कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेको नरैनापुरमा भोकमरी, राहत माग्न पालिकामा भिड

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको सुक्खाग्रस्त नरैनापुर गाउँपालिकामा भोकमरी हुन थालेको भन्दै सर्वसाधारणहरू राहत माग्न गाउँपालिका पुग्न थालेका छन् । खडेरीका कारण त्यहाँको खेत बाँझै छ । सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् ।

बाँकेको नरैनापुरमा भोकमरी, राहत माग्न पालिकामा भिड

गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरी सुरु भएको बताए । ‘भोकमरीबाट पीडित किसानहरू अहिले ठूलो संख्यामा गाउँपालिका आउने गरेका छन् । मेरो घरमै पुगेर पनि उनीहरूले आफ्नो दु:ख सुनाउँछन्,’ उनले भने, ‘संघीय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दु:खद् कुरा हो ।’ संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उनले बताए ।

नरैनापुर गाउँपालिका- ६ गंगापुरका कृष्णावती मौर्यले सर्वसाधारणहरूलाई छाकको जोहो गर्नै धौधौ परेको बताए । ‘घरमा भएको अनाज सबै सकियो; खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छटपटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’

नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको करिब १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको अभिलेख छ । सुक्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बाँझै रहेका छन् । गाउँपालिकाले नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३/३ वटाका दरले डिप बोरिङको व्यवस्था गर्न माग गरेको थियो ।

प्रकाशित : आश्विन ३, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?