कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

भारतीय कार चढेर अभियुक्त अदालतमा

जे पाण्डे

बाँके — निक्षेपकर्ताको ५८ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएपछि फरार रहेका सहकारी वित्तीय विकास संस्था लिमिटेडका अध्यक्ष हरदेबक्स चौधरी भारतीय नम्बर प्लेटको गाडी चढेर जिल्ला अदालत आउजाउ गर्दै आएको पाइएको छ ।

‘सहकारी रकम हिनामिना, ठगी र संगठित अपराध’ मुद्दाका अभियुक्त चौधरी यूपी४०एसी ६६२५ नम्बर प्लेटको सेतो कारमा सवार भएको पाइएको हो । तीन वर्षदेखि न्यायको खोजीमा भौतारिंदै आएका पीडितले हरेक दिनजसो अदालत परिसरबाहिर प्रदर्शन गर्दै आएका छन् । बिहीबार उनीहरूले अध्यक्ष चौधरीलाई घेराउ गरेका हुन् ।

‘हाम्रो पैसा खाएर लुक्दै र भाग्दै हिंडेका ठग अदालतमै भेटिए । अब कसरी न्यायको आशा गर्ने ?’ नेपालगन्जकी माया पासीले भनिन्, ‘छोरीको विवाह गरौंला भनेर अर्काका जुठा भाँडा माझेर पैसा जम्मा गरेकी थिएँ । सबै खाइदिए । अहिले सडकमा नारा लगाउँदै हिंड्नु परेको छ ।’ मायासहित सयौं निक्षेपकर्ताले अध्यक्ष चौधरीसहितका अभियुक्त अदालत आउने/जाने गरेको सुइँको पाएपछि उक्त क्षेत्रमा चियो गर्दै आएका थिए । बचतकर्ताको रकम अपचलन गर्दा सञ्चालक र कर्मचारीले अध्यक्ष चौधरीलाई भारतीय नम्बर प्लेटको गाडी किनेर ‘उपहार’ दिएका हुन् । अहिले त्यही गाडीमा उनी अदालत आउने जाने गरेका छन् । ठगीमा संलग्न कर्मचारीबाट गाडी उपहार लिनुका साथै मासिक १ लाख रुपैयाँसमेत बुझ्ने गरेको पीडितहरूको आरोप छ ।

धरौटीमा जेलमुक्त भएका अध्यक्ष चौधरीले आफूमाथि निक्षेपकर्ताले लगाएको आरोप स्वीकारेका छन् । ‘अध्यक्ष भएको नाताले मलाई जे भने पनि हुन्छ । तर, मैले नै ठगहरूविरुद्ध जाहेरी दिएको हुँ,’ निक्षेपकर्ताको घेराउमा परेका चौधरीले भने, ‘सबैले रकम फिर्ता पाउनुपर्छ । तर, अदालती प्रक्रिया पूरा गर्न समय लाग्छ ।’

अध्यक्ष चौधरी २१ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । सहकारी सञ्चालकहरूले ११ हजार ४ सय ८ जना बचतकर्ताको ५८ करोड रुपैयाँ अपचलन गरेका छन् । पीडितहरूले तीन वर्षदेखि अदालतमा तारिख दिन आउने अभियुक्तलाई घेराउ गर्ने र रकम छिटो फिर्ता दिन माग गर्दै आएका छन् ।

प्रहरीले २०७६ असोज २८ गते जिल्ला अदातलमा रकम अपचलन गर्ने ४१ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये ३४ जना धरौटीमा छुटेका छन् । ६ जना अझै जेलमा छन् । एक जना फरार छन् । करिब तीन वर्ष हुँदासम्म मुद्दाको टुंगो नलागेपछि निक्षेपकर्ताले न्यायालयको भूमिकामाथि शंका व्यक्त गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् । तर, मुद्दाको फैसलामा भएको ढिलाइले सयौं गरिब बचतकर्ता घर न घाटको अवस्थामा पुगेका छन् । ‘मेरा बालबच्चाको पढाइसमेत बर्बाद भयो,’ पीडित विनय सोनीले भने, ‘बिरामी हुँदा औषधि उपचार गर्ने पैसा छैन । ठगहरू खुलेआम घुमिरहेका छन् ।’ उनले आफ्नो १८ लाख ५० हजार रुपैयाँ सहकारीका सञ्चालकले हिनामिना गरेको बताए ।

२०७६ असारमा सहकारी वित्तीय विकास संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले निक्षेपकर्ताको रकम अपचलन गरेको रहस्य खुलेको थियो । प्रहरीमा भदौ २९ गते पहिलो जाहेरी पर्‍यो । त्यसमा २६ करोड ९६ लाख रुपैयाँ अपचलन गरिएको उल्लेख थियो । जाहेरीलगत्तै प्रहरीले ४३ करोड २ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको फेला पार्‍यो । निक्षेपकर्ताहरूले दिएको जाहेरीका आधारमा अहिलेसम्म ५८ करोडभन्दा बढी अपचलन भएको खुलेको छ । ‘ज्याला मजदुरी गरेको तीन लाख रुपैयाँ पैसा जम्मा गरेको थिएँ,’ अदालतबाहिर विरोध प्रदर्शन गर्दै आएका पीडितहरूमध्येका सुवास मुराउले भने, ‘अदालतले छिटो फैसला गरेर पैसा फिर्ता दिलाइदिए धेरै गरिबको कल्याण हुन्थ्यो ।’

न्याय निरुपणको प्रक्रिया ढिलाइ हुँदा पीडित झनै पीडित भएका छन् । ‘अदालत धाउँदा धाउँदा न्याय र पैसासमेत नपाउँदै १० जना पीडितको मृत्यु भइसक्यो । अझै कति कुर्नुपर्ने हो ?,’ सहकारी पीडित संघर्ष समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले भने, ‘जति छिटो मुद्दाको टुंगो लाग्छ, त्यति नै पीडितले न्याय र राहतको महसुस गर्नेछन् ।’

प्रकाशित : आश्विन ३, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?