कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले धानबालीमा क्षति पुगेकालाई राहत रकम

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा नगरपालिकामा बेमैसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वितरण गरिएको छ । गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका २ सय ७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका छन् ।

वर्षाले धानबालीमा क्षति पुगेकालाई राहत रकम

राहत रकम स्वरुप पीडित किसानलाई ८ लाख ९६ हजार ७ सय ४१ रुपैयाँ रकम वितरण गरिएको छ । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४ सय ८८ रुपैयाँसम्म क्षतिपूर्ति रकम पाएका हुन् ।

भदौ १० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सूचीकृत पीडित किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले किसानहरुका समस्यालाई हल समाधान गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । धानबाली भित्राउने बेलामा वर्षाका कारण धान बालीमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ताको बापतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि आफूले पहल गरिरहेको बताए ।

साथै नगरप्रमुख खाँणले यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबाली सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताए । किसानले लगाएको बाली पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बाली शिविर गरिसकिएको र दसैंलगत्तै नगरभित्र के कति बालीमा क्षति भएको छ सो विवरण संकलन गर्न लागि समिति गठन गर्ने तयारी रहेको बताए ।

राहत रकम वितरणका लागि निम्नवर्ग, मध्यमवर्ग र उच्चवर्ग गरी तीन भागमा विभाजन गरी सोको आधारमा राहत रकम वितरण गरिएको नगरपालिका कृषि अधिकृत दोमलाल भुसालले बताए । १० कठ्ठासम्म धानबाली भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेती गरेकालाई मध्य र सोभन्दा माथि धानबाली लगाएका किसानलाई उच्च वर्ग भनी विभाजन गरिएको थियो ।

निम्नवर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्चवर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकम लागि २७० किसानले फारम भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?