केन्द्रीय नेताको दौडादौड- लुम्बिनी - कान्तिपुर समाचार

केन्द्रीय नेताको दौडादौड

कान्तिपुर संवाददाता

पाल्पा — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पामा चुनावी चहलपहल बढेको छ । केन्द्रीय नेताहरूको जिल्ला दौडाहा सुरु भएको हो । कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले भेला, प्रशिक्षण र गाउँ तहका कार्यक्रम सुरु गरेका छन् ।
एमालेले जिल्ला, गाउँपालिका, वडा तहसम्म पनि अभियान थालेको जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

‘एमालेले गाउँ तहसम्म पुगेर भेला, प्रशिक्षण, वर्तमान सरकारका गलत प्रवृत्ति, महँगी, भ्रष्टाचारका विषयमा कार्यकर्तालाई बुझाउने काम गरिरहेको छ,’ उनले भने, ‘राष्ट्रियताको मुद्दालाई हामीले गाउँ तहसम्म लग्ने र आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने अभियानमा छौं ।’ केन्द्रीयस्तरका नेताहरू उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेता छविलाल विश्वकर्मा र ठाकुर गैरेले जिल्ला भेलामा प्रशिक्षण दिएका छन् ।

कांग्रेसले पनि जनताको साथमा कांग्रेस अभियान चलाएको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । उनका अनुसार कांग्रेसको निर्वाचन लक्षित तीन चरणको कार्यक्रमअन्तर्गत पहिलो चरणको कार्यक्रम सबै वडामा सम्पन्न भएको छ । ‘हामीले ८१ वटै वडामा यस विषयमा अभियान चलाइसकेका छौं,’ उनले भने, ‘केन्द्रीय नेताको आगमनसँगै जिल्लामा अभियान सुरु भएको हो ।’ कांग्रेसका केन्द्रीय प्रतिनिधि अब्दुल रज्जाकलाई खटाएको थियो । सोही अनुसार सबै वडा र पालिकामा अभियान सम्पन्न भएका छन् ।

माओवादी केन्द्रले पनि जिल्लामा भेला, गाउँ, वडातहसम्म अभियान सञ्चालन गरेको छ । केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, जिल्ला संयोजक राजेन्द्र विक लगायत जिल्ला नेता, कार्यकर्ता गाउँ अभियानमा जुटेका छन् । एकीकृत समाजवादीले पनि नेताहरूलाई जिल्लामा ल्याएर अभियान चलाएको छ । पार्टी प्रवेश, संगठन विस्तार, भेला, प्रशिक्षण निर्वाचन लक्षित रहेको जिल्ला अध्यक्ष कमल पाण्डेयले बताए । एकीकृत समाजवादीले वरिष्ठ नेता झलनाथ खनाललाई आमन्त्रित गरेर तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही, पूर्वउपप्रमुख लक्ष्मीदेवी पाठकलगायतका नेता, कार्यकर्तालाई भित्र्याएको थियो ।

केन्द्रीय नेताहरू डा. विजय पौडेल, सोमप्रसाद पाण्डेयलगायतले भेला, प्रशिक्षणमा सहभागी भएका छन् । निर्वाचन नजिकिएसँगै जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टीले पनि भेला, प्रशिक्षण, बैठक सञ्चालन गरेका छन् । ‘भेला तथा बैठक भइरहेको छ,’ राप्रपा जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले भने, ‘निर्वाचन नजिकिएपछि सोही अनुसारको कार्यक्रम पनि अघि बढाइएको छ ।’ मतदातामा पनि निर्वाचनको कौतूहल सुरु भएको छ । ‘जनताका लागि विगतमा जनप्रतिनिधिले काम गरेको जस्तो लाग्दैन,’ मतदाता माया कुँवरले भनिन्, ‘तर पनि हाम्रो अधिकार प्रयोग गर्ने कुरा भएकाले निर्वाचनमा मत दिनु नै पर्ने रहेछ ।’

प्रकाशित : भाद्र २८, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

सिकलसेल अस्पताल निर्माण सुरु

कान्तिपुर संवाददाता

नेपालगन्ज — पश्चिम तराईका थारु समुदायमा महामारीका रूपमा देखिएको सिकलसेल (एनेमिया) रोगको उपचारका लागि अगुवाहरूले बाँकेको जानकी गाउँपालिकामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण अभियान थालेका छन् । बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुरका अगुवाहरूले आर्थिक संकलन गरी केन्द्र स्थापनामा जुटेका हुन् ।

एनेमियापीडित बिरामीको उपचारका लागि घरखेत बिक्री गर्नुपर्ने बाध्यता हटाउन र सहज रूपले उपचार गर्न केन्द्रको स्थापना गर्न थालिएको हो । एनेमिया पीडितहरूको उपचार हाल नेपालगन्जस्थित भेरी अस्पतालमा हुने गरेको छ । तर, उनीहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन् । दाङको थारु स्वास्थ्यकर्मी संघको अगुवाइमा ६ जिल्लाका अगुवाहरूलाई एकजुट पारेर अभियान सुरु गरिएको हो । केन्द्र स्थापनाका लागि नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिका–३ मा जग्गा खरिद गरी केन्द्रको बिहीबार शिलान्यास गरिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले पछिल्लोपल्ट गरेको अनुसन्धानमा समयमै सावधानी नअपनाए मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी दिएको छ । उसले पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ । उक्त अनुसन्धानले ०६८ को थारु समुदायको जनसंख्यालाई आधार मान्दै ३ लाख बढी व्यक्तिमा सिकलसेल रोगको गुण पाइएको जनाएको हो । त्यस्तै, समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने उसले चेतावनी दिएको छ ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×