्न सकिने प्रशस्तै सम्भावना रहेको उनले बताइन् ।

प्रकाशित : आश्विन ७, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

भैरहवाबाट कार्गो बढाउन जोड

कान्तिपुर संवाददाता

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो आयात–निर्यात बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा कार्गोको आयात–निर्यातका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु र मालसामानको चाप बढेकाले असहज भएको कार्गो ढुवानी व्यवसायीले बताए । 

कार्गो आयात–निर्यात बढाउन गौतम बुद्ध विमानस्थलमा सबै पूर्वाधार उपलब्ध रहेको र कार्गो सञ्चालनका लागि धेरै सम्भावना रहेको कार्गो व्यवसायीको साझा संस्था नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले बताए । ‘त्रिभुवन विमानस्थलबाट मात्र कार्गो सञ्चालन गरिँदा मुलुकको पश्चिमी र दूरदराज क्षेत्रका मालसामानको ढुवानीमा लागत बढी लाग्ने गरेको छ,’ अधिकारीले भने, ‘पश्चिमी क्षेत्रको जडीबुटी, औद्योगिक उत्पादनदेखि कृषि उपजको समुद्रपारका मुलुकमा यस विमानस्थलबाट कार्गो सञ्चालन गर्न धेरै सम्भावना र प्रभावकारी छ ।’

एसोसिएसनले नेपालबाट विभिन्न मुलुकका लागि हुने कार्गो व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिनियम बनाउन राय सुझाव दिने र सहजीकरण गर्ने गरेको छ । गौतम बुद्ध विमानस्थलबाट कार्गो आयात–निर्यात बढाउन सरोकारवाला निकायसँग छलफल गर्दै पहलकदमी थालेको एसोसिएसनका सचिव ईश्वर गुरुङले जनाए । उद्यमी, व्यवसायी, ढुवानी व्यवसायी, भन्सार एजेन्ट महासंघ, विमानस्थलका कर्मचारी, सुरक्षा निकाय, भन्सार कर्मचारी, उद्योग वाणिज्य महासंघलगायतसँग संवाद भइरहेको उनले बताए ।

गौतम बुद्ध विमानस्थलको कार्गो गोदाममा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पूर्वाधार र प्रयोगशाला सेवा उपलब्ध गराइनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बताए । ‘कृषिजन्य उपज र मासुजन्य वस्तुको निर्यात गर्न सकिने धेरै सम्भावना र अवसर छन् । तर, यसका लागि ती वस्तुको स्वास्थ्य परीक्षण गर्न प्रयोगशाला अनिवार्य हुन्छ,’ कसजूले भने, ‘ताकि यहाँबाट कार्गो गरी निर्यात गरिएका वस्तु विदेशबाट गुणस्तरहीन भनेर नफर्कियोस् ।’

निर्यात गर्न बढी सम्भावना भएका वस्तुको पहिचान गरी कार्गो सञ्चालन गर्दा लाग्ने कर तथा महसुलमा विशेष सहुलियत दिन महिला उद्यमी ज्ञानु पौडेलको माग छ । विमानस्थलको कार्गो भवनको निर्माण ९५ प्रतिशत सकिएको र कार्गो गरिने सामानलाई उपयुक्त तापक्रममा राख्ने व्यवस्था भइरहेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जनाए ।

प्रकाशित : आश्विन ७, २०७९ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×