कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धानमा क्षति भोगेका किसानलाई राहत

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का किसान कृष्णप्रसाद पौडेलले गत वर्ष १० बिघा खेतमा रोपाइँ गरे । तर, पानीले ३ बिघाको धान नष्ट भयो । उनलाई नगरपालिकाले वडाको सिफारिस र अनुगमनपछि राहत रकम दिएको छ । अढाई बिघाको क्षतिपूर्ति दाबी गरेर पहिलो किस्ताको राहत रकम बुझेको उनले बताए ।

धानमा क्षति भोगेका किसानलाई राहत

‘मेरो भागमा ४० हजारभन्दा बढी राहत स्वरूपको रकम पाइने भनिएको छ,’ उनले भने, ‘पहिलो किस्ता बराबर ८ हजार ४ सय ८८ रुपैयाँ बुझें ।’

१ कठ्ठा ५ धुर जमिन भएकी मथुरा पन्थले राहत रकमबापत २ हजार १० रुपैयाँ पाएकी छन् । उनले लगाएको धान पूरै पानीले ढालिदिएपछि चामल किन्न बाध्य भएको उनले सुनाइन् । ‘४ मुरी धान उत्पादन हुन्थ्यो,’ उनले भनिन्, ‘गरिबलाई प्रकृतिले ठग्यो, पालिकाले केही उद्धार गरेजस्तो महसुस भयो ।’ आफूहरूको मर्का बुझेर स्थानीय तहले गरेको काम खुसीयोग्य लागेको उनले सुनाइन् । उनीहरूजस्तै तिलोत्तमाका अन्य २ सय ६८ किसानले पनि मंगलबार गत वर्षको धानबाली क्षतिबापतको रकम बुझेपछि हर्षित भएका थिए । बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानलाई नगरपालिकाले सहयोग गरेको हो । पालिकाले संघीय सरकारसँग आग्रह गरी जिल्ला प्रशासन कार्यालयमार्फत ८ लाख ९६ हजार रुपैयाँ प्राप्त गरी किसानलाई हस्तान्तरण गरेको पालिकाका कृषि शाखा अधिकृत रामप्रसाद खनालले बताए । उनले मिहिनेत गरेर लगाएको बाली पानीले मासेपछि किसान पीडित बनेकामा पालिका मलम बन्न खोजेको बताए ।

पीडित किसानले आफ्नो क्षतिका आधारमा २ हजार १० देखि ८ हजार ४ सय ८८ रुपैयाँसम्म क्षतिपूर्ति रकम पाएका छन् । गत भदौ १० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सूचीकृत पीडित किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो । किसानका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले बताए । ‘किसानको लगानी र श्रमको लेखाजोखा गर्न सकिंदैन,’ उनले भने, ‘केही भए पनि राहत मिलोस् भनेर कदम चालेका हौं ।’ संघीय सरकारलाई आग्रह गरी प्राप्त भएको बजेटअन्तर्गत पीडित किसानलाई पहिलो किस्ताबापतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि पहल गरिरहेको उनले बताए ।

राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोका आधारमा राहत रकम वितरण गरिएको कृषि अधिकृत दोमलाल भुसालले बताए । १० कट्ठासम्म खेत भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेती गरेकालाई मध्यम र सोभन्दा माथि धान खेती गरेका किसानलाई उच्च वर्ग भनी विभाजन गरिएको थियो । निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकमका लागि २ सय ७० किसानले फर्म भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताए ।

प्रकाशित : आश्विन ५, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?