राप्ती नदीको बहाव खतरा तहभन्दा माथि
नेपालगन्ज — तीन दिनदेखिको लगातार वर्षापछि राप्ती नदीको बहाव खतराको संकेतभन्दा माथि पुगेको छ । गाउँमा बाढी पस्न सक्ने भन्दै तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आपत्कालीन साइरन बजाइएको छ । स्थानीय प्रशासनले उद्धार टोली तयारीमा अवस्थामा राखेको जनाएको छ ।
बाँकेको कुसुमस्थित जलमापन केन्द्रका अनुसार नदीमा पानीको सतह शनिबार बिहानसम्म ५ दशमलव ५८ मिटर पुगेको छ । राप्ती नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेपछि खतरा मानिन्छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले पहाडी जिल्लामा अझै पनि वर्षा भइरहेका कारण राप्ती नदीको सतह बढ्न सक्ने खतरा रहेका कारण सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण तटीय क्षेत्रका होलिया, गंगापुर, मटैया, बेतहनी, कम्दी, बनकट्टी, फत्तेपुर, विनौना, वैजापुर, कचनापुर, महादेवपुरीलगायतका हजारौ सर्वसाधारण डुबानमा पर्दै आएका छन् ।
प्रकाशित : आश्विन १, २०७९ ०९:२०