कोहलपुरमा १० तोला सुन र दुई लाख रूपैयाँ लुटपाट

नेपालगन्ज — बन्दुकधारीको एक समूहले कोहलपुरका एक स्थानीयको घरबाट १० तोला सुन र दुई लाख रुपैयाँ रुपैयाँ लुटपाट गरेको छ ।
बुधबार मध्य रातमा उक्त समूहले कोहलपुर नगरपालिका ८ का विरेन्द्रजंग शाहीको घरबाट १० तोला सुनसहित नगद साढे २ लाख बढी लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटबारे प्रहरीलाई जानकारी गराउन खोज्दा उक्त समूहले मोबाइल पनि लुटेर लगेको पीडितले जनाएका छन् । रातिका समयमा ढोका खोल्न लगाएर लुटेरा समूहले शाहीको घरमा लुटपाट गरी घरमा थुनेर भागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । उनले उक्त गिरोहको पहिचान छिट्टै हुन दाबी गरे । सुन लुट्ने गिरोह लामो समयदेखि बाँके र बर्दियामा सक्रिय रहेको छ । बाँकेको खजुरा, बर्दियाको कालिका, कतर्निया लगायतका बजारमा सुन लुटपाट गरिसकेको छ । उक्त गिरोहले रातिका समयमा ढोका खोल्न लगाएर लुटपाट गर्ने र थुनेर भाग्ने गरेको हो ।
प्रकाशित : आश्विन ६, २०७९ १०:१९