संविधानकै कारण देशमा प्रदेश संरचना : मुख्यमन्त्री केसी
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानका कारण सबै जातजाति, भाषाभाषी, वर्ग, लिंग र क्षेत्रले राज्य सञ्चालनमा पहुँच र अवसर पाएको बताएका छन् । उनले संघीय संविधान बनेकै कारण देशमा प्रदेश संरचना बनेको र स्थानीय सरकार एवं संघीय सरकारको बिचमा रहेर नागरिकमाझ पुलको काम गर्न पाएको जनाए ।
संविधान दिवसको अवसरमा प्रदेश सरकारले बुटवलमा आयोजना गरेको मूल समारोहमा बोल्दै मुख्यमन्त्री केसीले नेपालको संघीय प्रणाली विश्वकै उत्कृष्ट नमुना रहेको र प्रदेश सरकार समावेशी सिद्धान्तका आधारमा यसलाई संस्थागत गर्न लागिपरेको बताए ।
‘प्रदेश सरकार संविधानको मर्मअनुसार पछाडि परेको पारिएको वर्ग, क्षेत्र, जाति, समुदायलाई अगाडि ल्याउने र उनीहरुको पहुँमा विकास पुर्याउने काममा लागिरहेको छ,’ उनले प्रदेश सरकार भित्र र प्रदेश सरकारले गरेका काम दुवैमा संविधानको समावेशी सिद्धान्तको मर्म अंगिकार गरिएको दाबी गरे ।मुख्यमन्त्रीले संविधान परिपक्व हुँदै जाँदा संविधानको कार्यान्वयन पनि परिपक्व हुँदै गएको र संविधानविपरीत जाने छुट कसैलाई नभएको पनि बताए ।
संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रभातफेरिसहित प्रदेशमा रहेका विभिन्न जातजाति, भाषाभाषीलगायतले झाँकी प्रदर्शन गरेको थियो । बुटवलको राजमार्ग चौराहबाट निस्ककेको र्याली बुटवल सम्मेलन केन्द्रमा पुगेर सभामा परिणत भएको थियो । सभामा संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई पदक तथा उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत गरिएको थियो ।
प्रकाशित : आश्विन ३, २०७९ १४:०५